गत अगस्ट मध्यतिर नेपाली दूतावासका कर्मचारी गोविन्द भट्टराई सपरिवार एउटा पर्यटकीय गन्तव्यतिर जाँदै थिए। नेपालबाट आएका आफ्ना परिवारका सदस्यहरूलाई लिएर निस्केका उनलाई तत्कालै फोन गरेर मैले केही फोटो र भिडियोका लागि अनुरोध गरेँ।
चीनको राजधानी बेइजिङको तोङछङ जिल्लामा एउटा ‘लामा टेम्पल’ उभिएको छ जसलाई चिनियाँमा ‘युङ ह कुङ’ भनिन्छ। नेपालसँग जोडिएका तीन वटा तत्व भएका कारण यो क्षेत्रमा पुग्ने कुनै पनि नेपालीले अपनत्वको महसुस गर्न सक्छन्।
पहिलो नेपालको श्रीखण्डको काठ, दोश्रो विश्व रेकर्ड सूचनामा ‘नेपाल’ शब्द र तेश्रो रञ्जना लिपिको रजगज। यसअघि प्रत्यक्ष प्रसारणका सिलसिलामा लामा टेम्पलभित्र नछिरेको होइन, तर तत्क्षण आवश्यक सामग्री सुरक्षित गरिएनछ। अहिले नेपाली पहिचानका विषयमा चासो जागेपछि भट्टराईजीको यो मौकालाई मैले पनि सदुपयोग गरिहालेँ।
त्यो लामा टेम्पल तिब्बती बौद्धधर्म अन्तर्गत ‘गेलुक’ सम्प्रदाय अन्तर्गतको तिब्बतबाहिर निर्मित सबैभन्दा ठूलो र सबैभन्दा राम्रोसँग जगेर्ना गरिएको सम्पदा हो। विश्वको सबैभन्दा अग्लो र एउटै सिंगो काठमा मैत्रेय बुद्धको मूर्ति कुँदिएर विश्व रेकर्ड बनाएको सम्पदास्थल पनि हो। यो मूर्ति कुँदाइ लामा टेम्पलका ३ उत्कृष्ट ‘मास्टरपिस’मध्ये एक मानिन्छ। लामा टेम्पलभित्र वान फु क अर्थात् ‘अल ब्लेसिङ् पेभेलियन’ वा असीम हर्ष कक्ष नामक मण्डपमा नेपालबाट ल्याइएको श्रीखण्डमा कुँदिएको मैत्रेय बुद्धको मूर्ति छ। मूर्तिका हात र अन्य केही अंगहरू अन्य काठबाट बनाएर जोडिएको चाइना हाइलाइट्स अनलाइनले उल्लेख गरेको छ।
बुद्धमूर्तिको पूरा उचाइ २६ मिटर (८५ फिट) छ। तर जमिनभित्र ८ मिटर (२६ फिट) गाडिएको छ भने जमिनबाहिर १८ मिटर (५९ फिट) मात्रै देख्न सकिन्छ। यसको चौडाई ८ मिटर (२६ फिट) छ। सन् १९९० अगष्टमा श्रीखण्डकृत मैत्रेय बुद्धमूर्ति ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा सूचीकृत भयो। सन् १९९२ पछि जीर्णोद्धार गरेर सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको हो। त्यसैले विश्वका पर्यटकहरू त्यसस्थलमा पुग्छन् भने नेपाली तत्वसँग साक्षात्कार हुँदै अलिकति नेपाल त्यसैबेला घुमिवरी फर्किन्छन्।
नेपालदेखि बेइजिङको मुटुसम्म चन्दनको काठ पुग्नु र विश्वकीर्तिमानी बन्नुमा केही ऐतिहासिक पात्रहरू र परिवेशले भूमिका खेलेको छ। छिङ राजवंशका छैटौं तथा छिङ सेनाका चौथो सम्राट छियान लोङ, तिब्बती बौद्ध गेलुकपन्थी सातौं दलाई लामा केल्साङ ग्यात्सो र गोर्खाली सेनासँगै तत्कालीन नेपाली परिवेशले भूमिका खेलेको देख्न सकिन्छ।
लामा टेम्पलसँग जोडिएका छिङ वंशका दुई सम्राट
चीनमा छिङ राजवंश (१६३६-१९१२) का दोश्रो सम्राट थिए, खाङ् सी जसले कूल ६१ वर्ष गद्दी (१६५४-१७२२?) सम्हालेर इतिहास बनाए। उनका कूल ६६ जना श्रीमतीबाट ५३ छोरा र २० छोरी भए भने बचेका २० छोराबाट १३३ नातिनातिना जन्मिए। तीमध्ये कतिलाई त उनले देखेका पनि थिएनन् भनेर नेटइज अनलाइनले लेखेको छ। तर चौथो नातिलाई उनी आफैँले प्रशिक्षित गरेका थिए।
उतिबेला सम्राट खाङ् सीले राजकुमार युङ् चङका लागि सन् सन् १६९४ मा लामा टेम्पललाई हवेली बनाए। उनकै १० मध्ये चौथो छोरा सम्राट छियान लोङले नै यो लामा टेम्पलको विरासतलाई कायम राखेका थिए।
सन् १७२२ मा सम्राट बनेपछि युङ् चङले दरबारको आधा भाग तिब्बती बौद्ध धर्मको गेलुक् सम्प्रदायको लागि छुट्याए। उनी सानैदेखि तिब्बती बुद्धिज्मका अनुयायी थिए। सन् १७२५ मा आगलागिका कारण आधा दरबार खरानी हुँदा गेलुकपन्थी भाग मात्रै बच्यो। उप्रान्त युङ चङको शेषपछि छियान् लोङ (सिंहासन अवधि १७३५-१७९६)ले पिताको स्मृतिमा सन् १७४४ मा लामा टेम्पलको पुनः मर्मत गराए। यिनी दुवै सम्राटको भावनात्मक जोडिनुका पछाडि एउटा कारण यिनीहरू पनि यही जन्मिएका थिए।
सम्राट बाबुछोराले नै तिब्बती बुद्धिस्ट मामिलाको बेइजिङ कार्यालयका रुपमा लामा टेम्पललाई थप जगेर्ना गरे। पाँच मण्डपहरूमध्ये हान, मङ्गोलियन, मन्चु र तिब्बती जातीय समूहहरूको वास्तुकला शैलीले लामा टेम्पलको वैभव थप बढाए। लामो इतिहास बोकेको यो टेम्पल छिङ राजवंशभन्दा अघिको मिङ राजवंशकालीन निवासस्थल थियो भनेर चिनियाँ अनलाइनहरूमा लेखेको भेटिन्छ। यी दुवै सम्राटले बचाएर राखेको लामा टेम्पलमा हालसम्म पनि नेपालबाट लगिएको वस्तु सुरक्षित छ।
तिब्बती सातौं दलाई लामा
नेपालभूमिबाट श्रीखण्ड सम्पदा चीनसम्म पुर्याउने एक पात्र तिब्बतका लागि सातौं दलाई लामा केल्साङ ग्यात्सो थिए। तिब्बती बौद्ध गेलुक् अर्थात् पीत सम्प्रदायका अनुयायी केल्साङ ८ वर्षको उमेरमै भिक्षु बनेका थिए। उनी सिचुवान प्रान्तको लिथाङका हुन्। तिब्बती आसपासका क्षेत्रहरूमा थुप्रै तिब्बती स्वायत्त प्रिफेक्चरहरू छन्। सन् १९४९ मा जनगणतन्त्र चीन स्थापना भएपछि चीनमा १० वटा तिब्बती स्वशासित प्रिफेक्चर बनेका छन्। विशेषतः कान्सु प्रान्तको काननान तिब्बती प्रिफेक्चर क्षेत्र, सिचुवान प्रान्त, युननान प्रान्त, बढीजसो छिङ्हाई प्रान्तमा तिब्बती बाहुल्य स्वायत्त क्षेत्रहरू छन्।
भिक्षु बनेपछि ९ वर्षको उमेरमा केल्साङ छिङ्हाइ (तिब्बती छिमेकी प्रान्त) को राजधानी सिनिङस्थित थाअर गुम्बामा प्रवेश गरे। त्यो त्यही गुम्बा हो, जहाँ नेपालको रञ्जना लिपिको दबदबा छ। सन् १७१९ मा उनी सातौं दलाई घोषित भएपछि मंगोलियन जातिले छिङ राजवंश विरूद्ध बदला लिन आतंक मच्चाइरहेको थियो। त्यसैले सन् १७२७ मा छिङ दरबारले उनको कार्यालय लिथाङ र थाइनिङ हुइयुआन मन्दिरमा सार्यो। सन् १७३५ मा उनी पुनः ल्हासा फर्किए। उनको शासन व्यवस्थामा गरेको सहजीकरणप्रति कृतज्ञ भएर उनैले सम्राटका लागि नेपालबाट मूर्ति कुँद्नलायक वस्तु बेइजिङमा पठाएका थिए।
लामा टेम्पलको राजनीतिक तथा रणनीतिक महत्त्व
लामा टेम्पल धार्मिक स्थल मात्रै नभएर तत्कालीन राजकीय, प्रशासकीय र रणनीतिक महत्वको मुख्यालय थियो। नेपालीका लागि भन्ने हो भने काष्ठमूर्ति र रञ्जना लिपिले सजिएको एक स्थल। लामा टेम्पल बेइजिङ र तिब्बतबीचको सम्पर्क पुल थियो। राष्ट्रिय लामा मामिला केन्द्रको रूपमा प्रशासनिक तथा सीमावर्ती क्षेत्रहरूको रेखदेख गर्ने केन्द्र भएकाले यहीँबाट मंगोलिया र तिब्बती बुद्धिज्मको तजबीज मिलाइन्थ्यो। हाल यो तिब्बती बौद्ध धर्म संग्रहालयको रूपमा चर्चित छ।
सम्राट छियान लोङले लामा टेम्पलबाटै जीवित बुद्ध औतारी बालक छनोटका लागि स्वर्ण कलश पद्धतिको व्यवस्थापन गरे। सो स्वर्ण कलश अहिले पनि जोखाङ मन्दिर (भृकुटीका लागि राजा स्रङचङ गम्पोले बनाएको धरोहर) मा छ, दलाई र पञ्चेनको अवतार छनोट गर्न प्रयोग हुन्छ। अर्को चाहिँ लामा टेम्पलमा मंगोलियन शीर्ष लामाको अवतार छान्नका लागि प्रयोग गरिन्छ। लामा टेम्पलभित्रको पञ्चेन भवनस्थित प्रदर्शनी कक्षमा यो कलशको प्रतिलिपि छ।
लामा टेम्पलमा नेपाली तत्वको पहुँच
चिनियाँ अनलाइनहरूमा लेखिने इतिहासकालीन लेखमा यो वाक्य पनि उद्धृत हुन्छ, ‘सन् १७५० मा छियान लोङले आफ्ना सेना तैनाथ गर्दै दलाई लामाको नियुक्तिका साथ तिब्बतको शासन व्यवस्था गरे। त्यससँगै गोर्खाली सेनासँग छियान लोङ सेनाले समझदारी गरे।’ भोटसँग सुन र नुनको कारोबार रहँदै आएकाले गोर्खा सेनाले बेलाबेलामा उतारचढावमा भाग लिएको देखिन्छ तर त्यतिखेर के कस्तो परिस्थिति सिर्जना गरेको थियो भन्ने चाहिँ खुलाइको छैन। जब कि तिब्बत र गोर्खाबीचको भीषण युद्ध त पहिलो सन् १७८८ र दोश्रो सन् १७९१-९२ मा भयो।
सन् १७५० को दशकमा पृथ्वीनारायण शाहले (शासन अवधि १७४३-१७७५) काठमाडौंलाई राजधानी घोषणा गर्नुपूर्व नेपाल बाइसे र चौबीसे राज्यमा विभक्त थियो। शाहको एकीकरण अभियानले नेपाल युद्धको माहोलमा थियो। वीर गोर्खाली योद्धाका कारण उत्तर र दक्षिणतिरका राज्यहरू नै आतंकित थिए। यो युद्ध उन्मादले नेपाल र तिब्बतबीचको दीर्घकालीन राजनीतिक तथा आर्थिक सम्बन्धमा चुनौती ल्याएको थियो।
विशेषगरी सीमापार व्यापार कर र मुद्राको प्रयोगको सम्बन्धमा। त्यो अवधिमा तिब्बतको आफ्नै मुद्रा थिएन। तिब्बती व्यापारीहरू ‘महिन्द्र मल्ली’ चाँदीका सिक्कालाई मुद्राका रुपमा प्रयोग गर्थे। जुन गोर्खा राज्यपछि अस्थिर भयो। नयाँ सरकारले पुरानो सिक्कालाई तामाको सिक्काले विस्थापित गर्ने नीति लियो तर विनिमय दरमा चित्त नबुझेपछि ४/५ वर्षजस्तो तिब्बत र नेपालबीचको व्यापारिक गतिविधि ठप्प भयो।
सम्भवतः यस्तै उतार चढावका कारण बेइजिङले तिब्बतको रेखदेख गर्ने सिलसिलामा छैठौं पञ्चेन लामा लोब्साङ पाल्देन येशे (१७३८-१७८०) ले दबाबको सामना गरे। राजनीतिक उतार चढावका बीच सन् १७८० मा उनले बेइजिङ भ्रमण गरेको विषयलाई चिनियाँ विज्ञहरूले नेपालसँगको सम्भावित युद्धभन्दा पनि आन्तरिक किचलो हुनुपर्ने ठहर्याएका छन्। यद्यपि गोर्खा सेनाले तारम्तार धम्की भनेर सिर्जना गर्ने गरेको देखिन्छ। आन्तरिक किचलोमा हस्तक्षेप खोज्दै छैठौँ पञ्चेन उपहारका साथ बेइजिङ पुगे र बदलामा बहुमूल्य उपहार पाए। तर बीचैमा देहावसान भएकाले त्यसको उपभोग गर्न भने पाएनन्।
बेइजिङ सम्राटले तिब्बतमा हुने गोर्खा सेना र तत्कालीन मंगोलियन आक्रमणकारीहरूका विरूद्ध तिब्बतलाई पहरा दिन्थे। उनी स्वयं सैन्य पृष्ठभूमिका सम्राट भएकाले छिमेक युद्ध पनि मच्चाउँथे। मंगोलियनहरू भने बुद्धिज्म आदानप्रदानको निहुँमा तिब्बतमा अस्थिरताको दाउ रचिरहेका हुन्थे। तिब्बत शान्तिमा सैन्य सहयोग पठाउनुका अलावा पदासीन हुनका लागि बेइजिङप्रति ऋणी दलाई केल्साङले केही न केही त, चुक्ता गर्नै थियो। यसैक्रममा उनले सम्राटको मनोकांक्षा अनुरुपको वस्तु चढाउन पाए, जुन नेपालबाट लगिएको थियो।
...
‘लामा टेम्पल त बन्यो तर त्यहाँ बुद्धिज्मको शोभा दर्शाउने भव्य बुद्धमूर्ति भएन’ केही भिक्षुहरूबाट सातौँ दलाई केल्साङको कानमा यो कुरा पुगेपछि उनले तत्काल यसको खोजी गर्न थाले। सातौं शताब्दीमा भृकुटीको तिब्बतमा विवाह र त्यसपछि फा सियान, ह्वेनशाङलगायत भिक्षुहरूबाट नेपालको लुम्बिनी यात्रा भए। बुद्धिज्मको प्रवेशसँगै भारतको बोधगया र बुद्धजन्मस्थल लुम्बिनीप्रति तिब्बती भिक्षुहरू अनाकर्षित हुने कुरै थिएन।
बुद्धिज्मका कारण कपिलवस्तु हिमाल पारिदेखि एसियाभर लोकप्रिय थियो। उनले पवित्र काठ लुम्बिनीबाट भएको थाहा पाए। कतिपय चिनियाँ लेखोटहरूमा यस्तो भेटिन्छ, ‘सातौं दलाई लामाले बुद्ध मूर्तिको कच्चा पदार्थ खोज्न चारैतिर मानिसहरू परिचालन गरे। नेपाल राज्यले भारतबाट भीमकाय श्रीखण्ड ल्याएको भन्ने खबर उनको कानमा पर्यो। दलाई लामाले यो खबर सुनेपछि धेरै खजाना दिएर नेपालबाट यसलाई किने।’
एउटा कुरा के स्पष्ट छैन भने नेपालका राजाले उपहार स्वरुप चन्दनको काठ दलाई लामालाई दिए वा धनराशी खर्चिएर दलाईले खरिद गरे। कतिपय नेपाली इतिहासकारहरूले नेपाली राजाले उपहार दिएको हुनसक्ने ठहर गर्छन्। उष्ण कटीबन्धीय क्षेत्रमा हुर्कने वनस्पति भएकाले यो नेपालमा नभएर भारतमै उत्पादन भएको हुनसक्ने र भारतबाट तत्कालीन कपिलवस्तुमा पुगेको हुनसक्ने अनुमान गरिन्छ। पछि यो काठलाई तिब्बतबाट सिचुआन हुँदै जलमार्गबाट ३ वर्ष लगाएर राजधानी बेइजिङसम्म लगियो। श्रीखण्ड स्वयंमा पवित्रताको प्रतीक हो। हरेक धार्मिक पूजाआजाका बेला मठमन्दिरमा यसको स्थान हुन्छ। यसैबाट तेलदेखि अगरबत्ती र अन्य चीजबीज बनाउन सकिन्छ। यसको महत्व परापूर्वकालदेखि नै थियो।
नेपाल काष्ठकलाको धनी मुलुक भएकाले पनि दलाईले नेपालबाट काष्ठधनको खोजी गरेका हुनसक्छन्। नेपालबाट काठ त नहोला तर बुद्धमूर्ति कुँदिएर चीनमा ल्याएको हुनसक्ने कुरामा समर्थन जनाउन सकिँदैन। दक्षिण एसिया वा अन्य बुद्ध धर्मावलम्बी मुलुकमा बन्ने बुद्धमूर्ति र चीनमा बनेको बुद्धमूर्तिको मुखाकृति फरक छ। काठलाई बेइजिङमै ल्याएर यसमा मूर्ति कुँद्ने काम गरिएको भनेर चिनियाँहरूले प्रष्टै लेखेका छन्। सम्राट छियान लोङ स्वयंले ठूलो धनराशी खर्चिएर बुद्धाकृति कुँद्न लगाएका थिए। सन् १७४९ मा वानफू पेभिलियन तयार भएपछि मैत्रेय बुद्धको मूर्ति स्थापना समारोह आयोजित भयो।
छिङ राजवंश ली फान रेकर्ड अनुसार छियान लोङको नवौं वर्ष अर्थात् १७४४ मा सम्बन्धित परामर्शपछि सम्राट छियान लोङले नै यसको नामकरण गरे। सातौं दलाईले आफ्नो गृहनगरस्थित लामा टेम्पलमा मैत्रेय बुद्धमूर्ति स्थापित गरेर निर्माण कार्यमा पूर्णता दिन लागेको सम्राटको अभिलाषालाई सम्बोधन गरिदिएका हुन्। दलाईले सम्राट छियान लोङलाई मञ्जुश्री भन्ने गर्थे। आफ्नो पद प्रतिष्ठाका लागि गरिदिएको योगदानको ऋणी भएकाले के कसरी हुन्छ चुक्ता गर्न चाहन्थे।
...
जनगणतन्त्र चीन स्थापना भएपछि सन् १९६१ मा लामा टेम्पललाई चिनियाँ राज्य परिषदले राष्ट्रिय प्रमुख सांस्कृतिक अवशेष संरक्षण एकाइहरूको पहिलो इकाइको रूपमा घोषणा गरेपछि विश्वका बौद्ध धर्मावलम्बी मात्रै नभएर पर्यटकहरू पुग्छन्। सम्बन्धित वेभसाइटमा नेपाली भिक्षुहरूले भ्रमण गरेका पुराना तस्बिरहरू पनि भेटिन्छन्।
बेइजिङका भूमिगत रेलमध्ये २ नम्बर सबवे लाइनले विशेषगरी पूरातात्विक महत्वका स्थलहरू छुने गर्दछ। कलाकार अरनिकोले बनाएको श्वेत चैत्य होस् वा प्राचीन चीनको झल्को दिने हुथोङहरू होउन् वा विभिन्न चिनियाँ पुरातात्विक सम्पदास्थलहरूमध्ये सबैभन्दा धेरै यसै लाइनबाट यात्रा गर्दा भेट्न सकिन्छ। यो लाइनले १ नम्बर सबवे लाइनलाई मध्यभागबाट वरिपरि फन्को मार्छ। त्यसै अन्तर्गत लामा टेम्पल भन्ने एउटा स्टेसनको नाम राखिएको छ।
लामा टेम्पलबारे कतिपय चिनियाँ लेखमा के भेटिन्छ भने छैटौं पञ्चेन लामालाई बेइजिङमा स्वागत गर्नको लागि छियान लोङले लामा मन्दिरमा ‘पञ्चेन भवन’ निर्माण गरिदिए। तिब्बत ‘म्यानेजमेन्ट’ का क्रममा गोर्खा सेनालाई शान्त पार्नु र ‘तिब्बत पुनर्स्थापना नीति’ जारी गर्नुजस्ता सम्राटका गतिविधिहरूसँगै जापानी अतिक्रमणकारीहरूले हैकम जमाएर बीच बीचमा निस्प्राण रहेको लामा टेम्पल बेला बेला राजनीतिक परिवर्तनको सिकार पनि भयो।
अहिले सहज रुपमा पर्यटकहरू लामा टेम्पलमा घुम्न सक्छन्। बेइजिङ भ्रमणमा आउने नेपालीहरूमध्ये धेरैले यहाँ भ्रमण गर्ने मौका पाएका छन्। नेपाल भन्ने नाम हेर्न भुलेर फर्किएका धेरै नेपाली पर्यटक पनि छन्। नेपाली मनले चाहन्छ, जताकतै नेपाल शब्द उल्लेख होओस् तर नेपाल सरकारले नै उति ध्यान नदिएको वा यो भन्दा बढी चासो दिन नसकेको पनि हुनसक्छ। त्यहाँ सबैले देख्ने गरी टाँसिएको गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नेपाल भन्ने शब्द छ। यो देख्ने जो कोही नेपालीको हृदय खुशीले गदगद हुन्छ। लामा टेम्पलभरि रञ्जना लिपि छ, यो चिनेका नेपालीले अपनत्वको भावनाले दृष्टिगोचर गर्नसक्छ।
चिनियाँ पाइतु लगायत सर्च इन्जिन, टेलिभिजन कार्यक्रम, सामाजिक सञ्जालहरूमा समेत संसारको सबैभन्दा ठूलो काष्ठनिर्मित बुद्धमूर्ति भनेर खोज्दा लामा टेम्पल, चन्दनको मूर्ति, नेपाल लगायत देशको नाम उल्लेख भएर आउँछ।
लामा टेम्पलको गहनाका लागि नेपालबाट प्राप्त श्रीखण्ड सहयोग अविष्मरणीय छ। सोहीबमोजिम चीनले धेरथोर चर्चा गरिदिएकै छ। नेपाली तत्व भेटेपछि पराया भूमिमा नेपालीले न्यानोपनको महसुस गर्छन्। चिनियाँ सम्पदास्थलमा पुगेपछि रञ्जना लिपि, बुद्ध धर्म र नेपालसँग जोडिएका कुनै चीज छन् कि भनेर अधिकांश नेपालीले अनुसन्धान पनि गर्दछन्। आफ्नो देशले चीनको सांस्कृतिक उत्थानमा गरेको योगदानको इतिहास र चीनले गरिरहेको संरक्षणको वर्तमानप्रति प्रसन्नता प्रकट गर्छन्।
यसलाई भजाएर नेपाल-चीन मित्रको एउटा आयाम कोर्न दुवै पक्षले अग्रसरता लिने हो भने साझा फाइदा हुनसक्नेछ नत्र बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड। गन्तव्यस्थलबारे जानकारीबिनै गएका नेपाली पर्यटक यत्तिकै पनि फर्किन्छन्। पूर्वजानकारी पाएकाले भट्टराईसहित नेपालीहरूले लामा टेम्पलमा नेपाली अस्तित्व देखे र दंग पर्दै केही फोटो र भिडियो क्लिप खिचिदिए।