नेभिगेसन मेनु

महानगरपालिका मध्ये भरतपुर उत्कृष्ट
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-22 12:48

Bharatpur_202206241611471687747354_1024

फागुन १० गते । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिका लाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । गत आर्थिक वर्ष २०७९-०८० मा आयोगको मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।

महानगरका उपसचिव एवं निर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आव २०८१-८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले विभिन्न १७ वटा सूचकमा उल्लेखित अङ्क भारको आधारमा मूल्याङ्कन गर्ने गर्दछ । पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ ।

समय सीमा अर्थात् भित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे-नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएको लगायतका आधारमा अनलाइन पोर्टल बाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ ।

आयोगले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिकाले यस पटक ५६ दशमलव २९ प्रतिशत अङ्क प्राप्त गरेको छ । जबकि काठमाडौँ महानगरपालिकाले ३९ दशमलव ०२, वीरगन्ज महानगरपालिकाले ३३ दशमलव ४९ , विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५ , ललितपुर महानगरपालिकाले २५ दशमलव १८ र पोखरा महानगरपालिकाले २० दशमलव ७४ प्रतिशत अङ्क पाएका छन् । जिल्लामा सात पालिकामा पनि महानगर पहिलो ः चितवन जिल्लाका सात पालिकाहरूमध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ ।

महानगरले ५६ दशमलव २९ प्रतिशत अङ्क पाउँदा इच्छाकामना गाउँपालिकाले ४२ दशमलव ०६ प्रतिशत, खैरहनी नगरपालिकाले ४० दशमलव ५१ प्रतिशत, रत्न नगर नगरपालिकाले ४० दशमलव ०१ प्रतिशत, कालिका नगरपालिकाले ३५ दशमलव ६८ प्रतिशत, राप्ती नगरपालिकाले ३१ दशमलव ७५ प्रतिशत र माडी नगरपालिकाले २६ दशमलव २० प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशभरका ७५३ पालिका मध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फर्यौटलगायतका विषयमा सधैँ उत्कृष्ट बन्दै आइरहेको दाबी गर्नुभयो । उहाँले महानगरलाई उत्कृष्ट साबित गर्न खटिनुहुने जनप्रतिनिधि एवं कर्मचारी परिवारलाई धन्यवाद दिँदै उहाँले आम महानगरवासीको लागि यो गौरवको विषय भएको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर