नेभिगेसन मेनु

वन्यजन्तुबाट आफन्त गुमाए पनि संरक्षण अभियानमा
सम्पादक:南亚网络电视
समय:2023-07-08 12:38

thumb

बर्दिया — ठाकुरबाबा–९ हात्तीसारकी ५८ वर्षीया अमृता जैसीलाई २०६६ असोज २६ को रात सम्झिन पनि मन लाग्दैन । बर्दिया राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हात्तीको आक्रमणबाट त्यही रात श्रीमान् ओमप्रकाश जैसीको मृत्यु भएको थियो । उनी मध्यवर्ती क्षेत्र परिषद्का अध्यक्ष थिए ।

घटनाको केही दिनसम्म अमृतालाई जंगली जनावर सम्झेरै पनि रिस उठ्थ्यो । तिनैले आफ्नो सिउँदो पुछेका हुन् भनेजस्तो हुन्थ्यो । तर, अहिले उनी चोरीसिकार नियन्त्रण र वन्यजन्तु संरक्षणमा सक्रिय छिन् । १० वर्षयता वन्यजन्तुपीडित एकल महिला सञ्जालको अध्यक्ष रहेकी उनलाई कान्छा छोराले सघाइरहेका छन् ।

निकुञ्जबाट वन्यजन्तु बस्ती प्रवेश गरेर बालीनालीमा क्षति पुर्‍याउने त सामान्य नै भयो, मान्छेकै ज्यान लिन थालेपछि निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा संरक्षणप्रति बेलाबेला आक्रोश पोखिरहेका भेटिन्छन् । तर बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा भने फरक दृश्य देखिन्छ । किनकि वन्यजन्तुको आक्रमणबाट श्रीमान् गुमाएका महिला अचेल वन्यजन्तुपीडित एकल महिला सञ्जालमा आबद्ध भएर संरक्षण अभियानसँगै आर्थिक रूपमा तंग्रिने प्रयास गरिरहेका छन् । सञ्जालमा श्रीमान् गुमाएका अमृता जस्ता २६ महिला आबद्ध छन् । यतिमात्रै नभएर यहाँका युवाले चोरीसिकार नियन्त्रणका लागि गस्ती अभियानसमेत चलाइरहेका छन् ।

ठाकुरबाबा–९ हात्तीसारकी ५८ वर्षीया अमृता जैसी ।

त्यो रात अमृताका श्रीमान् ओमप्रकाश खाना खाइवरी सुतेका थिए । राति २ बजेतिर बारीमा हात्ती पसेको खबरले सिंगो गाउँवासीको निद्रा खलबलियो । छिमेकी घरमा सुतिरहेका कान्छाबुबालाई हात्तीबाट सतर्क हुन अनुरोध गर्दै ओमप्रकाश बारीतिर निस्के । चकमन्न रातमा एकैचोटि हात्तीले निकालेको ‘च्वाँ’ को चर्को आवाजले धेरैको ध्यान खिच्यो । ‘अनौठो आवाज सुनेपछि गोठबाट खर तानेर राँको बालेर खेतमा जाँदा त हात्तीले मारिसकेको रहेछ,’ अमृताले सुनाइन् ।

त्यसपछि अमृताको परिवारको दुःखका दिन सुरु भए । काठमाडौंमा स्नातक गरिरहेका दुई छोराको खर्च र घर व्यवहार धान्न धौधौ भयो । गुजारा चलाउन सकस हुन थालेपछि जेठो छोरा इन्द्र वैदेशिक रोजगारीका लागि दुबई पुगे । कान्छो हेमन्त पढाइ छाडेर घर फर्किए । १० वर्ष दुबई बसेर फर्किएपछि इन्द्रले ठाकुरद्वारामा पसल सञ्चालन गरेका छन् । हेमन्त भने आमासँगै संरक्षणमा सक्रिय छन् । बुबाका साथीहरूको सल्लाहमा चोरीसिकार नियन्त्रण युवा परिचालन अभियानमा आबद्ध भएको उनले बताए । ‘२०६८ मा अभियानको परिचालन उपसमिति अध्यक्ष भएर चोरीसिकार नियन्त्रण, संरक्षण चेतना, समुदायमा मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्न लागिपरें,’ उनले भने ।

हेमन्त २०७२ मा परिचालन अभियान सञ्जालको जिल्ला अध्यक्ष चुनिए भने २०७४ को स्थानीय तह चुनावमा ठाकुरबाबा–९ मा सदस्य निर्वाचित भए । ‘युवा परिचालनले १० वर्षदेखि चोरीसिकार शून्य छ,’ अहिले मध्यवर्तीअन्तर्गत ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष रहेका उनले भने, ‘प्रकृति पथप्रदर्शक, सवारी चालक, विद्युतीय मर्मत, पशुपालन र आयआर्जनका तालिम भइरहेका छन् ।’

सञ्जाल गठन भएपछि आपसमा पीडा साट्न र समस्या समाधानका लागि दबाब दिन सजिलो भए पनि वन्यजन्तुको डर हटिनसकेको अमृता बताउँछिन् । ‘वन्यजन्तु किन बस्ती पस्छन्, किन मान्छेमाथि आक्रमणमा उत्रिन्छन् भन्ने बिस्तारै बुझ्न थालिएको छ,’ उनले भनिन्, ‘हात्तीले श्रीमान् मार्‍यो भन्दैमा दुस्मन ठानेकी छैन, त्यो त दुर्घटना थियो ।’

निकुञ्ज आसपास अढाई दशकयता वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढेको छ । बर्दिया, बाँके र सुर्खेतसम्म फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्रमध्ये कर्णाली र बबई नदी तट वन्यजन्तुका मुख्य बासस्थान हुन् । निकुञ्जको समथर भूभाग, घाँसे मैदान र घनाजंगल क्षेत्र रहेको बर्दियामा वन्यजन्तु धेरै भएकाले आक्रमणमा पर्ने पनि यतैका धेरै छन् । यहाँ हात्ती, बाघ, गैंडा र बँदेलको आक्रमणबाट ज्यान गएका घटना बढी छन् ।

निकुञ्जमा २०६८ मा १९ जनाबाट सुरु भएको वन्यजन्तुपीडित एकल महिला सञ्जालमा अहिले २६ जना आबद्ध छन् । घरमूलीको मृत्युपछि परिवार हुर्काउन खेप्नुपरेको दुःख बिर्सिंदै उनीहरू आयआर्जन र संरक्षणमा जुटिरहेका छन् । तर, लगानी नहुँदा दुःखजिलो गरेर हुर्काएका सन्तान बेरोजगार बन्नुपरेको उनीहरूको गुनासो छ । बस्ती पसेर जंगली जनावरले गर्ने मानवीय क्षतिको मात्रै कुरा उनीहरूसँग छैन । माछा मार्न, घाँस काट्न, साग टिप्न निकुञ्ज नपसी सुख छैन । यसरी जंगल पसेका बेला उनीहरूले वन्यजन्तु आक्रमणको सामना बारम्बार गरिराख्नुपर्छ ।

ठाकुरबाबा–९ हात्तीसारकी ४६ वर्षीया जानकी थारू पनि अमृता जस्तै पीडित हुन् । निकुञ्जमा माहुते पदमा कार्यरत श्रीमान् छोटकीको आम्दानीले घरव्यवहार राम्रै चलिरहेको थियो । आफैंले चराउन लगेको हात्तीले एकदिन छोटकीको ज्यान लियो । वन्यजन्तुपीडित एकल महिला सञ्जालकी सचिव रहेकी जानकी हाल परिवारको जिम्मेवारीसँगै वन्यजन्तुपीडितको भलाइ र संरक्षणमा क्रियाशील छिन् । घरको आम्दानी गुमेपछि छोराले एसएलसीपछि पढ्न पाएनन् ।

ठाकुरबाबा–९ हात्तीसारकी ४६ वर्षीया जानकी थारू ।

उच्च शिक्षा अध्ययन गरिरहेकी छोरीले कतिबेला पढाइ छाड्नुपर्ने हो ठेगान छैन । छोरा युवराज अहिले खेतीपाती गर्छन् । छोरी १२ कक्षा पास गरेर नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस भर्ना भएकी छन् । ‘मासिक १० हजार रुपैयाँ लाग्छ भनेकी छ,’ जानकीले भनिन्, ‘कसरी पठाउने चिन्ता छ ।’ श्रीमान्को मृत्युपछि उनलाई निकुञ्जले तीन लाख र नगरपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्तिबापत दिएका थिए । त्यही रकमले चार कोठाको पक्की घर बनाउन सुरु गरे पनि अधुरै रहेको उनले बताइन् । ‘१० कट्ठा जमिनको खेती स्याहार्न रातदिन खटिनुपर्छ । चित्तल, बँदेल दिउँसै निस्किन्छन्,’ उनले भनिन्, ‘साँझ परेपछि हात्ती आउँछन् । वन्यजन्तुको गोठालो नलागी एक दाना बच्दैन ।’

बारबर्दिया नगरपालिका–९ की असिया थारूलाई आफ्नो उमेर यकिन छैन । हेर्दा उनी लगभग ७५ वर्षकीझैं देखिन्छिन् । आफ्नो उमेर भुले पनि श्रीमान्को मृत्यु भएको घटना बिर्सन सकेकी छैनन् । निकुञ्जमा खरखडाइको समय थियो । ०७१ पुस २१ गते श्रीमान् दुखुवासित उनी निकुञ्जभित्र खर काटिरहेकी थिइन् । त्यही बेला आएको हात्तीले श्रीमान्लाई आक्रमण गर्‍यो । उनी आत्तिँदै नजिकैको ढकेलास्थित नेपाली सेनाको पोस्टमा पुगेर घटना बताइन् । सेना घटनास्थलमा परिचालन भए । एकैछिनमा गाउँले पनि पुगे । ‘हात्ती त्यहीँ लास भएको ठाउँमा बसिरहेको थियो । सेनाले हवाइफायर गरेपछि भाग्यो,’ उनले भनिन्, ‘हातबाट चरा उडेर गए जस्तो भयो । सधैं निकुञ्ज जान्थ्यौं, त्यस दिन घटना भयो ।’

बारबर्दिया नगरपालिका–९ की असिया थारू ।

घटनापछि असिया निकुञ्ज गएकी छैनन् । तर उनको परिवारलाई वन्यजन्तुसित आक्रोश छैन । उनका कान्छा छोरा ३४ वर्षीय लक्षीराम चोरीसिकार नियन्त्रण युवा सञ्जाल ढकेला इकाईको अध्यक्ष छन् । ‘गाउँलेलाई एक्लै जंगल नजान सम्झाउँछु,’ उनले भने, ‘वन्यजन्तुबाट बच्न जनचेतना फैलाउने काम गर्छौं ।’

बारबर्दिया–९ ढकेलाकी ३५ वर्षीया निर्मला खड्काले पनि श्रीमान् दलबहादुरलाई गुमाएको ११ वर्ष भइसक्यो । ०६८ असोज १७ गते हात्तीको आक्रमणबाट उनको मृत्यु भएको थियो । ‘घरबाट खेत टाढा छ । हात्ती धपाउन जाँदा राति १० बजे आक्रमण गर्‍यो,’ उनले भनिन्, ‘एक जनाले भागेर ज्यान जोगाए । भाग्न नसकेपछि हात्तीले श्रीमान्लाई मार्‍यो ।’ घटनाका बेला उनका जेठा छोरा आठ र कान्छा तीन वर्षका थिए ।

काठको घर प्लास्टिकले बेरेर गुजारा गरिरहेकी उनले छोराहरू पढाउन समस्या भएको बताइन् । ‘मेरो किड्नीमा समस्या भएकाले नियमित उपचार खर्च चाहिरहन्छ । जेठो छोरा १० र कान्छो ७ कक्षामा पुगे । खर्च जुटाउन समस्या छ,’ उनले भनिन्, ‘दिदी–बहिनीसित मागेर उपचार खर्च जोहो गरिरहेकी छु ।’ निकुञ्ज मुख्यालय धेरै पटक धाउँदा पनि गतिलो सहयोग नपाएको र चार कट्ठा खेतको उब्जनीले खान नपुग्ने उनले सुनाइन् । ‘निकुञ्जबाट महिनाको १ हजार ५ सय भत्ता मिल्छ, त्यत्ति हो,’ उनले भनिन् ।

बारबर्दिया–९ ढकेलाकी ३५ वर्षीया निर्मला खड्का ।

आर्थिक अभावले पिरोलिएका एकल महिलाको जीवनस्तर उकास्न निकुञ्ज र संरक्षणमा सक्रिय संघसंस्थाले आयआर्जनमा सघाउने प्रयास गरे पनि यस्ता कार्यक्रम पर्याप्त छैनन् । वन्यजन्तुले खेतीपाती नष्ट गर्ने हुनाले पीडितहरू वैकल्पिक उपाय रोजेर आयआर्जनमार्फत आर्थिक रूपमा तंग्रिने प्रयास गरिरहेका छन् । केही महिलाले भैंसी, बंगुर र बाख्रा पालेका छन् । निकुञ्जले खोर बनाउन ५० हजार रुपैयाँ सहयोग गरेपछि एकल महिला सञ्जालकी अध्यक्ष अमृताले बाख्रा पालेकी छन् । प्रकृति संरक्षण कोषले मासिक १ हजार ५ सय राहतस्वरूप उपलब्ध गराउँछ । संरक्षणमा क्रियाशील गैरसरकारी संस्थाहरूले पनि धेरथोर सहयोग गरिरहेका छन् ।

सञ्जालकी सचिव जानकीले आयआर्जनका लागि मध्यवर्तीमा कार्यरत संघसंस्थाले आर्थिक सहयोग उपलब्ध गराएको बताइन् । उनका अनुसार पीडितमध्ये एक जनाले साइकल पसल चलाएका छन् । पाँच जनाले भैंसी पालेका छन् । बाँकीले बाख्रा र बंगुरमार्फत आम्दानी गरिरहेका छन् । असियाका छोरा लक्षीरामले टाइगरचोकमा साइकल मर्मत पसल चलाएका छन् । ६ वर्षदेखि भैंसी पालिरहेकी जानकीले हालै १ लाख २५ हजारमा ब्याउने भैंसी किनेकी छन् । ‘जन्मिनेबित्तिकै पाडापाडी २५ हजारसम्ममा बिक्छ । ७७ रुपैयाँको दरले दैनिक ४ लिटर दूध बेचिन्छ,’ उनले भनिन् ।

मध्यवर्ती क्षेत्रअन्तर्गत महिला वातावरण उपसमितिकी अध्यक्ष सावित्रा थापा ढकालले वन्यजन्तु पीडितका लागि हस्तकला, अर्गानिक मल, सिलाइकटाइ, सेनेटरी प्याड बनाउने तालिम दिइरहेको बताइन् । ‘गतवर्ष पीडित परिवारका ५० छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गरायौं,’ उनले भनिन्, ‘यसपालि ६० जनालाई दियौं ।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीका अनुसार २०६६ सालसम्म वन्यजन्तुबाट मारिएका व्यक्तिको परिवारले डेढ लाख रुपैयाँ राहत पाउँथ्यो । उक्त रकम कम भएको भन्दै उपभोक्ता आन्दोलित भएपछि मन्त्रीस्तरीय निर्णयबाट २०७९ सालमा तीन लाख पुर्‍याइयो । त्यसपछि वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका पहिलो संशोधनबाट २०७२ मा ५ लाख र २०७४ सालमा दोस्रो पटक संशोधन गरेर १० लाख पुर्‍याइएको छ । निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत आशिष न्यौपानेले यसका अलवा मृतक परिवारलाई ५० हजार रुपैयाँ किरिया खर्च, एक सन्तानलाई वार्षिक ४ हजार छात्रवृत्ति र एक महिलालाई मासिक भत्ता १ हजार ५ सय उपलब्ध गराइरहेको बताए ।

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेश थापा वन्यजन्तु आक्रमणबाट श्रीमान् गुमाउने धेरै महिला बर्दियाकै रहेको बताउँछन् । पीडितमध्ये ८० प्रतिशत ठाकुरबाबा नगरपालिकाभित्रका छन् । पीडितका समस्या हल गर्न तीन चरणमा भेला गरेर सञ्जाल गठन गरिएको उनले बताए । ‘निकुञ्जबाट हरेक परिवारलाई १ हजार ५ सय मासिक भत्ता र पीडित महिलाको आयआर्जनमा सघाउन जेडएसएल नेपालले बीउ रकम उपलब्ध गराउने सहमति भएको छ,’ उनले भने ।

निकुञ्ज विभागका महानिर्देशक महेश्वर ढकालले एकल महिला र असहायको अवस्था परिवर्तनका लागि सीपमूलक तालिम र रोजगारमूलक कार्यक्रम सञ्चालन जरुरी रहेको बताए । ‘मध्यवर्ती क्षेत्र कार्यक्रमअन्तर्गत निकुञ्जको ५० प्रतिशत आम्दानी समुदायमा जान्छ,’ उनले भने, ‘त्यो पैसा पीडित महिला र असहायका लागि खर्च हुनुपर्‍यो ।’

निकुञ्जअन्तर्गत शिवपुर एकीकृत उपभोक्ता समिति अध्यक्ष दीपेन्द्र बुढाले पीडितलाई उचित क्षतिपूर्ति र आयआर्जनका कार्यक्रम नहुँदा निकुञ्जप्रति स्थानीयमा आक्रोश कायमै रहेको बताए । निकुञ्जमा कार्यरत संघसंस्थाले पीडितलाई अनुदान बढाएर मासिक १०/१५ हजार आम्दानी हुने गरी तरकारी, पशुपालन र सीपमूलक कार्यक्रम सञ्चालन गर्नॅपर्ने उनको सुझाव छ । ‘एक जनालाई एउटा बाख्रा दिएर के हुन्छ,’ उनले भने, ‘पीडितका सन्तानलाई पढाउन छात्रवृत्ति र अध्ययन पूरा गरिसकेकाका लागि रोजगारीको व्यवस्था गरिनुपर्छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर