
विद्यालय सञ्चालन हुन थाले
म्याग्दीका सामुदायिक विद्यालयले करिब पाँच महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छन् । कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका ती विद्यालयले स्वास्थ्यमापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन् ।
सरकारले अघि सारेको स्मार्ट लकडाउनको अवधारणा अनुसार विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेका जनाएका छन् । ग्रामीण क्षेत्रका विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने स्मार्ट लकडाउन अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले सङ्क्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको जानकारी दिए ।
कार्यपालिकाको निर्णयअनुसार १० माविसमेत सबै ३७ विद्यालय खुल्ला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययन अध्यापन सुरु भएकामा कोरोना देखिएपछि तीन विद्यालय बन्द छन् । ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । मावि तहका विद्यालयमा १५० जनाको हाराहारीमा विद्यार्थी छन् ।
एउटा कक्षाकोठामा २० देखि २५भन्दा बढी विद्यार्थी नभएकाले कोरोनाको सक्रिय सङ्क्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको तर्क छ । न्यून विद्यार्थी भएको, पातलोबस्ती भएका स्थानका विद्यालय सबै खुला गरे पनि गाउँपालिका केन्द्र रहेका र अलि बढी विद्यार्थीको चाप भएका विद्यालयले भने विद्यार्थीको जोरविबोर रोल नम्बरको आधारमा कक्षा सञ्चालन गरेका छन् ।
केही विद्यालयले भीड हुने जनाउँदै बार अनुसार कक्षा चलाएका छन । शिक्षक, विद्यार्थी र समुदायमा सङ्क्रमण देखिए बन्द गर्ने र स्वास्थ्यमापदण्डको पूर्ण पालना गराई भौतिक रूपमै विद्यार्थी राखेर पढाइ सुरु गर्न निर्देशन दिएको मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए।
उनले विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । समुदायमा कोरोना सङ्क्रमण पनि नभएपछि पढाइ किन बन्द गर्ने भनि प्रश्न गरे। सदरमुकाम बेनीका विद्यालयमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी देखिएको छैन ।
गत वैशाख २२ गतेदेखि निषेधाज्ञा भएपछि गाउँका घरफर्केका विद्यार्थी पुनः विद्यालयको सम्पर्कमा आएका छैनन् । केही अभिभावकको बुझाइमा अनलाइन कक्षा शुल्क उठाउने माध्यममात्र भएको छ । तर केही निजी विद्यालयले भने अनौपचारिक पोशाकका विद्यार्थी बोलाएर पढाउन थालेका छन् ।
