जगरनाथपुर गाउँपालिका पर्साका १४ वटा स्थानीय निकायमध्ये पश्चिमदक्षिणमा भारतीय सीमासँग जोडिएको गाउँपालिका हो । २०७९ सालको स्थानीय तह निर्वाचनमा यहाँ नेपाली कांग्रेसका श्रीकान्त यादव प्रमुखमा निर्वाचित हुनुभएको छ । अधिकांश खेतीयोग्य जमिन रहेको यस क्षेत्रको कृषि, सिँचाइ, विद्युत्, शिक्षा र स्वास्थ्यका क्षेत्रको अवस्था र त्यसको सुधारका लागि भइरहेको प्रयासका सम्बन्धमा गाउँपालिकाका प्रमुख यादवसँग गोरखापत्रका वीरगन्ज समाचारदाता दीपकप्रसाद गौतमले गर्नुभएको कुराकानी :
तपाईं निर्वाचित भएपछि प्रमुख कामहरू के के गर्नुभयो ?
निर्वाचित भएपछि सबैभन्दा पहिला ज्येष्ठ नागरिकलाई घर घरमै भत्ता वितरण गर्ने गराउने काम सुरु गरेका छौँ । ज्येष्ठ नागरिकहरू सकी नसकी बैङ्कमा पुगेर घण्टौँ लाम लागेर भत्ता लिनुपर्ने बाध्यतालाई हामीले हटाएका छौँ । जिल्लामा यस्तो सुविधा प्रदान गर्ने सम्भवतः यो गाउँपालिका पहिलो हो ।
यहाँले यस गाउँपालिकाका बासिन्दाको प्रमुख आवश्यकता के के पहिचान गर्नुभएको छ ?
सबै स्थानीय तहमा आआफ्ना परिवेश अनुसारका आवश्यकता हुन्छन् । यस गाउँपालिकामा हामी आउनुभन्दा पहिला स्थानीयवासी जनप्रतिनिधिहरूको तानाशाही प्रवृत्तिका कारण निकै डर र त्रासको जिन्दगी बिताइरहेका थिए ।
अहिले त्यस्तो अवस्था अन्त्य भएको छ । यहाँका बासिन्दा निर्धक्क भएर परिश्रम गरी जीवनयापन गर्न सक्ने सहज वातावरण सिर्जना भइसकेको छ । गाउँवासीको कुनै गुनासो भए पालिकाका अधिकृतसमक्ष भन्न सक्छन् । कसैको केही गुनासो भए सिधै मेरै मोबाइल नम्बरमा पनि सम्पर्क गर्न सक्छन् । जनताका गुनासा तत्काल सम्बोधन गर्ने गरिन्छ । सुशासनका हकमा केही कमजोरी देखिए त्यसलाई तत्काल सच्याएर अगाडि बढिरहेका छौँ । हुलाकी सडकमा प्रहरी चेकपोस्ट स्थापना गर्न लगाई सुरक्षाको क्षेत्रमा पनि गम्भीरताका साथ काम गरिरहेका छौँ ।
गाउँपालिकाको आन्तरिक आर्थिक स्रोतको अवस्था के कस्तो छ ?
हामी आउनुभन्दा पहिला यहाँको आन्तरिक स्रोतको अवस्था शून्य जस्तै थियो । हामीले केही स्रोत पहिचान गरेर थोरै थोरै भए पनि सङ्कलन भइरहेको छ । बाँकी सबै प्रदेश र सङ्घीय सरकारमै भर पर्नुपर्ने अवस्था छ ।
यहाँ बेला बेलामा सीमा विवाद, नदी उत्खननमा विवाद भइरहन्छ । त्यसलाई कसरी समाधान गरिरहनुभएको छ ?
भारतसँग सिमाना जोडिएको भएर पहिले पहिले भारतीयहरूले नदीको दसगजा क्षेत्रमा उत्खनन गर्दा विवाद हुने गरेको थियो । अहिले दसगजा क्षेत्रमा उत्खननमा पूर्ण रूपमा रोक लगाएका छौँ । सीमा क्षेत्रमा दुवै पक्षको छलफल गरी विवाद सुल्झाउँदै आएका छौँ । त्यसैले अहिले अवस्था सामान्य छ ।
स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न गाउँपालिकाले के कस्तो पहल गरिरहेको छ ?
हामीले उद्योग वाणिज्य मन्त्रालयसँग सहकार्य गरेर ग्रामीण उद्योगको कार्यव्रmम लागु गरेका छौँ । ग्रामीण उद्योगको स्थापनाका लागि ई बिडिङको प्रव्रिmया अगाडि बढिसकेको छ । यहाँको प्रमुख नगदे बालीका रूपमा रहेको सिमल तरुलको व्यावसायिक खेतीलाई प्रोत्साहन गरेर अगाडि बढाइरहेका छौँ । त्यसबाट यहाँका किसानले अधिक फाइदा लिन सक्ने हाम्रो विश्वास छ ।
कृषिको विकास तथा आधुनिकीकरणका लागि कस्तो पहल गर्दै हुनुहुन्छ ?
कृषिको अवस्था सुधार गर्न स्थानीय स्रोतसाधनको प्रयोगमा बढी जोड दिएका छौँ । सिँचाइका लागि खेत खेतमा पानी तान्ने विद्युतीय मोटर जडान गरेका छौँ । सिँचाइमा विद्युतीकरण गरी आगामी दिनमा कृषि मिटरको बिल गाउँपालिकाले तिरिदिएर कृषकलाई राहत प्रदान गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ । त्यसका लागि अहिले अभिलेख सङ्कलनको काम भइरहेको र छिटै सम्पन्न हुने अवस्था छ ।
गाउँपालिकामा अन्य के के योजना सञ्चालन भइरहेका छन् ?
यहाँ सङ्घीय सरकारको लगानीमा ढोङ्गही सिँचाइ आयोेजना टेन्डर प्रव्रिmयामा छ । जमुनिया सिँचाइ आयोजनाको काम भइरहेको छ । सङ्घीय सरकारको बजेटबाट सात किलोमिटर सडक कालोपत्रे भइरहेको छ । हामीले आफ्नो स्रोतसाधनबाट भने सडक ढलान, नाला निर्माण तथा बत्ती जडान एवं साना सिँचाइका काम अगाडि बढाएका छौँ ।
स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि के के गर्दै हुनुहुन्छ ?
यहाँ एउटा पनि बर्थिङ सेन्टर थिएन । अहिले दुई वटा बर्थिङ सेन्टर सञ्चालन भइरहेका छन् । एमबिबिएस डाक्टरको सेवा प्रदान गर्ने योजनासहित १५ शøयाको अस्पतालको काम पनि अगाडि बढेको छ । पालिका क्षेत्रका सबै विद्यालयमा शौचालय निर्माणलगायत भौतिक संरचना सुधारका काम भइरहेका छन् । विद्यालय क्षेत्रको सुधारका लागि विद्यालय व्यवस्थापन ऐनलगायत अहिलेसम्म १७ वटा ऐन निर्माण गरिसकेका छौँ । अन्य केही आवश्यक ऐन कानुन निर्माणको गृहकार्य भइरहेको छ ।
जनप्रतिनिधि र पालिकाका कर्मचारीबिच सम्बन्ध कस्तो छ ?
यस पालिकाका कर्मचारी र जनप्रतिनिधिबिच राम्रो सम्बन्ध छ । कतै खटपट छैन । म यस पालिकामा आएदेखि कुनै कर्मचारीलाई सरुवा गरिएकोे छैन । सबैको साथ र सहयोग लिँदै सौहार्दपूर्ण ढङ्गमा अगाडि बढिरहेका छौँ ।
सङ्घ र प्रदेश सरकारसँग समन्वय कस्तो छ ?
सङ्घ र प्रदेश सरकारसँग पनि हामीले राम्रो समन्वय गरिरहेका छौँ । अहिले पनि सङ्घ र प्रदेश सरकारका केही आयोजना सञ्चालनमा छन् । ठुला योजना सङ्घीय सरकारको योजनामा परेका छन् । प्रदेश सरकारले बाटोघाटोका काम गरिरहेको छ ।
काम गर्ने क्रममा कस्तो चुनौती सामना गरिरहनुभएको छ ?
राजनीतिमा लागेका उद्दण्ड मानिसहरू, नबुझ्ने मानिसहरूका कारण केही काममा अप्ठ्यारो परिस्थिति उत्पन्न भएको थियो । अहिले त्यसको समाधान भइसकेको छ । विकास निर्माणको काम गर्दा खासै ठुला चुनौती देखिएका छैनन् ।
तपाईंको कार्यकाल सकिँदा जगरनाथपुर गाउँपालिकावासीले के फरकपनको महसुस गर्न पाउने छन् ?
अहिले नै गाउँपालिकावासीले निकै फरकपनाको महसुस गरिरहेका छन् । अहिले गाउँपालिकाका हरेक टोलमा ठुला सवारीसाधन पुग्न सक्ने गरी बाटोघाटो निर्माण भइसकेका छन् । सडक ढलान तथा नाला निर्माणको काम सबै टोलमा भइसकेको छ । यस पालिकामा कक्षा १० सम्म पढाइ हुने विद्यालय थिएनन् । अहिले पालिकाभित्रै कक्षा १० सम्म पढाइ हुन्छ । अब उच्च माध्यमिक तहसम्मको पढाइ हुने गरी विद्यालय सञ्चालन गर्ने छौँ ।
प्राविधिक शिक्षाको व्यवस्था गर्ने छौँ । विगतको तुलनामा गाउँवासीले अहिले निकै सुशासनको अनुभूति गरिरहेको म दाबी गर्न सक्छु । यहाँको वातावरणलाई हरियाली बनाइराख्न पनि हामीले उत्तिकै ध्यान दिएका छौँ । यहाँको समृद्धिको आधार भनेको कृषि क्षेत्रको क्रान्ति नै हो । त्यसमा हामी गम्भीर भएर लागेका छौँ । मेरो बाँकी कार्यकालमा शिक्षा र स्वास्थ्यमा सुधार गर्ने मुख्य ध्येय छ । त्यसै गरी स्थानीयवासीका लागि पालिकामै रोजगारी सिर्जना गर्ने योजना बनाएका छौँ । भौतिक पूर्वाधारमा सुधार, कृषिमा आधुनिक प्रविधि भिœयाएर उत्पादन र उत्पादकत्व बढाई कृषकको जीवनस्तरमा सुधार गर्ने योजना बनाएका छौँ । त्यसका लागि यहाँको सिँचाइ पद्धतिलाई थप व्यवस्थित गर्नु जरुरी छ । हामीले त्यसमा पनि काम गरिरहेका छौँ ।