नेभिगेसन मेनु

भारतीय राहदानीमा अडुकिया काठमाडौं–हङकङ १४ पटक आउजाउ
सम्पादक:南亚网络电视
समय:2023-07-30 12:56

thumb (2)

काठमाडौँ — क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाले पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको छ । सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन् । उनको यो पटक–पटकको यात्रा सुन तस्करीमै जोडिएको आशंका अनुसन्धानमा संलग्न निकायले गरेका छन् । 

स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर हङकङबाट असार २९ मा भित्र्याइएको करिब १ क्विन्टल सुन साउन २ मा बरामद भएपछि अडुकिया ‘सम्पर्कविहीन’ छन् । सुन तस्करीको सञ्जालमा अडुकिया रहेको आशंकामा राजस्व अनुसन्धान विभाग र प्रहरीले अनुसन्धान गर्ने क्रममा उनी २०७९ असोजदेखि २०८० असारसम्ममा त्रिभुवन विमानस्थलबाट १४ पटक हङकङ पुगेको खुलेको हो । यस क्रममा उनले नेपाली राहदानी प्रयोग गरेका थिएनन् । जबकि नेपाली नागरिककै हैसियतमा विगतमा उनी बैंक/वित्तीय संस्था, सेयर कारोबार, अरू व्यापार–व्यवसायमा आबद्ध थिए ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार अडुकियाले हङकङस्थित भारतीय नियोगबाट २०१० जुलाई ३ मा राहदानी लिएको पाइएको छ । २०१८ जुलाई १० मा राहदानी नवीकरण गर्दा भने अर्कै नम्बर उल्लेख गरिएको छ । नेपाली नागरिकका रूपमा व्यापार–व्यवसाय गरिरहेका अडुकियाले कसरी भारतीय राहदानी लिए भन्ने विषय पनि अनुसन्धानका क्रममा रहेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

अध्यागमनको अभिलेखअनुसार अडुकिया पछिल्लो पटक जुलाई ५ (असार २०) मा हङकङबाट दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । त्यसको ९ दिनपछि करिब १ क्विन्टल सुन हङकङबाट भित्रिएको थियो । अडुकिया त्रिभुवन विमानस्थलबाट जुन २६ मा दिल्ली हुँदै दुबईबाट हङकङ पुगेको देखिन्छ । त्यसअघि मे २६ मा काठमाडौंबाट हङकङ पुगेका उनी ४ दिनपछि मे ३० मा हङकङबाट बैंकक हुँदै काठमाडौं आएका थिए । यस्तै, अप्रिल १३ मा काठमाडौंबाट दिल्ली पुगेका उनी उतैबाट हङकङ–बैंकक हुँदै काठमाडौं आएका थिए । जनवरी १५ मा काठमाडौंबाट हङकङ पुगेका उनी एक साता बसेर जनवरी २२ मा काठमाडौं फर्किएका थिए ।

अडुकिया डिसेम्बर २२ मा काठमाडौंबाट दिल्ली पुगेका बेला तीन दिनपछि नै हङकङबाट दुबई हुँदै काठमाडौं आएका थिए । उनी सन् २०२२ नोभेम्बर १९ मा काठमाडौंबाट हङकङ गएर नोभेम्बर २५ मा फर्किएका थिए । त्यसअघि अक्टोबर १ मा काठमाडौंबाट हङकङ गएर उनी अक्टोबर ८ मा आएका थिए । अध्यागमनको अभिलेखअनुसार त्यसअघि २०७७ पुसदेखि ०७९ असोज (२०२२ अक्टोबरअघि) सम्ममा अडुकियाले काठमाडौं–हङकङ २२ पटक ओहोरदोहोर गरेको देखिन्छ ।

अडुकियाले पछिल्लो १० वर्षमा कुन मुलुकको कति पटक यात्रा गरे भन्ने विवरण र उनका शंकास्पद गतिविधिबारे विभाग र प्रहरी दुवै निकायले सुन तस्करीको गिरोहसँग जोडेर अनुसन्धान गरिरहेका छन् ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार सन् २०१४ अप्रिल ५ देखि ०२३ जुलाई ५ सम्म अडुकिया भारतीय राहदानीबाटै १ सय ४२ पटक भारत, दुबई, हङकङलगायत देश गएको देखिन्छ । ती मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ४१ पटक फर्केका थिए, जसअनुसार उनले वर्षमा सरदर ३१ पटक त्रिभुवन विमानस्थल प्रयोग गरेको देखिन्छ ।

राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले साउन २ मा बरामद गरेको सुन रेडी ट्रेड कम्पनीका नाममा स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको थियो । विमानस्थलको भन्सार जाँचपासपछि सिनामंगल सडकमा पुर्‍याइएका बेला ब्रेक सु बरामद गरिएको थियो । त्यसलाई खोलेर हेर्दा करिब एक क्विन्टल सुन पाइएको हो । हङकङबाट इलेक्ट्रोनिक्स लाइटको आवरणमा कार्गो गरी ल्याइए पनि विमानस्थलबाट भन्सार पास गराउँदा ब्रेक सु उल्लेख गरिएको थियो । ब्रेक सुमा रहेको सुन अडुकियाले नेपालमा व्यवस्थापन गरी भारतसम्म पुर्‍याउने जिम्मा लिएको आशंका छ ।

क्विन्टल सुन बरामदपछि राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी, ४ भन्सार एजेन्ट, रेडीका सञ्चालक र उनका एक आफन्त, २ विदेशी (भारतीय र चिनियाँ) सहित शंकास्पद १७ जनालाई पक्राउ गरिसकेको छ । बूढानीलकण्ठमा कार्यालय रहेको रेडी ट्रेडका सञ्चालक दिलीप भुजेलले बयानमा तस्करी प्रकरणमा अडुकियाकै योजनामा काम भएको संकेत गरेका छन् । अडुकिया अहिले कहाँ छन् भन्नेबारे विभागका अधिकारीले केही बताउन चाहेनन् । अनुसन्धानकै क्रममा विभागका कर्मचारी र प्रहरीको संयुक्त टोलीले कमलपोखरीस्थित अडुकियाको घरमा छापा मारेर केही कागजात, ल्यापटपलगायतका उपकरण बरामद गरिसकेको छ ।

६६ कार्टुनबाट सुन निकालेर पुनः प्याकिङ

राजस्व अनुसन्धान विभाग, राजस्व प्रहरी (सशस्त्र प्रहरी) र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार चिनियाँ गिरोहको सेल्टर रहेको ठमेलस्थित घरमा छापा मारेर ६६ कार्टुन ब्रेक सु बरामद गरेको थियो । तीमध्ये आधाजसो कार्टुन खोलिएको अवस्थामा थिए । खोलिएका कार्टुनभित्रका ब्रेक सुबाट सुन निकालिएको पाइएको थियो । बन्द कार्टुनमा रहेका ब्रेक सुमध्ये पनि अधिकांशबाट सुन निकालेर दुरुस्तै प्याकेजिङ गरिएको थियो ।

ठमेलबाट बरामद ६६ कार्टुनमा करिब १ हजार ३ सय थान ब्रेक सु थिए । एक कार्टुनमा सरदर २० वटाका दरले ब्रेक सु भित्र्याइएको देखिन्छ । ठमेलबाट बरामद ब्रेक सुको तौल सरदर साढे ४ सय ग्रामका छन् । यसअघि भन्सार जाँचपछि बाहिरिएको सुनसहितको एउटा ब्रेक सुको तौल सरदर १ केजी थियो । ‘सबै ब्रेक सुमा सुन थियो–थिएन भन्नु भन्दा पनि कार्टुनका सबै ब्रेक सु खोलेर खोक्रो बनाइनुले सुन गालेर निकालेको देखिन्छ । कतिपय ब्रेक सुका खोक्रामा सुनका सबुत पनि देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘यसले के संकेत गर्छ भने ठमेलबाट बरामद कार्टुनभित्र आशंका गरिए जस्तै गरी सुन आएको भए यो ७ क्विन्टलभन्दा बढी हुन आउँछ ।’ बुधबार छापा मार्ने क्रममा ब्रेक सुका खोक्रासँगै सुन जोख्ने तुलो, ढक र सुन गाल्ने उपकरण पनि फेला परेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर