नेभिगेसन मेनु

राष्ट्रपतिको चासोपछि काममा सक्रियता
सम्पादक:南亚网络电视
समय:2024-05-20 11:55

gp-koirala-haspital

जेठ ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कामप्रति ध्यानाकर्षण गर्नु भएपछि काम अघि बढेको छ । राष्ट्रपति पौडेलसमक्ष जिल्लावासीले काममा ढिलाइ भएको गुनासो सुनाएपछि निर्माणप्रति चासो लिनुका साथै ध्यानाकर्षण गराएपछि काम अघि बढेको हो । 

राष्ट्रपतिले चासो राखेपछि शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठुलो उपचार केन्द्र बनाउन पहल थालिएको छ । राष्ट्रपति पौडेलको पहलकदमीमा भारत सरकारसँग भएको सहमति अनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बताउनुभयो । पण्डितले भन्नुभयो, “राष्ट्रपतिले एसियाकै ठुलो श्वासप्रश्वास उपचार केन्द्र बनाउन पटक पटक चासो राख्दै आएकाले केन्द्रमा थुप्रै पूर्वाधार तथा जनशक्ति थप भइरहेको छ ।” 

राष्ट्रपतिकै आग्रह अनुसार दुई साताअघि ज्ञान हासिल गर्नका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्थलगत अवलोकन गरिएको उहाँले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई उच्च मूल्याङ्कन गर्दै सरकारले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार सो नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

राष्ट्रपतिको पहलकदमीमा भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो । भारत सरकारले तीन सय शøयाको श्वासप्रश्वास र नेपाल सरकारले सात सय शय्याको जनरल अस्पताल बनाएर एक हजार शय्या क्षमताको बनाउने लक्ष्य रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार एक हजार शय्या अस्पतालका लागि भौतिक संरचना निर्माणका लागि भवन विभागबाट विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

विशेषज्ञसहितका चिकित्सकबाट श्वासप्रश्वाससम्बन्धी उपचार सेवा दिन सुरु गरिसकिएको डा. श्रेष्ठले बताउनुभयो । हाल श्वासप्रश्वाससहित ५० शøया क्षमताको जनरल अस्पताल सञ्चालन भइरहेको छ । साबिक सेती गङ्गा सामुदायिक अस्पतालका रूपमा सञ्चालन हुँदै आएकामा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि विसं २०७३ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । 

केन्द्रले सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया, हाडजोर्नी, नाक, कान र घाँटी, एक्सरे, ल्याब, श्वासप्रश्वास लगायतका क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको  छ । तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने केन्द्रले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर