नेभिगेसन मेनु

कर्णाली राजमार्ग: पहिरोले स्याउ किसान मर्कामा
सम्पादक:南亚网络电视
समय:2024-09-01 12:53

1725164589_op vas-1200x560

जुम्लाको गुठिचौर गाउँपालिका–४ का लालचन्द सार्कीले बिहीबार नेपालगन्ज ढुवानी गरेको दुई ट्रक स्याउ बाटामै अलपत्र परेको छ। आफ्नै बारीको स्याउ बोकेका ट्रक कर्णाली राजमार्गको कालीकोट खण्डको एसमोडदेखि दैलेखको खिड्कीज्युलासम्मको पहिरोका कारण कालीकोटको खाँडाचक्र नगरपालिका–३ ताडीको बसपार्कमै अलपत्र अवस्थामा रोकिएका हुन्।

‘गगने खोलामा खसेको पहिरोले सडकको नामोनिसान नै नरहने गरी बगाएको खबर सुनिएको छ,’ उनले भने, ‘कहिले सडक खुल्छ र स्याउ बजारसम्म पु¥याउने भन्ने चिन्ता छ।’

उनका अनुसार सडकमा पहिरो जानेबित्तिकै स्याउको मूल्य किलोमा १० रूपैयाँ घटेको छ। दुई दाजुभाइको गरी चार ट्रक स्याउ लिई जुम्लादेखि कालिकोट पुगेका उनीहरू अहिले सडक बन्दले स्याउ कुहिने चिन्तामा छन्।

बुधबारदेखिको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि चार दिनदेखि गाडी पनि बाटामै रोकिएका छन्। उनका अनुसार एक हप्तासम्म पनि सडक नखुले स्याउ कुहिन्छन्। उनले जुम्लाका ८० प्रतिशत किसानको स्याउ बाटामै रोकिएको बताए।

यो पटक जुम्लामा १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएकामा १० हजार मेट्रिक टन निर्यात हुने प्रक्षेपण गरिएको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार हरेक वर्ष सडकले जुम्ली किसानलाई धोका दिँदै आएको छ। स्याउ बेचेर किसानले करिब ४० करोड रूपैयाँ जुम्ला भित्र्याउने लक्ष्य राख्ने गरेका छन्।

जुम्लामा चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा स्याउ रोपिएको छ। यस्तै कालीकोटको स्याउले पनि बजार नपाउने भएको छ। सडक बन्दले किसानलाई सास्ती दिएको हो।

कालीकोटका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीका अनुसार कालीकोट खण्डमा मात्रै ४५ वटा स्याउका गाडी रोकिएका छन्। पहिरो पन्छाउने काम भइरहे पनि अझै कति समय लाग्ने भन्ने यकिन नभएको उनको भनाइ छ।

सडकभरि पहिरो

कालीकोटको हुल्म, कालेखोला, एस मोड, गगनेखोला, दैखोला, सिराडी, दैलेखको किटु, मालाचौरलगायत ठाउँमा पर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको गगनेखोलामा पूरै सडक भत्किएको छ भने कालीकोट र दैलेखको सिमाना दैखोलामा पक्की पुलसहित क्षति भएको छ। दैखोलामा बाढीसहितको पहिरोले पुल बगाएको छ भने पुलको छेउबाट कटान गरेर खोला बगिरहेको छ।

गगनेखोलामा गत वर्ष सडक विभागले ठेक्कामार्फत लगाएको चार करोड ५० हजार रूपैयाँ लागतमा लगाइएको पर्खालसहितको ग्याबिन भत्किएर सडक पूरै अवरुद्ध छ। सडक एकतर्फी सञ्चालन गर्न कालीकोट खण्डमा मात्र सहज भएको प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए।

‘सडकको अवस्था भयावह छ,’ उनले भने, ‘कालीकोटको दैखोलादेखिसम्म धेरै ठाउँको पहिरो पन्छाइएको छ। सडक सञ्चालन गर्न कम्तीमा अझै दुई दिन लाग्छ।’

उनका अनुसार दैलेख खण्डको मालाचौरदेखि दैखोलासम्म मात्र ११ ठाउँमा पहिरो छ। मालाचौर, सिराडी, किटु, घट्टे खोलासहितका ठाउँमा सडक बगेको छ।

यात्रुलाई सास्ती, स्याउ कुहिने चिन्ता

पहिरोले सडक अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ। कर्णाली राजमार्ग हुँदै दैनिक यात्रा गर्ने तीनदेखि पाँच सय यात्रुहरू पैदल हिँड्न बाध्य छन्। उनीहरू गगने खोलादेखि खिड्कीज्युलासम्म पैदल हिँडेर अर्को साइडमा हुने गाडी चढेर गन्तव्यमा जाने गर्छन्। ‘मान्म पुग्ने भनेर सुर्खेतबाट हिँडेको हो,’ हुरेन्डेक नेपालका कालीकोटका अध्यक्ष जजराज शाहीले भने, ‘हिँडेर जिते आइयो।’

दुई दिन कोल्टीमा जहाज कुर्दा नआएपछि कर्णाली करिडोर हुँदै सुर्खेत जान आएका बाजुरा कार्तिकस्वामी–४ का अदाने कैलाले बाटामा निकै दुःख पाइएको गुनासो पोखे। ‘बाजुराबाट कालीकोट पुग्नै तीन दिन लाग्यो,’ मिर्गौलाका बिरामी ८५ वर्षीय बुवाको उपचार गर्न हिँडेका कैलाले भने, ‘अस्पताल पुग्नै एक हप्ता लाग्ने भयो।’

उनले बाजुराबाट कालीकोटको जितेसम्म एम्बुलेन्सलाई १० हजार रूपैयाँ तिरेको सुनाए। कर्णाली राजमार्ग हुँदै सुर्खेत लैजान जुम्ला, कालीकोटको फोइमहादेव, रास्कोटलगायत ठाउँबाट मिनी ट्रक र एलपी ट्रकमा लोड गरेर ल्याएको स्याउ कुहिने चिन्ताले व्यवसायीलाई सताएको छ।

जुम्लाबाट स्याउ बोकेर आएका ४५ वटा गाडी ट्राफिक प्रहरीले कालीकोटको ताडी बसपार्कमा पार्किङ गरिराखेको छ। ‘ठुला गाडी ताडीमै रोकेका छौं,’ जिल्ला ट्राफिक इन्चार्ज प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले भने, ‘सुर्खेतबाट आएका गाडी राकम र खिड्कीज्युलातिरै रोकिएका छन्।’

उनले साना सवारी दिउँसोदेखि गगनेसम्म पठाएर यताबाट मेल गरी यात्रुलाई गन्तव्यमा पठाउन थालिएको बताए। २३२ किमि लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ। असारयता मात्र ४१ दिन अवरुद्ध भइसकेको छ।

१० करोडको पूर्वाधार क्षति

कालीकोटको गगने खोलामा आएको पहिरोले ५० मिटरको ग्याबिन वाल बगाएको छ। यस्तै जितेगडामा १५ मिटरको ग्याबिन वालका साथै दैलेखको आठबिस नगरपालिका–५ मालाचौरमा पनि १५ मिटर सडक बाढीपहिरोले बगाएको छ भने दही खोलाको पक्की पुलसमेत बगाएको छ।

सडक करिब १० करोड रूपैयाँबराबरको क्षति भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। कर्णाली राजमार्ग हुँदै कालिकोट, जुम्ला र मुगु पुगिन्छ भने कर्णाली राजमार्गपछि जोडिने कर्णाली करिडोरले कालीकोट हुँदै सुदूरपश्चिमको बाजुरा र कर्णालीको हुम्ला जिल्लालाई जोड्छ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतनकुमार मण्डलले वर्षाले कर्णाली राजमार्गमा ठुलो क्षति पुर्‍याएको बताए। उनका अनुसार दहीखोलाको पुलका साथै जितेगडा, गगने खोला, एस मोडलगायत ठाउँमा वर्षाले ठुलो क्षति पुर्‍याएको छ। सो पूर्वाधार तत्काल तयार गर्न आर्थिक भार परेको बताइएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर