नेभिगेसन मेनु

मधेस प्रदेश : आज छैटौँ बलिदान दिवस
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2024-01-19 12:46

CM-Office-madesh-pradesh

माघ ५ गते । मधेस प्रदेशमा आज छैटाँै बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन् । 

विसं २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा  आन्दोलन गरिएको थियो । माघ २ गतेदेखि सुरु भएको सो आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको निधन भएको थियो । यसपछि मधेसभर आन्दोलन भएको थियो ।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो । सो आन्दोलनलाई मधेसवादीहरुले मधेस जनविद्रोहको सङ्ज्ञा दिने गरेका छन् । त्यही जगमा देशमा सङ्घीयता र संविधान आएको जनाउँदै मधेस प्रदेश सरकार गठन भएदेखि नै यहाँ सहिदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो । त्यसयता विसं २०७४ सम्म पटकपटक भएका मधेस आन्दोलनमा एक सय १७ जनाको ज्यान गएको मधेसवादी दलहरुले दाबी गर्दै आएका छन् तर मधेसी सहिद प्रतिष्ठानसँग ६३ जनाले सहादत प्राप्त गरेको र ७२  घाइते भएको तथ्याङ्क छ । बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर