एस् ए टी भी २१ जेठ, काठमाडौंः भारतको पूर्वोत्तर राज्यहरुमा लगातार वर्षापछिको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४४ जना पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत बिहीबार यताको भारी वर्षापछिको विपद्मा परेर आसाममा १७ जना, अरुणाचल प्रदेशमा १२ जना, मेघालयमा ६ जना, मिजोराममा ५ जना, त्रिपुरामा २ जना र नागाल्याण्ड र मनिपुरमा एक/एक जनाको मृत्यु भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै एनडिटिभीले लेखेको छ ।
यसैगरी सिक्किममा आइतबार साँझ सैनिक क्याम्प नै बगाउँदा तीन सैनिकको कृत्यु भएको थियो भने बेपत्ता भएका अन्य ६ सैनिक अझै फेला परेका छैनन् ।
बाढी पहिरोले गर्दा सबैभन्दा बढी आसाममा क्षति पुगेको छ । आसामको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार यहाँका २१ जिल्लाका एक हजार ५ सय ६ गाउँका ६ लाख ३३ हजार भन्दा बढी जनसंख्या प्रभावित छन् ।
१४ हजार ७३९ हेक्टरको खेतीयोग्य जमिनमा क्षति पुगेको छ । सबैभन्दा बढी श्रीभुमी जिल्ला प्रभवित छ र यहाँको २ लाख ३१ हजार ५३६ जनसंख्या प्रभावित भएको डेक्कनहेराल्डले लेखेको छ । बाढी पहिरो प्रभावितहरुमध्ये ३९ हजार ७४६ जनालाई विभिन्न अस्थायी शिविरहरुमा आश्रय दिइएको छ ।