एस् ए टी भी २७ फाल्गुन, काठमाडौँः पाटनको मंगलबजार घुम्दै गर्दा मैले दुई जना विदेशी पर्यटकलाई गल्लीभित्र फोटो खिचिरहेको देखेँ।
उनीहरू त्यहाँ झुन्डिरहेको बिजुली तारको गुजुल्टो चाखपूर्वक हेर्दै थिए र रमाउँदै फोटो खिच्दै थिए।
हामी सधैं आफ्नो देशलाई अरूसँग दाँज्छौं। यो भएन, त्यो भएन भन्दै गुनासो गर्छौं। तर जुन कुरालाई लिएर हामी गुनासो गरिरहेका हुन्छौं, तिनै कुरामा विदेशीहरू रमाइरहेका हुन्छन्। कतै हामीले आफ्नो देशलाई हेर्ने दृष्टि नै गलत त छैन?
यही प्रश्नले मलाई नेपाल घुम्न आएका विदेशी पर्यटकहरू हाम्रो देशबारे के सोच्छन् भनेर जान्न मन लाग्यो।
यो शृंखला मेरो त्यही उत्सुकताको परिणाम हो। यसमा म काठमाडौं उपत्यकाका विभिन्न पर्यटन केन्द्रमा गएर त्यहाँ घुमिरहेका विदेशी पर्यटकसँग कुरा गर्छु र उनीहरूलाई नेपाल कस्तो लाग्यो, के राम्रो लाग्यो, के नराम्रो लाग्यो भनेर सोध्छु।
मैले मंगलबजारको गल्लीमा बिजुली तारको गुजुल्टो हेर्दै फोटो खिचिरहेका पर्यटकलाई यिनै प्रश्न सोधेकी थिएँ।
उनीहरू त्यो गल्लीबाट कृष्ण मन्दिरनिर आए र त्यहाँको भिडभाड हेर्दै रमाउन थाले। उनीहरू क्यानडाको टोरन्टोबाट आएका जोडी रहेछन्। श्रीमतीको नाम सुजेन, श्रीमानको रोन। उनीहरू काठमाडौं आइपुगेको तीन दिन भएको थियो।
यी तीन दिनमा तपाईंहरूलाई के राम्रो लाग्यो त?
मेरो यो प्रश्नमा उनीहरूले जे जबाफ दिए, त्यो सुनेर म छक्क परेँ।
उनीहरूले भनेका थिए, 'मलाई यहाँको वातावरण सफा लाग्यो।'
जुन वातावरण हामीलाई फोहोर लाग्छ, प्रदूषित लाग्छ, उनीहरू त्यही वातावरणको तारिफ गर्दै थिए। भएछ के भने, उनीहरू काठमाडौं आउनुअघि भारत घुम्न गएका रहेछन्। त्यहाँका सहरको फोहोरमैला र प्रदूषण देखेर वाक्कदिक्क भएका उनीहरूलाई त्यसको तुलनामा काठमाडौं निकै सफा लागेछ।
यसबाट हामी के बुझ्न सक्छौं भने, संसारमा हरेक कुरा तुलनात्मक हुन्छ। हामी अमेरिका र युरोपका विभिन्न सहरसँग काठमाडौंलाई दाँज्छौं र आफू बस्ने ठाउँलाई फोहोर भयो, प्रदूषित भयो भनेर गाली गर्छौं। तर हाम्रोभन्दा प्रदूषित र फोहोर ठाउँ पनि संसारमा छन्। यसको मतलब काठमाडौंलाई सफा पार्न जरूरी छैन भन्न खोजेको होइन। जरूरी छ, तर त्यसका लागि गुनासो कम, काम बढी गर्नुपर्छ।
सुजेनले भनिन्, 'भारतीय सहरभन्दा काठमाडौं निकै सफा लाग्यो हामीलाई। यहाँको मौसम लोभलाग्दो छ। मान्छेहरू असल र सहयोगी छन्। बजारमा भिडभाड त छ, तर त्यो भिड कोलाहलमय छैन। मान्छेहरू हतारमा देखिँदैनन्। भिडमा पनि शान्ति र आत्मीयता झल्किन्छ।'
रोनलाई काठमाडौं मनपर्नुको कारण भने अर्कै छ।
'यहाँका प्राय: मानिसलाई अंग्रेजी बोल्न आउने रहेछ। कतिपय मान्छे त निकै राम्रो बोल्दा रहेछन्,' रोनले भने, 'भाषाका कारण हामीलाई घुम्न गाह्रो भएन।'
सुजेन र रोन समूहमा घुम्न आएका हुन्। टूर व्यवस्थापक कम्पनी राम्रो परेकाले पनि घुम्न सजिलो भएको उनीहरूले बताए।
उनीहरूलाई काठमाडौंका सांस्कृतिक स्थल, मठ-मन्दिर, ऐतिहासिक दरबार र यी सबैसँग जोडिएका कथा-किम्बदन्ती पनि मन परेको छ। कथा-किम्बदन्तीले कुनै पनि ठाउँको संस्कृति र सभ्यता जोगाएर राख्छ भन्ने सुजेनको धारणा छ।
'कथा भनेको संस्कृतिको आत्मा हो। प्राचीन कालदेखि चलिआएको संस्कृति जोगाएर राख्ने भनेको त्योसँग जोडिएको कथाले हो,' उनले भनिन्, 'हामी मान्छेहरू कथा सुन्न हुरूक्कै हुन्छौं। कथाले हाम्रो ध्यान तान्छ। जुन कुरामा ध्यान तानिन्छ, त्यसमा चासो र उत्सुकता बढ्छ।'
'मलाई काठमाडौंका विभिन्न ठाउँसँग जोडिएका कथाहरू रोचक लागे। कतिपय कथामा त सहरको इतिहास नै लुकेको रहेछ,' उनले भनिन्।
सुजेन र रोन काठमाडौं घुम्न आउनुको एउटा मुख्य उद्देश्य नै यहाँको प्राचीन संस्कृति र इतिहासबारे जान्नु हो। उनीहरूले यसबारे किताबमा पढेका थिए। अरू मान्छेबाट सुनेका थिए। वृत्तचित्रहरूमा देखेका पनि थिए। तिनै कथा सुनेपछि नै तीन-चार हजार वर्षअघि बसेको यो सहर कस्तो रहेछ भनेर हेर्न हुटहुटी जागेको सुजेनले बताइन्।
'मलाई यहाँका मन्दिर, स्तुप र दरबारको आर्किटेक्ट भव्य लाग्यो,' रोनले भने, 'जति हेरे पनि नअघाउने रहेछ। मन्दिरमा कुँदिएका कलाकृति हेर्दै बस्यो भने त्यसै आनन्द आउने रहेछ।'
काठमाडौंमा खाइने स्थानीय परिकार पनि स्वादिलो लागेको उनीहरू बताउँछन्।
अहिलेसम्म कुन कुन खानेकुरा चाखिसक्नुभयो त?
जबाफमा सुजेनले भनिन्, 'यहाँ आएकै दिन दालभात खायौं, एकदमै मिठो लाग्यो। अर्को दिन आलु-पकोडा खायौं, त्यो पनि एकदमै मिठो।'
त्यसैमा रोनले थपे, 'सबभन्दा मिठो चाहिँ म:म लाग्यो। झोल सुरूपसुरूप पिउँदै तातो तातो म:म खान साह्रै मज्जा आउने रहेछ।'
तीन दिनको काठमाडौं बसाइमा राम्रो लागेका कुरा सुनाएपछि मैले नराम्रो अनुभवबारे सोधेँ।
दुवैले बाटो छेउछाउ जथाभाबी भइरहेका निर्माण कार्य र अत्यधिक ट्राफिक जाम मन नपरेको बताए।
'यति राम्रो सहरमा पैदल यात्रुहरूलाई हिँड्नै गाह्रो हुने गरी निर्माण कार्य भइरहेको देखेर दिक्क लाग्यो,' सुजेनले भनिन्, 'हामीकहाँ पनि यस्ता निर्माण कार्य त हुन्छन्, तर हिँडडुल गर्नेले सास्ती खानुपर्दैन। निर्माण सामग्रीहरू थुपारिएको पनि देखिँदैन। यहाँ त फुटपाथ नै छेकेर निर्माण सामग्री राखिँदो रहेछ। त्यसो गरेपछि पैदल यात्रुहरू कसरी हिँड्ने?'
उनले अगाडि भनिन्, 'अनि निर्माण कार्य गर्दा धुलो उडाउने गरेको पनि मलाई मनपरेन। त्यसले त सहरको शोभा नै बिगारिहाल्यो नि! होइन?'
रोनले टाउको हल्लाउँदै सुजेनको कुरामा सही थापे।
सुजेन र रोनपछि मैले मंगलबजारमै घुमिरहेका चार जना अलि पाका उमेरका विदेशीहरूसँग कुरा गरेँ। उनीहरू सबै स्पेनबाट आएका रहेछन्।
मैले कुराकानीको प्रयास गर्दा तीन जना त अंग्रेजी आउँदैन भन्दै तर्किए। चौथो व्यक्ति कुराकानी गर्न तयार भएँ, सँगसँगै यो पनि भने, 'मेरो अंग्रेजी कमजोर छ। म उत्तर दिने प्रयास त गर्छु, तर मैले बोलेको तपाईंले नबुझ्न पनि सक्नुहुन्छ।'
मैले 'केही फरक पर्दैन' भन्दै कुरा सुरू गरेँ।
उनको नाम कार्लो रहेछ। उनको समूह पाँच दिनका लागि काठमाडौं आएको रहेछ। मैले दोस्रो दिन भेटेकी थिएँ।
'हामीले किताबमा पढेर नेपालबारे थाहा पाएका हौं,' उनले भने, 'काठमाडौं सहरको सांस्कृतिक विशेषता, यहाँका हिन्दु मन्दिर र बौद्ध स्तुपहरूबारे हामीले पढेका थियौं। खासगरी गौतम बुद्धबारे पढ्दा काठमाडौंका प्रसंग आइरहे। त्यसले हामीलाई यहाँ आउन प्रेरित गर्यो।'
आएको दुई दिनमै काठमाडौंका रैथाने खानेकुरा र यहाँका मन्दिरहरूको वास्तुकलाले मोहित पारेको उनले बताए।
'किताबमा पढेकोभन्दा कयौं गुणा सुन्दर रहेछ यो सहर,' उनले भने, 'संस्कृति र सम्पदाको दृष्टिले धनी देशहरू त अरू पनि छन्, तर काठमाडौंको जस्तो जीवित संस्कृति र जीवित सम्पदा मैले अरू देशमा देखेको छैन।'
'यति पुराना जीवित संरचनाहरू देख्न पाउनु भाग्यको कुरा हो। तपाईं नेपालीहरू साह्रै भाग्यमानी हुनुहुन्छ। तपाईंहरूसँग त्यो चिज छ, जुन संसारमा विरलै हुन्छ। नयाँ नयाँ विकास त तपाईंहरू जुनसुकै बेला गर्न सक्नुहुन्छ। तर यी पुराना संरचना भाग्यले मात्र प्राप्त हुन्छन्,' उनले भने।
कार्लोले यो पनि भने, 'यहाँ हजारौं वर्ष पुरानो जात्रा आज पनि उत्तिकै धूमधामका साथ मनाइँदो रहेछ। सयौं वर्ष पुराना मन्दिरमा आज पनि उत्तिकै आस्थाका साथ पूजा गरिँदो रहेछ। यी मन्दिर र यहाँका मूर्तिमा साँच्चिकै ईश्वरीय शक्ति छ कि भन्ने मलाई अनुभूति भयो।'
खानामा भने यहाँको पिरो नेवा: खाना खुब स्वादिलो लागेको उनले बताए।
'स्पेनमा हामी त्यति पिरो खाँदैनौं,' उनले भने, 'यहाँको पिरो चाहिँ मेरो जिब्रोमै बस्यो।'
यसबाहेक काठमाडौं र पाटनका गल्लीहरू घुम्दा नयाँ खालको अनुभव भएको उनले बताए। भने, 'यहाँका गल्ली र त्यसभित्रका चोक र बहालमा मानिसहरूले एकअर्कासँग समय बिताइरहेको देखेर अचम्म लाग्यो। मानिसहरूबीचको यस्तो आपसी सम्बन्ध विकसित देशहरूमा विरलै देखिन्छ। तपाईंहरूले आज पनि यो मानवीय सम्बन्ध जोगाएर राखेको देख्दा खुसी लाग्यो।'
मैले भेटेका यी विदेशी पर्यटकले हाम्रो काठमाडौं सहरबारे जे-जस्ता कुरा भने, के त्यसको महत्त्व हामी आफैले महसुस गरेका छौं?
सहरको फोहोर र प्रदूषण मात्र देख्ने हाम्रा आँखाले यस्ता विशेषता देख्नै छाडेको त होइन?
कतै आफ्नो सहरलाई हेर्ने हाम्रो दृष्टि नै गलत त छैन?