नेभिगेसन मेनु

बाँसका सामानबाट जीविकोपार्जन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-02 12:39

Untitled-1

कात्तिक १६ गते । न रोजेर पाइन्छ न खोजेर पाइन्छ श्रम गर्न सिप नै चाहिन्छ भन्ने भनाइलाई रामधुनी–३, बुद्धनगरका ५८ वर्षीय रामस्वरूप मरिकले व्यवहारमा उतार्नुभएको छ । बाँसबाट बन्ने सामान बनाएर उहाँले परिवारलाई मात्रै पाल्नुभएको छैन, छोराछोरीलाई पढाएर जागिरेसम्म बनाउनुभएको छ ।

उमेर १२ वर्ष हुँदादेखि नै बाँसबाट बन्ने सामान बनाएर बिक्री गर्दै आउनुभएका मरिक बिहान उठेदेखि बेलुकैसम्म बाँसका सामान बनाउन व्यस्त रहनुहुन्छ । “बाउ बाजेले गरिआएको पुख्र्याैली पेसा भएकाले अर्को पेसा रोज्न सकिएन आफूले जानेको सिप यही बाँसको सामान बनाउनु हो,” उहाँले भन्नुभयो ।

मरिकले बाँसबाट ढकी, कुनिया, पङ्खा, भकारी, कोठी, बिरुवा छोप्ने ढोकसा जस्ता सामान बनाउँदै आउनुभएको छ । उहाँलाई ५५ वर्षीय श्रीमती गिरिजा मरिकका साथै चार बुहारीले पनि उत्तिकै साथ दिँदै आउनुभएको छ । बुहारी र सासू भएर ढाकी, कुनिया, पङ्खालगायत बाँसका सामान बनाउँदै आउनुभएको छ । मरिक परिवारले वर्षको छ महिना राम्रो आम्दानी गर्दै आउनुभएको छ । बाह्रै महिना बाँसका सामान बनाउने भए पनि माघ, फागुन, चैत, वैशाख र असोज, कात्तिकमा बाँसको सामान बढी बिक्री हुने गरेको मरिक बताउनुहुन्छ ।

दुई रुपियाँ गोटा बाँस किनेर सामान बनाउँदै आउनुभएका मरिकले अहिले दुई सय रुपियाँ प्रतिगोटा खरिद गर्दै आएको सुनाउनुहुन्छ । मरिक भन्नुहुन्छ, “मेरो परिवारका लागि बाँस भगवान् हो । 

बाँसले गर्दा नै परिवारको पालनपोषणदेखि पढाउनसम्म पाएँ । बाँसबाट मासिक २५ देखि ३० हजार रुपियाँसम्म कमाइ हँुदैआएको छ ।” मरिककी श्रीमती गिरिजा मरिकले भन्नुभयो, “यही पेसाले छ छोराछोरीको विवाह दान गरियो । सिजनको बेला सामानको माग बढी हुने भएकाले राति पनि काम गर्छौं ।” मरिक परिवारका सबै छोरा जागिरे छन् । बाँसकै सामान बेचेर पढाउनेदेखि बढाउनेसम्म गरेको श्रीमती मरिक बताउनुहुन्छ । जेठो छोरा सुरेश रामधुनी नगरपालिका–३, कार्यालयमा कार्यालय सहयोगी हुनुहुन्छ । माइलो छोरा सशस्त्र प्रहरी, साइलो जनता मावि सिङ्गियामा सरसफाइ कर्मचारी, काइलो छोरा विदेश र कान्छो छोरा नेपाल प्रहरीमा जागिरे रहेको उहाँ बताउनुहुन्छ । 

उहाँहरूले बनाएको सिङ्गल बिट भएको एउटा ढकी चार सय र डबल बिट भएको सात सय रुपियाँमा बिक्री हुने गरेको छ । पङ्खा एक सय रुपियाँमा बिक्री हुने गरेको छ । त्यसो त भकारी तीन हजारदेखि चार हजार र कुनियाको १५० देखि तीन सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ । रङ्गीन ढकी थारू समुदायको विवाहमा राम्रै बिक्री हुने गरेको गिरिजाले बताउनुभयो । 

सिङ्गो मरिक परिवारमै बाँसको सामान बनाउने सिप छ । बुहारी चन्दा, पूजा मरिक पनि दैनिक घरको काम सकेर ढाकी, कुनियालगायतका सामान बनाउनुहुन्छ । मेहनती रामस्वरूप बिहान उठेदेखि बेलुकैसम्म काममै व्यस्त रहनुहुन्छ । उहाँसँग खुकुरी, दाबिया, आरा, पेचकस र मुङ्गोलगायतका सामान साथमै रहन्छ । उहाँ भन्नुहुन्छ, “धेरै युवक अहिले गाउँमा बेरोजगार भएर बस्नुभएको छ । लगनशील भएर केही न केही सिप सिक्ने हो भने यहीँ धेरै अवसर छन् । नेपालमा काम गरेर मासिक ३० हजार रुपियाँ कमाउन लाज लाग्छ, विदेशमा त्यति नै रकम कमाउन तँछाड मछाड गरेर जान्छन् ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर