
ढाका । बंगलादेशमा हिन्दु समुदायमाथिको हिंसा रोकिएको छैन । पछिल्लो घटनामा झेनाइदह जिल्लाको कालीगञ्ज इलाकामा ४४ वर्षीया एक हिन्दु विधवा महिलामाथि सामूहिक बलात्कार भएको छ ।
आरोपितहरूले बलात्कारपछि महिलालाई रूखमा बाँधेर कुटपिट गर्नुका साथै उनका कपाल काटिदिएर पूरै घटनाको भिडिओ पनि बनाएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
पीडित महिलाले सोमबार दिउँसो कालीगञ्ज प्रहरी चौकीमा ४ जनाविरुद्ध उजुरी दर्ता गराएकी छन् । प्रहरीले यस मामिलामा एक आरोपित हसन नाम गरेका ४५ वर्षीय एक व्यक्तिलाई हिरासतमा लिएको छ, जो सोही इलाकाका बासिन्दा हुन् ।
प्रहरी र स्थानीय मानिसका अनुसार महिलाले करिब दुई वर्षअघि आरोपी शाहीनका भाइबाट सोही गाउँमा एक घर र जग्गा किनेकी थिइन् । त्यस समयदेखि नै शाहीनले उनलाई लगातार पैसा माग्दै र विभिन्न तरिकाले दुःख दिँदै आएका समाचारमा उल्लेख छ ।
ती महिलाका दुई पुरुष नातेदार शनिबार साँझ उनलाई भेट्न आएका थिए । त्यसै बेला शाहीन र हसन जबरजस्ती घरमा प्रवेश गरे । उनीहरूले महिलाका नातेदारलाई एक कोठामा बन्द गरेर महिलालाई अर्को कोठामा लगेर सामूहिक बलात्कार गरेको आरोप छ ।
त्यसपछि आरोपितहरूले महिला र उनका नातेदारहरूलाई घरबाट बाहिर घिसारेर रूखमा बाँधिदिए र उनीहरूमाथि अश्लील तथा अनैतिक गतिविधिहरूको झूटा आरोप लगाए । शनिबार राति स्थानीयहरूले ती महिलालाई गम्भीर अवस्थामा देखेर अस्पतालमा भर्ना गराएका थिए । महिला सोही गाउँमा आफ्नो १० वर्षीय छोरासँग बस्दै आएकी छन् ।
१८ दिनमा चार हिन्दुको हत्या
यसैबिच बंगलादेशमा १८ दिनमा चार जना हिन्दुको हत्या भइसकेको छ ।
पछिल्लो हत्या जेसोर जिल्लाको मोनिरामपुर इलाकाको कोपालिया बजारमा भएको हो । सोमबार साँझ एक हिन्दु व्यापारीको गोली हानी हत्या गरिएको छ । मृतकको नाम राणा प्रताप बैरागी थियो र उनको उमेर ३८ वर्ष थियो । उनी विगत दुई वर्षदेखि त्यहाँ बरफ बनाउने एउटा कारखाना चलाउँदै आएका थिए ।
स्थानीय मानिसहरूका अनुसार साँझ करिब ६ बजे केही व्यक्तिले राणा प्रतापलाई उनको काम गर्ने ठाउँबाट बाहिर बोलाए र नजिकैको गल्लीमा लगे । त्यहाँ अचानक उनीहरूमाथि थुप्रै गोली प्रहार गरिएको थियो, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार आक्रमणकारीहरू मोटरसाइकलमा आएका थिए र उनीहरूले राणा प्रतापसँग केहीबेर कुरा गरेपछि टाउकोमा थुप्रै गोली हानेका थिए । प्रहरीले घटनास्थलबाट सात खाली गोलीका खोका बरामद गरेको थियो ।
यसअघि पनि डिसेम्बर १८ मा दीपु चन्द्र नाम गरेका एक पुरुषको हत्या भएको थियो । त्यसपछि पनि डिसेम्बर २४ मा भिडले एक हिन्दु युवकलाई कुटपिट गरी मारेको थियो भने डिसेम्बर २९ मा अर्का एक हिन्दुको पनि हत्या गरिएको थियो ।





