‘ग्रामीण पर्यटनको नमूना पाठशाला’ का रूपमा स्थापित स्याङ्जाको सिरुबारीले पर्यटन शुभारम्भको २५ वर्ष पुगेका अवसरमा धुमधामसँग रजत महोत्सव मनाउँदैछ।
सिरुबारी सामुदायिक होमस्टेको आयोजनामा फागुन ५ र ६ गते सिरुबारी गाउँमा विभिन्न कार्यक्रम हुँदैछ।
होमस्टेका अध्यक्ष मोहन बहादुर गुरूङ (जितेन्द्र) काअनुसार पर्यटन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिनेछ। उक्त अवसरमा ग्रामीण पर्यटनबारे विमर्श, सांस्कृतिक कार्यक्रम, सम्मानलगायतका गतिविधि हुनेछन्।
कार्यक्रमको रौनक बढाउन कृष्ण कँडेलको इन्द्रेणी समूहले फागुन ४ र ५ गते सांगीतिक प्रस्तुति समेत दिनेछ।
‘सिरुबारीको पर्यटनमा हालसम्म योगदान पुर्याउने व्यक्ति र संस्थालाई हामी सम्मान गर्नेछौं,’ गुरुङले भने, ‘त्यति मात्र होइन उत्कृष्ट होमस्टे तथा ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार पनि प्रदान गर्नेछौं।’
सिरुबारी मुलुककै पहिलो पर्यटन गाउँ हो। नेपालमा सामुदायिक होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास सिरुबारीबाटै शुभारम्भ भएको इतिहास छ। भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवम् अगुवाइमा सिरुबारीलाई पर्यटन गाउँ बनाइएको हो।
होटल/रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउँछन्। पाहुनालाई बाँडेर गाउँलेका घरघरमा राख्दा सबैलाई फाइदा पुग्छ। सबैले कमाइ गर्ने अवसर पाउँदा समाजमा शान्ति हुन्छ। यही सत्य बुझेर क्याप्टेन रुद्रमानले जन्मथलो सिरुबारीमा सामुदायिक होमस्टे शुभारम्भ गरेका थिए।
रुद्रमानले भारतीय सेनाको जागिरमा छँदै वि.सं २०२५ सालमै सिरुबारीमा पर्यटनको फूल फुलाउने सपना देखेका थिए। पछि उनले वि.सं. २०४८ देखि पर्यटन पूर्वाधार विकासका काम गरे। अनि वि.सं. २०५४ कात्तिक २३ देखि सामुदायिक होमस्टेमा पाहुना राख्न सुरु गरिएको थियो।
राज्यले भन्दा धेरै वर्ष पहिले नै क्याप्टेन रुद्रमानले नेपालमा सामुदायिक होमस्टेसहित ग्रामीण पर्यटनको फूल फुलाएका थिए। नेपाल सरकारले वि.सं. २०६७ मा ल्याएको ‘होमस्टे सञ्चालन कार्यविधि’ले मात्र पहिलो पटक होमस्टेलाई सम्बोधन गर्यो।
गण्डकी प्रदेश, स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं १ मा पर्दछ सिरुबारी गाउँ (१,६१० मिटर)। गाउँका ४३ मध्ये २० घरमा होमस्टे सुविधा छ।
पाहुनाका लागि व्यवस्थित कोठा छुट्टयाइएका छन्, जहाँ आरामदायी पलङ, सेतो तन्ना, सफा सिरक, डसना, ऐना, टावललगायत सुविधा पाइन्छ। साथमा तातो र चिसोपानी सहितका बाथरुम र चर्पी पनि छन्। फ्रि वाईफाई, सोलार बिजुली, सि.सि. क्यामेराको पनि व्यवस्था गरिएको छ।
सिरुबारीमा प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, ग्रामीण जीवनशैली र गाउँलेको आत्मीय व्यवहार एवम् मिठो खानाले सबैलाई लट्ठै बनाउँछ। त्यसैले सिरुबारीमा पुग्दा तन र मनमा रिचार्ज हुन्छ। जीवनमा ऊर्जा बढ्छ।
सिरुबारी आफैंमा एउटा सुन्दर बगैंचा हो। यसको वरपर रहेका हरिया डाँडापाखा र गाउँबस्तीले पनि मन लोभ्याउँछन्।
गाउँलेपन यहाँको मुख्य आकर्षण हो। साथै गुरुङ संस्कृति, सामुदायिक जङ्गल, गुम्बा, सङ्ग्रहालय, ओलिवास डाँडा, डहरे देउराली, थुम्रो जुरो, पिकनिक स्पट, खेतीबारीलगायत सम्पदामा पर्यटक रमाउँछन्।
सिरुबारी ‘ग्रामीण पर्यटनको एक नमुना पाठशाला’का रुपमा चम्किसक्यो। यहाँबाट सिकेर नेपालका धेरै ठाउँमा ग्रामीण पर्यटनको अभ्यास भइरहेको छ। ठाउँठाउँमा सामुदायिक होमस्टे खुलेका छन्।
सिरुबारीको विकासमा बुद्ध आमा समूह, नव युवा क्लब, धर्मोदय सभा, बाबा समूह र सिरुबारी सामुदायिक होमस्टे क्रियाशील छन्।
कसरी पुग्ने ?
काठमाडौं–पोखरा २०० किलोमिटर, बसमा ६ घण्टा अथवा हवाईयात्रा २५ मिनेट । पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जाको नाउडाँडासम्म २५ किलोमिटर सडक यात्रा । पोखराको पृथ्वीचोकबाट नाउडाँडा हुँदै सिरुबारीसम्म सार्वजनिक बस तथा जिप चल्छन् । मोटर बाइकमा पनि जान सकिन्छ ।
नाउडाँडा–सेती दोभान–बेजाङ– सिरुबारी–१९ किलोमिटर ।
नाउडाँडा–बाडखोला–सतौं–दरौं–सिरुबारी ३५ किलोमिटर ।
नाउडाँडा–जुग्ले–कार्कीनेटा–सिरुबारी ३८ किलोमिटर ।
स्याङ्जा बजार–हेलु–अर्जुनचौपारी–सिरुबारी १८ किलोमिटर ।
सम्पर्क
सिरुबारी सामुदायिक होमस्टे
फोन: ९७४५९९६४२४ र ९८१८३५४८६४
हेर्नुहोस् केही तस्बिरहरू