नेभिगेसन मेनु

मनासलुमा दस हजार पर्यटक
सम्पादक:南亚网络电视
समय:2024-06-21 13:58

Paryetak-Manaslu

सुलीकोट, असार ७ गते  । गत वर्षको साउन महिनादेखि जेठसम्म मनासलु क्षेत्रमा झन्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । चुमनुब्री गाउँपालिकाका अनुसार उक्त अवधिमा नौ हजार ७६९ जनाले मनासलु क्षेत्र भ्रमण गरेका हुन् । 

मनासलु क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाएर अघि बढ्न लागिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अहिले बेनिघाट, आरुघाट र  लार्के सडकले नयाँ ट्र्याकमार्ग खोल्ने क्रममा पर्यटक हिँड्ने पैदलमार्ग मासिएकाले नयाँ पदमार्ग निर्माणलगायत पर्यटन विकासका लागि बृहत् गुरुयोजना बनाएर अघि बढ्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

मनासलु क्षेत्र पुग्ने पर्यटकका लागि चुमनुब्री गाउँपालिकाले रुबिनाला–दुधपोखरी वैकल्पिक मार्गका रूपमा विकास गरिएको र अन्य पदमार्ग निर्माणका लागि गाउँपालिका लागिपरेको उहाँको भनाइ छ । मनासलु क्षेत्रलाई देशकै पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले विभिन्न योजना निर्माण गरिरहेको छ ।  

केही समयअगाडि गाउँपालिकाले प्रदूषण तथा डढेलोमुक्त तथा सिसामुक्त पालिका घोषणा गरेको थियो । चुमनुब्री गाउँपालिकामा जैविक विविधताको खुला सङ्ग्रहालय मनासलु क्षेत्र रहेकाले पर्यटक बढ्नु स्वभाविक भएको उहाँको भनाइ छ । 

ऐतिहासिक र फरक भूगोलका कारणले पनि पर्यटक यो ठाउँमा आउने गरेका हुन् । उहाँका अनुसार पर्यटकीय पदमार्गमा पर्यटक सूचना केन्द्र व्यवस्थापन, ‘लोकेसन बोर्ड’ मर्मत तथा जडान, पदमार्गमा सरसफाइलगायतका काम भइरहेकाले आगामी दिनमा पर्यटक बढ्ने चुमनुब्री गाउँपालिकाले जनाएको छ ।

मर्मतपछि पुल सञ्चालन  

यसैबिच उत्तरी गोरखाको धार्चे गाउँपालिका–१, यारु बगरस्थित क्यान्टिलिभर पुल (भिर खोपेर बनाइएको) तीन वर्षपछि मर्मत भएपछि स्थानीय तथा पर्यटकलाई यात्रा गर्न सहज भएको छ । २०७८ सालमा आएको बुढीगण्डकीको बाढीले क्यान्टिलिभर पुलमा क्षति पु¥याउँदा त्यस पुलबाट तीन वर्षसम्म आवतजावत नै बन्द भएको थियो । 

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले धार्चे गाउँपालिकाको चालु आर्थिक वर्षमा छुट्याएको पाँच लाख बजेटबाट पुलमा ग्याबिन तथा सिँढी लगाएर फलामको रेलिङसहित क्यान्टिलिभर पुल मर्मत गरी असार महिनाबाट हिँड्न मिल्ने बनाएको जानकारी दिनुभयो । 

उहाँका अनुसार क्यान्टिलिभर पुलको बिच भागमा यारु भिरबाट झरेको ढुङ्गाले सामान्य क्षति पु¥याए पनि त्यसमा सहज यात्रा गर्न मिल्ने बनेको छ । उहाँले भन्नुभयो, “पुलको बेसमा ग्याबिन राखी ११/१२ वटा भ¥याङ राखेर रेलिङ हाली पुलमा हिँड्न मिल्ने बनाएका छौँ  ।” 

२०७२ साल वैशाख १२ गते भूकम्पले मनासलु पदमार्ग क्षतविक्षत बनाउँदा यारु भिरमा पदमार्गको ट्र्याकसमेत नरहेपछि भिरमा टाँसिएको नौलो प्रविधिको क्यान्टिलिभर पुल निर्माण भएको धार्चे गाउँपालिकाले जनाएको छ ।

धार्चे गाउँपालिकाको आग्रहमा युके एडको आर्थिक सहयोगमा बनेको ११५ मिटर लामो पुल २०७३ जेठबाट सञ्चालनमा आएको थियो । तल बुढीगण्डकी र माथि कहालीलाग्दो भिरको बिचको यारु भिरका भित्ता खोपेर फलामका बोल्टले जोडेर पुल निर्माण गरिएको थियो । 

धार्चे गाउँपालिकाका स्थानीय तथा चुमनुब्री गाउँपालिकाका स्थानीय बुढीगण्डकीको बगर भएर आउजाउ गर्दै आएका थिए । यो पुल मर्मतसम्भारसँगै मनासलु क्षेत्र पुग्ने पर्यटकलाई सहज भएकोे गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । मनासलु क्षेत्र घुम्न आउने पर्यटकको रोजाइमा क्यान्टिलिभर पुल पनि पर्दछ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर