रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले मंगलबार जनाएको छ । पुटिन बिहीबारदेखि शुक्रबारसम्म बेइजिङ भ्रमणमा रहने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बताए ।
पुटिनको यो करिब ६ महिनाको अन्तरालतमा हुन लागेको दोस्रो चीन भ्रमण हो । पुटिन गत मार्चमा राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पहिलोपटक चीनबाट विदेश भ्रमण गर्दै छन् । युक्रेनमाथिको सैन्य आक्रमणपछि पश्चिमबाट अभूतपूर्व प्रतिबन्ध सामना गर्दा रुसको चीनमाथिको आर्थिक निर्भरता बढ्दै गएको विश्लेषकहरूले बताएका छन् ।
चीनले भने सस्तो रुसी ऊर्जा र पावर अफ साइबेरिया पाइपलाइनमार्फत स्थिर ग्यासमाथिको पहुँच हासिल गरेको छ । तथापि चीनले खुलेर रुससँग आर्थिक कारोबार भने गर्न सकेको छैन । विशेषतः रुस–चीनबीचको आर्थिक साझेदारी पश्चिमको कठोर निगरानीको दायरामा आउँदा चिनियाँ बैंकहरू अमेरिकी प्रतिबन्धमार्फत विश्वव्यापी वित्तीय प्रणालीबाट अलग हुन सक्ने डरमा छन् । ‘चीनले आफूलाई दिने समर्थन थप बढाओस् भन्ने रुस चाहन्छ, जसप्रति चीन अनिच्छुक छ । ऊ पश्चिमसँगको आफ्नो सम्बन्धलाई खतरामा पार्न चाहँदैन,’ कार्नेगी रुस युरेसिया केन्द्रका निर्देशक अलेक्जेन्डर गाबुयेभले भने ।
पश्चिमी प्रतिबन्दप्रतिको संशयका बाबजुद चिनियाँ भन्सार तथ्यांकअनुसार रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि चीन र रुसबीचको व्यापार बढेको छ । सन् २०२३ मा यी दुई मुलुकबीचको व्यापार दुई खर्ब ४० अर्बसम्म पुगेको छ । यद्यपि मस्कोका बैंकसँग कारोबार गर्ने वित्तीय संस्थाहरूलाई कारबाही गर्ने वाचा वासिंटनको चेतावनीपछि मार्च र अप्रिलयता चिनियाँ निर्यात घटेको छ । ठूला चिनियाँ बैंकहरू हालको आर्थिक कठिनाइलाई ध्यानमा राख्दै पश्चिमी प्रतिबन्धमा पर्न चाहँदैनन् ।
पुटिनको भ्रमण मुख्यतः प्रतीकात्मक हुने र यस क्रममा दुई मुलुकबीचको सम्बन्धको प्रशंसा हुने तर ठूला सम्झौता भने नहुने इंगित गरेका छन् । तथापि विश्लेषकहरूका अनुसार पश्चिमी चेतावनीको कारण हच्किएको भए पनि मस्कोप्रतिको बेइजिङको सहयोग साँचो देखिन्छ । चिनियाँ नीति–निर्माताहरू रुसलाई अमेरिकाको नेतृत्वको विश्व व्यवस्थाविरुद्धको संघर्षमा महŒवपूर्ण सहयोगीका रूपमा हेर्छन् ।