एस् ए टी भी ०८ फाल्गुण, काठमाडौँः भक्तपुरको नगरकोट भनेपछि त्यहाँको प्राकृतिक सौन्दर्य, सूर्याेदय, सूर्यास्त आदिआदि सोचेका हुन्छन्, तर पछिल्ला वर्षमा नगरकोट नपुग्दै बिच बाटोमा रहेको रानी झुला झोलुंगे पुल यहाँको अर्काे आकर्षणको केन्द्र बन्न पुगेको छ।
नगरकोटको काखमा रहेको यो झोलुंगे पुल कमलविनायक बसपार्कबाट नगरकोट जाँदा बिच बाटोमै पर्छ। कमलविनायक-नगरकोट सडकको तेलकोटबाट करिब एक किलोमिटरमाथि नगरकोटतिर गएपछि यो पुल देख्न सकिन्छ। पुल पुग्नका लागि चारपँग्रे गाडी मूल सडकमै राखेर एकदुई मिटर अर्थात् पाँच मिनेटजति पैदल जानुपर्छ।
काठमाडौंबाट करिब ३२ किलोमिटर पूर्वमा पर्दछ नगरकोट। तर यो पुल काठमाडौंबाट झन्डै २२ किलोमिटरमा रहेको छ। नेपालकै सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य मानिने नगरकोटको मुख्य आकर्षण बन्न पुगेको छ झोलुंगे पुल। यो ठाउँ भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ। यो पुलले चाँगुनारायण नगरपालिका वडा नं ६ र ७ जोड्छ। बास्तोला गाउँ, वन, पँधेरो झोलुंगे पुल रानी झुलाको उद्घाटन २०८० साल जेठमा भएको थियो।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री झोलुंगे पुल हेर्न, खेल्न दैनिक सयौं आन्तरिक तथा विदेशी पर्यटक आउन थालेको बताउँछन्। चाँगुनारायण नगरपालिकाको नगरकोटलाई मात्रै नभई सिंगो चाँगुनारायण नगरपालिकालाई नै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न नगरकोट भ्रमण वर्ष २०८१ आयोजना गर्न लागिएको नगर प्रमुख खत्रीले बताए।
नगरकोट भ्रमण वर्ष २०८१, वैशाख १, २०८२ बाट सुरु भई वर्षभरि रहने उनले जनाए। भ्रमण वर्षका क्रममा चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ सम्मका सम्पूर्ण वडामा वर्षभरि विभिन्न कार्यक्रम गर्ने र पर्यटकीय गन्तव्यस्थल बनाउने काम हुने उनले जनाए।
स्थानीयका अनुसार विशेषगरी शनिबार र बिदाका दिनमा यहाँ घुम्न आउनेको संख्या अत्यधिक हुन्छ। विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुरसहित विभिन्न ठाउँबाट युवकयुवती यहाँ आउने गरेको स्थानीय रामबहादुर कार्कीले बताए। यही कारण यहाँ सानातिना नाङ्ले पसलेको पनि लर्काे देखिन्छ। यही ठाउँमा रात बिताउन चाहनेका लागि पनि गाउँभरिका घरमा होम स्टेको व्यवस्था रहेको छ।
पुल दुई सय ५० मिटर लामो छ। पुल एक करोड ६७ लाख रुपैयाँको लागतमा निर्माण भएको थियो। स्थानीय आवतजावतका लागि बनाइएको भए पनि जंगलको बिचमा रहेको रमणीय वातावरणका कारण पनि यहाँ घुम्न आउनेको संख्या बढेको देखिन्छ।