
काठमाडौँ, असार २१ गते । बिहानको घाम बिस्तारै चर्किंदै थियो । गोदावरी नगरपालिका–१४ को ठैवस्थित विष्णुदेवी मन्दिरपरिसरमा तरकारीका हरिया डोका, ताजा फलफूल, अचारका बट्टा, फूलका गुच्छा र जडीबुटीजन्य चियाका प्याकेट सजिएका थिए ।
बजारमा आएका ग्राहक एक स्टलबाट अर्को स्टलमा पुग्दै उत्पादन नियालिरहेका थिए । कसैले गोलभेँडा छामेर हेर्थे, कसैले ताजा सागको गन्ध लिन्थे । विक्रेताका अनुहारमा भने छुट्टै चमक थियो । उनीहरू केवल सामान बेचिरहेका थिएनन्, आफ्नै सङ्घर्ष र सफलताको कथा सुनाइरहेका थिए ।
तीमध्ये एक हुनुहुन्थ्यो, नीरा सार्की । केही वर्षअघिसम्म उहाँको दैनिक जीवन इँटा उद्योगवरिपरि घुम्थ्यो । श्रीमान् दिनभरि श्रम गर्थे, उहाँ घरको काम र बालबालिकाको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो । परिवारको सम्पूर्ण खर्च श्रीमान्को आम्दानीमा निर्भर थियो । महिनाको अन्त्यसम्म पुग्दा पैसा सकिन्थ्यो, आवश्यक सामान किन्नसमेत कठिन हुन्थ्यो । बजारमा तरकारीको मूल्य बढ्दा घरको भान्सामा त्यसको प्रत्यक्ष असर पथ्र्यो । “त्योबेला आफ्नो आम्दानी भन्ने केही थिएन,” उहाँ सम्झनुहुन्छ, “घर चलाउन श्रीमान्को कमाइ मात्रै भर पर्नु पथ्र्यो ।”
यो कथा नीराको मात्र होइन, गोदावरी क्षेत्रका धेरै श्रमिक परिवारको साझा यथार्थ थियो । विशेष गरी इँटा उद्योगमा काम गर्ने परिवारका महिला आर्थिक गतिविधिबाट लगभग टाढै थिए । उनीहरूसँग सिप थिएन, अवसर थिएन र बजारसम्म पहुँच पनि थिएन ।
महिलालाई जीविकोपार्जनमा जोड्न संरक्षण तथा विकास संस्था (सिडिओ) नेपालले गोदावरी नगरपालिका–१४ मा २७ परिवार समेटेर महिलामुखी तरकारी खेती सुरुवात कार्यक्रम सुरु ग¥यो । खेतीसम्बन्धी तालिम, बिउबिजन, प्राविधिक सहयोग र आवश्यक सामग्री उपलब्ध गरायो । परिवारकै स्वास्थ्य बिमाका लागि रकम उपलब्ध गरायो । धेरै महिलाले पहिलो पटक व्यवस्थित रूपमा खेती गर्न सिके । कसैले बिउ कसरी रोप्ने भन्ने जानेका थिएनन्, कसैले माटो व्यवस्थापन र सिँचाइको आधारभूत ज्ञान पनि पाएका थिएनन् तर सिक्ने इच्छा बलियो थियो ।
घरछेउका साना करेसाबारीबाट सुरु भएको प्रयासले बिस्तारै आकार लिन थाल्यो । सुरुमा परिवारका लागि मात्रै उत्पादन गरिएको तरकारीले केही महिनामै घरको आवश्यकता धान्न थाल्यो । त्यसपछि बचेको उत्पादन छिमेकीलाई बेच्न थालियो । क्रमशः उत्पादन बढ्दै गयो र महिलाले आफ्ना तरकारी बिक्री गरेर आम्दानी गर्न थाले ।
“सुरुमा हामीलाई आफ्नै घरमा खान पुग्ला कि नपुग्ला भन्ने चिन्ता हुन्थ्यो,” चिनीमाया तामाङ भन्नुहुन्छ, “अहिले भने बेच्नका लागि पनि पर्याप्त उत्पादन हुन्छ ।” उत्पादन बढेपछि अर्को चुनौती देखा प¥यो बजार । किसानले मेहनत गरेर उत्पादन त गर्थे तर उचित मूल्यमा बिक्री गर्ने ठाउँको अभाव थियो । अधिकांशले थोक व्यापारीलाई सस्तो मूल्यमा उत्पादन बेच्न बाध्य हुनु पथ्र्यो । त्यसैले किसानको मेहनत अनुसारको प्रतिफल प्राप्त हुँदैनथ्यो । यही समस्याको समाधान खोज्दै सिडिओ नेपाल र गोदावरी नगरपालिका–१४ ले संयुक्त रूपमा किसान बजार (हाटबजार) सञ्चालन गर्ने निर्णय गरे ।
हाटबजारको अवधारणा सरल थियो, उत्पादक र उपभोक्तालाई सिधै जोड्ने । किसानले आफ्नो उत्पादन प्रत्यक्ष रूपमा ग्राहकसम्म पु¥याउने र उचित मूल्य पाउने । ग्राहकले पनि ताजा र स्थानीय उत्पादन खरिद गर्ने । सिडिओ नेपालकी अनिशा मैनालीका अनुसार हाटबजारले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएको छ । “हामीले स्थानीय किसान र उद्यमीलाई बजारसँग जोड्ने उद्देश्यले यो पहल गरेका हौँ,” उहाँ भन्नुहुन्छ, “पहिलो चरणमै उपभोक्ताको उत्साहजनक सहभागिता देखियो । यसले किसानलाई थप ऊर्जा दिएको छ ।”
हाटबजारमा जैविक तरकारी, फलफूल, फूल, जडीबुटीजन्य क्यामोमाइल चिया, घरमै बनाइएका अचार तथा स्थानीय रूपमा उत्पादित अगरबत्ती बिक्रीका लागि राखिएका थिए । स्थानीय उत्पादनको ताजापन, उचित मूल्य र गुणस्तरले ग्राहकलाई आकर्षित ग¥यो ।
“मानिसहरू ताजा र विषादीरहित उत्पादन खोजिरहेका छन्,” चिनीमाया तामाङले भन्नुभयो, “हामीले उत्पादन गरेको सामानको माग बढेको देख्दा थप उत्साह मिलेको छ । एक किलो लोकल काँक्रो एक सय रुपियाँसम्म सहजै बिक्री हुने पो रहेछ ।”
हाटबजारमा सहभागी किसान नीरा सार्कीका लागि भने यो दिन विशेष थियो । उहाँले पहिलो पटक आफ्नै उत्पादन प्रत्यक्ष रूपमा बिक्री गर्नुभयो । व्यापारपछि उहाँले महसुस गर्नुभयो, मेहनतको मूल्य आफूले सोचेको भन्दा बढी रहेछ । गोदावरी नगरपालिका–१४ का वडाध्यक्ष निरोज वज्राचार्यले हाटबजार केवल व्यापारिक गतिविधि मात्र नभएर स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने माध्यम भएको उल्लेख गर्नुभयो ।
“यसको सुरुवात निकै उत्साहजनक भएको छ,” उहाँ भन्नुहुन्छ, “आगामी दिनमा यस्ता बजार नियमित रूपमा सञ्चालन गर्ने योजना छ । यसले महिलालाई परिवारको आर्थिक आधार बलियो बनाउन र स्वस्थ तथा समृद्ध भविष्य निर्माण गर्न सहयोग पु¥याउने छ ।”


















