एस् ए टी भी २४ चैत्र, काठमाडौँः चलचित्र 'जनै हराएको बाहुन' को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए ।
भोलिबाट चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो ।
'जनै हराएको बाहुन' लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । 'जनै हराएको बाहुन' मा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ ।
निर्माण टिमका अनुसार भोलि काभ्रेपलान्चोकको पनौतीबाट चलचित्रको छायांकन सुरु हुनेछ । पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।
'जनै हराएको बाहुन' ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।