संखुवासभाको भोटखोला गाउँपालिका –४ दिदिङ्खा भन्ने स्थानमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
शुक्रबार दिउँसो अपर अरुण जलविद्युत आयोजनाको सामान लिएर उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा ५ जना सवार थिए । उनीहरु घाइते अवस्थामा रहेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हेलिकप्टर भोटखोला गाउँपालिका ५ को राप्साबाट उडेको थियो । उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । घटनास्थल सवारी साधन पुग्ने स्थान गोला बजारबाट २ घण्टाको पैदल दूरीमा पर्छ ।
सङ्खुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।गम्भीर घाइते भएका पाईलट सुरेन्द्र पाण्डे र स्थानीय भविन गुरुङलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो ।
पाइलट पाण्डेलाई सिम्रिक एयरको हेलिकप्टरबाट र स्थानीय गुरुङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गुरुङ अचेत अवस्थामा हुनुहुन्छ भने पाण्डे सामान्य बोल्न सक्ने अवस्थामा रहनुभएको छ । हेलिकप्टरमा सवार स्थानीय दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
भोटखोला गाउँपालिका –५ को राप्साबाट उडेको हेलिकप्टर भोटखोला –४ नम्बरको दिदिङ्खा भन्ने स्थानमा अवतरणको क्रममा आज शुक्रबार दिउँसो १ः२० बजे दुर्घटना भएको हो । उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।
हेलिकप्टर अवतरणको क्रममा पङ्खा पहाडीको भीरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएस्पी बिरेन्द्र गोदारले जानकारी दिनुभयो ।