नेभिगेसन मेनु

खानेपानीकै पिरलो
सम्पादक:南亚网络电视
समय:2023-06-08 13:32

Untitled-1 (20)

रामेछाप, जेठ २५ गते । रामेछापको मन्थली नगरपालिका–१२, गेलुका बासिन्दालाई खानेपानीको पिरलो छ। यहाँका बासिन्दा एक गाग्री पानीका लागि रातको निद्रा माया मारेर घण्टौँ पालो कुर्न बाध्य छन्। खानेपानीकै लागि बेलामा पकाएर खान नपाउने र विद्यार्थी समयमा विद्यालय पुग्न नसक्ने स्थिति छ। 

हिउँदका बिहान एक गाग्री पानीमा नै बित्ने स्थानीय मैया अछामीले बताउनुभयो। “हाम्रो गाउँमा खानेपानीको ठुलो समस्या छ, भएका मुहान सबै सुकिसके, अलिअलि पानी भएको सिमलबोटे पँधेरोमा पनि एक गाग्री पानीका लागि घण्टौँ लाइन बस्नुपर्छ,” उहाँले भन्नुभयो। 

पानी थाप्न पालो कुर्दा ढिला भएर कहिलेकाहीँ त विद्यालय नै छुट्ने गरेको कक्षा १० मा अध्ययनरत मञ्जु अछामीले बताउनुभयो। “एक गाग्री पानीका लागि पँधेरोमा घण्टौँ लाइन बस्नुपर्छ, पालो आएपछि पानी लिएर घर पुग्दा स्कुल जान ढिला भइसकेको हुन्छ,” उहाँले भन्नुभयो। 

गेलुको सिमलबोटे पँधेरो अहिले पनि ४० भन्दा बढी घरधुरीको पानी भर्ने पँधेरो हो। यहाँका पहरी टोल, मिजार टोलको खानेपानी समस्या टार्ने एक मात्रै सिमलबोटे पँधेरो हो। वर्षामा ठुलो धारो हुने भए पनि अहिले सुकेर तिरतिरे धारोमा परिणत भएको छ। खानेपानीको अर्को विकल्प नभएका कारण स्थानीयले पानी भर्न लामो समय पालो बस्नुपर्ने बाध्यता छ। 

पानीको साना मूल सुक्दै गएका कारण खानेपानीको समस्या भएको वडा नं. १२ का वडाध्यक्ष खिलेन्द्र खत्रीले बताउनुभयो। “गाउँमा खानेपानीको ठुलो समस्या छ, तामाकोशी नदीको पानी लिफ्ट गरेर गाउँमा पु-याउने योजना अगाडि बढेको भए पनि सो योजना कहिले पूरा हुने हो कुनै निश्चित भएन,” उहाँले भन्नुभयो। गेलुवासीलाई खानेपानी पु-याउन लामो समयदेखि लिफ्ट खानेपानी योजना सुरु भए पनि निर्माण कम्पनीले योजनाको काम अलपत्र अवस्थामा छाडेको उहाँको भनाइ छ। 

गाउँघरमा भएका पानीका साना मुहान सुक्दा मन्थली नगरपालिकासहित रामेछापका धेरै गाउँका बासिन्दालाई खानेपानीको पिरलो छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकाका अधिकांश वडामा खानेपानीको समस्या छ। यी क्षेत्रका बासिन्दा नदी र खोलाबाट लिफ्ट गरेर तानेको पानीमा आश्रित हुनुपरेको छ तर लिफ्ट गर्न धेरै खर्च लाग्ने भएकाले खानेपानी समस्या बनेको हो। 

मन्थली नगरपालिकाको सदरमुकाम मन्थली बजारदेखि धेरै वडाका बस्तीमा तामाकोशी पानी लिफ्ट गरेर खानेपानी पु-याइएको छ। मन्थली नगरपालिकाको वडा नं. ७ भटौली, वडा नं. ८ चिसापानी र वडा नं. ९ पुराना गाउँका दुई हजार एक सय घरधुरीलाई खानेपानी पु-याउन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत ४९ करोड रुपियाँ लगानीमा अहिले बृहत् लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ। 

खाँडादेवी गाउँपालिकाले पनि सुनकोशी, तामाकोशी र भटौली खोलाकै पानी लिफ्ट गरेर स्थानीयको आँत भरेको छ। रामेछाप नगरपालिकाका कतिपय वडाका लागि सुनकोशीको पानी तान्ने काम चलिरहेको छ। 

नगरपालिकाले शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो। “आफ्नो कार्यकालभरि कम्तीमा नगरका प्रत्येक घरमा धारो पु-याउने योजना छ, तथापि यसका लागि नगरले अझै धेरै काम गर्न बाँकी छ,” उहाँले भन्नुभयो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर