साउन ७ गते । एउटै पेसा व्यवसायमा निरन्तर मेहनत गर्ने हो भने आर्थिक उपार्जनका लागि न खेतीपाती गर्नुपर्छ, न त लाखौँ खर्चेर विदेश नै जानुपर्छ । २४ वर्षअघि मोरङको लेटाङ–९, जाँतेका इमानाथ पोख्रेलले ८० हजार रुपियाँ खर्चेर १० घार मौरी पाल्न थाल्नुभयो । तिनै मौरीले उहाँलाई अहिले सान, मान र दाम दिलाइरहेको छ ।
हाल उहाँसँग १६० घार मौरी छन् । तिनको बजार मूल्य २४ लाख रुपियाँ पुगेको छ । वार्षिक तीन हजारदेखि चार हजार पाँच सय केजी मह उत्पादन गर्ने पोख्रेलले वार्षिक सरदर ३८ लाख रुपियाँको मह बिक्री गर्नुहुन्छ । व्यावसाय सुरु गरेको सात वर्षपछि २०६४ सालमा उहाँले मनकामना मौरीपालन स्रोत केन्द्र दर्ता गर्नुभयो ।
इमानाथका एक मात्र छोरा अनिश पोखरेलले मौरीपालन स्रोत केन्द्रको सबै जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँको फर्मले वार्षिक छ हजार किलोभन्दा बढी मह आफैँ बिक्री गरिरहेको छ । अनिशले भन्नुभयो, हामी थोक विक्रीतालाई दिँदैनौ ।
आफैँ देशभर स्टल राखेर बिक्री गर्छौं । तीनै तहका सरकारले कृषिसम्बन्धी प्रदर्शनी जहाँ जहाँ राख्छ हामी त्यही पुग्छौँ । देशका सबै भागमा स्टल पुर्याइसक्नुभएका पोख्रेलले आफूले उत्पादन गरेको महले नपुगेर किसान दाजुभाइको समेत खरिद गर्ने गरेको बताउनुभयो ।
जङ्गली स्रोतको मह एक हजार दुई सय रुपियाँ प्रतिकिलो र तोरी स्रोतको मह आठ सय रुपियाँ प्रतिकिलोमा देशभर दैलो दैलोमा निःशुल्क पुर्याएका पोख्रेल हालसम्म सरकारी अनुदान एक पटक मात्र पाएको बताउनुहुन्छ । कोशी प्रदेशकै नमुना मौरीपालन स्रोत केन्द्रका रूपमा विकसित भइरहेको पोख्रेलको फर्म अवलोकन गर्न आउने, तालिम माग गर्ने र बजारीकरणका लागि सहयोग माग्नेको पनि उत्तिकै भिड लाग्ने गर्छ ।
पूर्वाञ्चल विश्वविद्यालय, मदन भण्डारी स्मृति प्रतिष्ठान र बाली विज्ञान अध्ययन गराउने माविले पोख्रेलको मौरीपालन केन्द्रलाई अध्ययन गर्ने थलो बनाएका छन् । पोखरेलले मौरीपालन गर्नेलाई तालिम दिने, घार बिक्री गर्ने र मौरीसँग खेल्न सिकाउन, रानोको पहिचान गर्न सिकाउने गर्नु हुन्छ । २७ वर्षदेखि निरन्तर मह उत्पादन गरिरहनुभएका पोख्रेल हालसम्म मह नबिकेर समस्यामा पर्नुभएको छैन ।