हिले, चैत ३ गते । धनकुटा नगरपालिका–६, सिरान बजारका विजयशेखर श्रेष्ठले आफ्नो घरको झिँगटीको छानो परिवर्तन गरी नयाँ यूपीभीसीको छानो लगाउनुप-यो। पुरानो शैलीको झिँगटीको छानो परिवर्तन गरी नयाँ र आधुनिक यूपीभीसीको छानो लगाउँदा उहाँको मन भने खुसी भएन। किनकि पुरानो शैलीको छानोसँगै पिता पुर्खाले निर्माण गरेको कलाकृति गुम्दै थियो।
श्रेष्ठले झिँगटी घरको काम गर्ने कालिगडको धेरै खोजीसमेत गर्नुभयो तर त्योसम्बन्धी काम गर्ने कालिगड नपाएपछि उहाँ पुरानो शैली परिवर्तन गर्न बाध्य हुनुभयो। कालिगडसँगै झिँगटीसमेत नपाइने भएकाले बाध्य भएर यसलाई हटाउनु परेको उहाँको गुनासो छ। “धेरै खोजी गरियो तर न झिँगटी पाइयो न कालिगड नै पाइयो। त्यसैले झिँगटीको छानो परिवर्तन गरी नयाँ यूपीभीसीको छानो लगाउनुप-यो,” श्रेष्ठ भन्नुहुन्छ।
कलात्मक शैलीका पुराना घरमध्ये आकर्षक र कलात्मक घर हुन् धनकुटामा निर्माण गरिने झिँगटी घर। पछिल्लो समय धनकुटाबाट यस्ता कलात्मक घरसँगै ती घरमा जोडिएका कलाकृतिसमेत हराउँदै गएका छन्। झिँगटी घरसँगै घरका झ्याल, ढोका, बार्दलीलगायतको स्थानमा प्रयोग हुने मल्लकालीन काष्ठकलासमेत लोप हुन थालेको स्थानीयको भनाइ छ। यस्ता झिँगटी घरको इतिहास धनकुटाको इतिहाससँगै जोडिएको छ। करिब चार सय वर्षअघिबाट धनकुटामा बस्ती बस्न थालेको पाइन्छ। धनकुटामा त्यो बेलादेखि नै सौखिन व्यक्तिले काठमाडौँबाट कालिगड झिकाई कलात्मक मल्लकालीन शैलीका झिँगटी घर निर्माण गर्ने गरेको बूढापाका बताउँछन्। धनकुटा पूर्वको गौँडा हुँदासम्म यो क्रमले निरन्तरता पायो तर करिब वि. सं. २०२० यता भने यस्ता घर मासिन सुरु भयो।
जस्तापाता तथा पक्की घरका कारण धनकुटामा लोकप्रिय यस्ता झिँगटी घर अहिले भने हराउँदै गएका संस्कृतिकर्मी तथा मूर्तिकार श्रीकृष्ण जोशी बताउनुहुन्छ। “त्यो बेलाको शान नै झिँगटी घर थिए तर आधुनिकतासँगै त्यस्ता कलाकृति बोकेका झिँगटी घर घट्न थाले, अहिले एक–दुईवटामा सीमित भएका छन्,” जोशी भन्नुहुन्छ।
धनकुटामा खासगरी नाला, कान्तिपुर, भक्तपुर, र ललितपुर क्षेत्रका कलाकृतिले भरिपूर्ण भएका झिँगटी घर देख्न पाइन्थ्यो। माटो, झिँगटी तथा काठपात प्रयोग गरी निर्माण गरिने यस्ता पुरानो शैलीको घर अहिले दुर्लभ भइसकेका छन्। स्थानीय तहले यस्ता घर संरक्षण गर्न कुनै चासो नदिएको स्थानीयको गुनासो छ।