नेभिगेसन मेनु

दुई महिनादेखि अन्धकार
सम्पादक:南亚网络电视
समय:2023-02-03 12:19

Untitled-1

सर्लाही, माघ २० गते । सर्लाहीको बरहथवा नगरपालिका–११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य छन्।

विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत २०६७ सालदेखि बिजुली बत्ती बाल्दै आएका स्थानीयले गत मङ्सिर २७ गतेदेखि अन्धकारमा बस्नुपरेको हो। सहकारी संस्थाले बिजुलीको बक्यौता रकम चुक्ता नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा–११ को हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँमा बत्ती काटेको हो। 

सामुदायिक विद्युतीकरणअन्तर्गत विद्युत् प्राधिकरणले एक ठाउँमा थोक मिटर राख्ने र त्यही मिटर रिडिङ गरेर सहकारीको नाममा बिजुलीको एकमुष्ट बिल काट्ने गथ्र्यो। त्यसपछि सहकारीले आफ्ना कर्मचारी खटाएर स्थानीयको घरघरमा रहेको मिटर रिडिङ गरेर पैसा सङ्कलन गर्दै आइरहेको थियो। 

पछिल्लो समय भने सहकारीले पैसा बुझाउन नसकेपछि प्राधिकरणले गाउँको बत्ती काटेपछि स्थानीयवासी अहिले टुकीको भरमा रात काट्न बाध्य छन्। मोबाइल चार्ज गर्न छिमेकी गाउँ वा बरहथवा बजारसम्म आउनुपर्ने बाध्यता छ। हीरापुरका स्थानीय लोकप्रसाद पराजुलीले नियमित बिजुली महसुल बुझाउनेको समेत बत्ती काटिएको गुनासो गर्नुभयो। पराजुलीले गुनासो गर्दै भन्नुभयो, “सुरुदेखि महसुल नतिर्नेले पनि बत्ती बाले, बत्ती त उनीहरूको मात्रै काटिनुपर्ने हो तर हामी खुरुखुरु पैसा बुझाउनेको समेत दुई महिनादेखि बत्ती काटिएको छ, हामी अन्यायमा प-यौँ, अन्धकारमा रात काट्नु परेको छ। बालबच्चाले पढ्न पाएका छैनन्।”

अर्का स्थानीय रघुनाथ महतोले महिनैपिच्छे महसुल बुझाएको बिल भए पनि सबैको बत्ती काटिदिँदा समस्या भइरहेको गुनासो गर्नुभयो। गाउँमा बिजुली नहुँदा स्थानीयले अन्यत्र रहेका आफन्तसँग कुराकानी गर्न पाएका छैनन्। पीडा पोख्दै स्थानीय उमेश दासले भन्नुभयो, “अहिलेको युगमा सबै जना फोन, इन्टरनेटमार्फत परिवार तथा आफन्तसँग सम्पर्कमा हुन्छन तर यहाँ त दुई महिनादेखि बत्ती नै छैन। पैसा नतिर्नेको मात्रै बत्ती काटिदिएको भए हुन्थ्यो, पैसा तिर्ने, नतिर्ने सबैलाई दुई महिनासम्म अन्धकारमा राखिएको छ।”

बिजुली नहुँदा बरहथवा नगरपालिका–११ स्थित वडा कार्यालयमा अनलाइनबाट हुने सम्पूर्ण काम प्रभावित बनेको छ। वडा सचिव धीरेन्द्र रायले भन्नुभयो, ‘‘अनलाइनबाट हुने घटना दर्ताका लागि सेवाग्राहीलाई नगरपालिकामै पठाइरहेका छौँ। सेवाग्राही आफैँले आफ्नो विवरण पञ्जीकरण शाखामा गएर ‘अनलाइन इन्ट्री’ गराएर ल्याउनुहुन्छ, त्यसपछि हामीले यहाँबाट उक्त कागजातमा हस्ताक्षर गरेर दिने गरेका छौँ।” विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष रामकृष्ण चालिसेले सुरुमा जसरी पनि गाउँमा बत्ती बाल्नुपर्छ भनेर सामुदायिक विद्युतीकरण गरिएको बताउनुभयो। 

चालिसेले गत वर्ष प्राधिकरणको थोक मिटरमा उठेको अङ्कअनुसार सम्पूर्ण बक्यौता चुक्ता गरे पनि पछि फेरि बक्यौता रकम देखाइएको बताउनुभयो। “हामीले सम्पूर्ण रकम चुक्ता गरेर सहकारीमा जाने भन्यौँ, त्यसपछि प्राधिकरणले थोक मिटर काठमाडौँमा लगेर परीक्षण गर्दा दुई/तीन महिनादेखि मिटर बिग्रिएको रहेछ भन्दै बक्यौता देखायो।” चालिसेले भन्नुभयो, “गाउँलेबाट पैसा उठाएर गएको वर्ष पुसमै चुक्ता गरिसकेका थियौँ, पछि फेरि बक्यौता देखाएर हामीले कहाँबाट ल्याएर तिर्नु ?” 

उहाँले सहकारीले कुनै पनि किसिमको आर्थिक अपचलन नगरेको दाबी गर्नुभयो। “३१७ घरमा मिटर थियो, त्यसमध्ये नियमित पैसा दिने २५/३० जना मात्रै हुनुहुन्थ्यो। प्राधिकरणले हामीलाई मिटर दिँदैनथ्यो, हामीले ग्राहकलाई अन्धकारमा बस्न नपरोस भनेर घाटा, नाफा जे भए पनि ‘सो मिटर’ राखेर भए पनि बत्ती बाल्न दिएका थियौँ।” 

प्राधिकरणले यसअघि पनि बेलाबेलामा गाउँमा आएर बत्ती काट्दा स्थानीयले पैसा उठाएर केही बक्यौता रकम तिरेर बत्ती सूचारु गर्न लगाउने गरेका थिए। यो पटक भने मङ्सिर २७ गतेदेखि प्राधिकरणले बत्ती काटेको छ। 

अब घरघरमा मिटर राखेर प्राधिकरणले नै ग्राहकको घरघरमा पुगेर मिटर रिडिङ गर्ने व्यवस्था मिलाउन लागिएको बरहथवा–११ का वडाध्यक्ष नवराज राईले बताउनुभयो। वडाध्यक्ष ग्रामीण विद्युतीकरण गर्ने सहकारीले हरहिसाब, लेखा परीक्षण केही नरहेको र संस्था नै लथालिङ्ग अवस्थामा रहेकाले प्राधिकरणकै माध्यमबाट बिजुली मिटर प्रयोग गरी महसुल सङ्कलनको व्यवस्था मिलाउन लागि परेको बताउनुभयो। 

उहाँले सहकारी संस्था र त्यसका पदाधिकारी तथा व्यवस्थापकको त्रुटीले स्थानीयले सास्ती खेप्नुपरेको बताउनुभयो। सहकारीका पदाधिकारीलाई संस्थाको घाटा, नाफा के छ ? भनेर वडामै बोलाएर छलफल राख्दा कुनै हरहिसाब नै देखाउन नसकेको वडाध्यक्ष राईको भनाइ छ। 

वडाध्यक्ष राईले केही दिनभित्रै स्थानीयको घरमा प्राधिकरणकै मिटर राखेर बत्ती जोड्ने पहल गरिरहेको बताउनुभयो। नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा–११ को सामुदायिक विद्युतीकरणलाई प्राधिकरणमै गाभ्ने प्रक्रिया अघि बढेको जनाएको छ। हाल सहकारीको नाममा रहेको १३ लाख रुपियाँ नगरपालिकाले तिर्ने सहमति भएको छ। उक्त गाउँमा मिटर जडान गरेर बत्ती नियमित गर्ने तयारी भइरहेको वितरण केन्द्रका सुपरभाइजर छोटेलाल यादवले बताउनुभयो। उहाँले भन्नुभयो, “२३ लाख रुपियाँ बक्यौतामध्ये १० लाख रुपियाँ स्थानीयले नै उठाएर बुझाइसक्नु भएको छ, बाँकी १३ लाख नगरपालिकाले तिर्ने भनी कार्यपालिका बैठकबाट निर्णय प्राप्त भएको छ।”    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर