मध्यरातमा प्योङयाङ पुगेर उत्तर कोरियाको भ्रमण थालेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली समकक्षी किम जोङ अनसँग भेटवार्ता भएको छ ।
वार्तामा उत्तर कोरियाले युक्रेन युद्धलगायतका रुसी नीतिहरूमा पूर्ण समर्थन गरेको छ । उत्तर कोरियाको उक्त समर्थनको कदर गर्दै रुसी राष्ट्रपतिले त्यहाँको सरकार र जनतालाई धन्यवाद दिएका छन् ।
राजधानी प्योङयाङमा भव्य स्वागतपछि पुटिनले ‘समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गरेका छन् ।
रुसी राष्ट्रपतिको आकस्मिक प्योङयाङ भ्रमणलाई अमेरिकालगायत विश्वका प्रभावशाली मुलुकका नेताहरुले निकै चासोका साथ हेरका छन् । पछिल्लो समय रुस, चीन र उत्तरकोरियाबीचको परम्परागत सम्बन्ध निकै कसिलो हुँदै गएको छ । युक्रेन युद्धपछि विश्व राजनीतिमा अमेरिका र रुस केन्द्रित दुई ध्रुवीकरण गहिरिएको छ ।