नेभिगेसन मेनु

प्रदेश सभा बैठक आज बस्दै
सम्पादक:南亚网络电视
समय:2023-06-28 12:37

Pradesh-Photo

हेटौँडा, असार १३ गते । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण स्थागित भएको बागमती प्रदेश सभा बैठक आज (बुधबार) बस्ने भएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट छलफल अगाडि बढाउने क्रममा एमाले र राप्रपाका प्रदेश सभा सदस्यले अवरोध सिर्जना गरेपछि मङ्गलबार दिउँसोको बैठक स्थगित गरी साँझ पौने ६ बजेका लागि बोलाइएको थियो । तर एमाले र राप्रपाले बजेटप्रति असन्तुष्टि जनाउँदै बैठक बस्न नसक्ने बताएपछि आज बस्ने गरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताबीच छलफल भएको थियो ।

यसअघि सोमबार बसेको कार्य व्यवस्था समिति बैठकले समेत मङ्गलबारबाट बजेटमाथि छलफल गर्ने कार्य सूची तय गरेको थियो ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य छिरिङदोर्जे लामाले ११ बजेबाट बजेटमाथि छलफल गर्ने गरी बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँले प्रदेश सभा बैठकभन्दा पहिले दलका नेताहरुबीच बजेटमाथिको छलफल अगाडि बढाउने बारेमा छलफल हुने बताउनुभयो ।

बैठक अघि दलहरुबीच सहमतिको प्रयास गरिने भएको छ । बजेटमा एमाले र राप्रपाको माग अनुसार सम्बोधन र सहमति जुट्न नसकेमा पुनः बैठक स्थगित हुने सम्भावना रहेको छ ।

एमाले र राप्रपाले संसदीय दलले बजेट मुख्यमन्त्री र मन्त्रीहरुको जिल्लामा केन्द्रिकृत गरेर आएको आरोप लगाएका छन् ।

प्रदेश सभाको मङ्गलबार बसेको बैठकमा बजेटमाथिको छलफल सुरु गर्न लाग्दा अवरोध गर्दै एमाले र राप्रपाका प्रदेश सभाका सदस्यहरुले धादिङ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा बढी बजेट विनियोजन गरेको प्रति आपत्ति जनाएका हुन् ।

बैठकमा बोल्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट पुनर्लेखन गर्न माग गर्नुभएको थियो ।

धादिङ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा मात्र कुल विकास बजेटको सात अर्ब रुपियाँ हाराहारी अर्थात कुल बजेटको २१ प्रतिशत बजेट विनियोजन भएको भन्दै उहाँले डिप बोरिङ्ग र पहिरो नियन्त्रण, सडक निर्माणका लागि पाँच लाख रुपियाँ बजेट विनियोजन गर्नु लज्जाजनक र गैर जिम्मेवारपूर्ण कार्य भएको बताउनुभयो ।

प्रमुख विपक्षी दलसँग योजना माग गरेर पनि समावेश नगरेको बताउँदै उहाँले अगाडि भन्नुभयो अधिकांश योजना चिर्कटोमा दिएका आधारमा बजेटमा समावेस गरिएका छन् ।

यसअघि प्रदेश सभाको मङ्गलबारको दोश्रो बैठक सुरु भएलगत्तै एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यहरु बजेट अन्यायपूर्ण ढङ्गले आएको भन्दै उठेर आपत्ति जनाएका थिए । एमाले र राप्रपाका प्रदेश सभाका सदस्यहरुको विरोधका बीच प्रदेश सभाका प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले आगामी आवको बजेटमाथि सामान्य छलफल गरियोस् प्रस्ताव राख्नुभएको थियो ।

विपक्षी दलको निरन्तर विरोधपछि सभामुख भुवनकुमार पाठकले थपलियालाई बोल्न समय दिनुभएको थियो । थपलियाले बोलेर टुङ्ग्यापछि सन्तुलित ढङ्गले आउनु पर्ने अन्यथा बजेटको छलफलको प्रक्रिया अगाडि बढ्न नसक्ने भन्दै एमाले र राप्रपाका प्रदेश सभाका सदस्यहरुले बैठक अवरोध गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर