एस् ए टी भी २६ चैत्र, काठमाडौँः पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संघको मापदण्ड अनुसारका खोपको मात्रा पूरा गर्दै पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
१२ हजार तीन सय ३६ घरधुरी रहेको फिदिम नगरपालिकामा ४८ हजार चार सय ९५ जनसङ्ख्या छ । जसमध्ये १५ वर्ष मुनीका पाँच सय ७७ र १६ देखि ५९ महिना भित्रका एक हजार पाँच सय ७९ गरी दुई हजार एक सय ५६ बालबालिका छन् । उनीहरु सबैलाई खोपको मात्रा पूरा गरेसँगै नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
नगरपालिकामा आयोजित एक भव्य समारोहमा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनुभएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले फिदिम नगर प्रमुख काफ्लेलाई पूर्णखोप सुनिश्चितताको प्रमाण पत्र प्रदान गर्नुभयो ।
पूर्णखोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा अभियान सफल पार्न अहोरात्र खटेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई कदर पत्र वितरण गरिएको थियो ।