नेभिगेसन मेनु

सिद्धगुफा नवप्रवर्तन कार्यक्रममा छनोट
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-13 14:14

421049603_1155629315810744_3281605473105337069_n

फागुन १ गते । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफा गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमका लागि छनोट भएको छ । कार्यक्रमबाट पर्यटन प्रवर्धनका भई पर्यटक बढ्ने विश्वासमा व्यवसायी उत्साहित भएका छन् । 

नवप्रवर्तन कार्यक्रमका लागि बन्दीपुरमा जनपर्यावरणमैत्री तथा सिद्धगुफा विकास कार्यक्रम छनोट भई सम्झौतासमेत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय, पोखरा र बन्दीपुर गाउँपालिकाबिच सम्झौता गरिएको हो । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेस गरेपछि दुवै पक्षबिच सम्झौता भएको हो । 

स्थानीय तहले नवप्रवर्तनका माध्यमबाट स्थानीय सेवा प्रवाह, सुशासन र स्थानीय आर्थिक विकासमा योगदान दिने परियोजना प्रस्ताव पेस गरेपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले उपयुक्त प्रस्ताव छनोट गर्ने गर्छ । यो कार्यक्रम सञ्चालन हुने पालिकाले वार्षिक २५ लाखभन्दा कम आन्तरिक आम्दानी भएकाले २५ प्रतिशत र २५ लाखमाथि वार्षिक आम्दानी भएका पालिकाले ३० प्रतिशत लागत साझेदारी गर्नु पर्छ । 

नवप्रवर्तन साझेदारी कोषका लागि कुल लागत एक करोड तीन लाख ९५ हजार तीन सय रहेको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले ७५ लाख रुपियाँ अनुदान दिएको छ भने गाउँपालिकाले २८ लाख ९५ हजार तीन सय लागत साझेदार गर्ने छ । उक्त कार्यक्रममा स्टोन ट्रेल, रक क्लाइम्बिङ, सौन्दर्यीकरण, सत्तल पाटी पौवा निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका कार्यक्रम सञ्चालन, कला संस्कृति संरक्षण, पर्यटकीय स्थलको प्रवर्धन कार्यक्रम, डकुमेन्ट्रीलगायतका अन्य कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो  । 

यस कार्यक्रम छनोट भएपछि गुफाका पूर्वाधार विकासका लागि सहज हुने भएकाले खुसी लागेको सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताउनुभयो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेका सय वटा नयाँ पर्यटकीय गन्तव्यमा पर्ने यो गुफा बन्दीपुर पुगिसकेपछि छुटाउनै नहुने ठाउँ हो । यो नेपालको मात्र नभई एसियाकै सबैभन्दा ठुलो गुफा मानिन्छ । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्धगुफा समुद्री सतहबाट छ सय मिटर माथि छ ।

गुफालाई बन्दीपुरकै गहनाका रूपमा मानिन्छ । केही भागमा छिपछिपे पानी भए पनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो पनि छैन । करिब पाँच सय मिटरभित्रसम्म हिँडेपछि गुफाको आकार झनै ठुलो छ । लगभग आठ मिटर लम्बाइ रहेको यो गुफाभित्र चुनढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति हेर्न लायक छन् । हजारौँको सङ्ख्यामा चमेरा देख्न पाइन्छ । कतै भगवान्को मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृति भेटिन्छन् । भर्‍याङको सहायताले तल झरेपछि सबैभन्दा फराकिलो ठाउँ पुगिन्छ । जहाँ साहसिक खेल र्‍याप्लिङ–९ अँध्यारो गुफाभित्रको भिरमा डोरीको सहायताले माथिबाट तल झर्ने खेल खेलिन्छ । ९६ मिटर अग्लो भिरमा र्‍याप्लिङ सुरु गरिएको एक दशक भइसकेको छ । शिव भगवान्को विशेष पूजा गरिने गुफामा श्रावण महिनामा बोलबमको मेलासमेत लाग्ने गर्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर