वैशाख २२ गते । फालेलुङ–४ का अजय केरुङले कतार र बहराइन गरी १२ वर्ष रोजागरी गरेर जोरजाम गरेको रकम घर फर्केलगत्तै चौँरी गोठमा लगानी गर्नुभएको छ ।
उहाँले गत माघमा १२ माउ चौँरी किनेर व्यवसाय सुरु गर्नुभएको हो । चौँरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने बुझेर विदेशबाट बचाएर ल्याएको पैसा त्यतै लगानी गरेको उहाँले बताउनुभयो । अजय जस्तै मलेसियामा चार वर्ष रोजगारी गरी घर पर्कनुभएका फिपराज राई, सन्दीप राई र सन्तकुमार लिम्बूले पनि फालेलुङमा गोठ किनेर चौँरी पाल्न थाल्नुभएको तीन वर्ष भयो । फिपराज विदेशमा चार वर्ष खट्दा बल्लतल्ल चार लाख रुपियाँ बचत भएको बताउनुहुन्छ । फिपराजले भन्नुभयो “त्यही चार लाख रुपियाँ लगानी गरेर चौँरी पाल्दा एक वर्षमै चार लाख रुपियाँ कमाइ भयो ।”
उहाँले २०७८ सालमा विदेशबाट फर्केर साना ठुला गरी २० वटा चौँरी किन्नुभएको थियो । सन्तोषजनक आम्दानी दिएपछि अब फेरि माउ चौँरी थप्ने उहाँको योजना छ । उच्च पहाडी क्षेत्रमा पर्ने फालौट, चारराते, सन्दकपुर, नेपालटार, चोयावन र चिवा भन्ज्याङ क्षेत्रमा मोटरबाटो पुगेपछि घिउ, छुर्पी, चिज निर्यात, दाना र खाद्य वस्तु आयात तथा औपधी उपचारको सुविधा सहज भएपछि चौँरीपालन व्यवसायमा आकर्षण बढेको चौँरीपालक बताउँछन् ।
फालेलुङका अगुवा चौँरीपालक जङ्ग राईका अनुसार चौँरी पाल्नु चुनौतीपूर्ण थियो । चौँरी गोठसम्म सरकारी नजर पुग्दैनथ्यो । खाना–दाना–नाना बोकेरै गुजारा चलाउन पथ्र्यो । मानिस वा चौपाया बिरामी हुँदा उपचार गराउने अवस्था थिएन । अहिले गोठ गोठमा गाडी आइपुग्छ । चौँरीपालकलाई सहयोग गर्न स्थानीय सरकार गोठमै आइपुग्ने गरेको छ । विदेशबाट फर्केर बजारमा घर घडेरी जोड्न छोडेर गोठ किन्नेको सङ्ख्या पनि थपिँदै गएको छ ।
योसँगै पशु प्राविधिक खटाएर सरुवा र प्राणघातक रोगविरुद्ध खोप लगाउने, बिमा गराउने, प्रदेश र सङ्घीय सरकारसँगै गैरसरकारी क्षेत्रसँग सहकार्य गर्दै चौँरीपालन व्यवसाय सहज बनाउन सहजीकरण गर्ने काम गरिरहेको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ बताउनुहुन्छ । अगुवा चौँरीपालक चन्द्रलाल नेपाल सरकारी, गैरसरकारी र निजी क्षेत्रले समन्वय गरेर चौँरी प्रवर्धन गर्न थालिएपछि युवाको आकर्षण बढेको थाम्सुहाङको भनाइ छ । २०७४ सालसम्म फालेलुङमा १८ वटा मात्रै गोठ थिए । अहिले गोठ सङ्ख्या बढेर ३२ पुगेको छ । जिल्लामा याक/चौँरीको सङ्ख्या सात सयबाट बढेर एक हजार ५० पुगेको छ ।
हिमालको पर्यायका रूपमा चिनिने चौँरी नेपाल, भुटान र तिब्बतसहित विश्वका सात वटा मुलुकमा मात्रै पाइन्छ । सङ्घीय सरकार कृषि सहकारी तथा पशुपन्छी मन्त्रालयको तथ्याङ्क अनुसार नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, ओखलढुङ्गा र सोलुखुम्बुसहितका उच्च पहाडी र हिमाली जिल्लामा चौरी गोठ छन् ।