नेभिगेसन मेनु

पुनहिलमा पर्यटक भरिभराउ
सम्पादक:南亚网络电视
समय:2022-11-15 11:48

blog

म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकले भरिभराउ भएको छ। 

कोरोनाका कारण शिथिल बनेको पर्यटन व्यवसाय पर्यटक आगमनमा वृद्धि भएसँगै सुधार देखिन थालेको छ। घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्। 

दैनिक रूपमा दुई सयको हाराहारीमा आन्तरिक पर्यटक र एक सयभन्दा बढी विदेशी पर्यटक पुनहिल आउने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्। सफा मौसम भएकाले पुनहिलमा आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकको निकै भीडभाड लाग्ने गर्छ।

विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको घोडेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीहरू उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले जानकारी दिनुभयो। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ। सूर्योदयको अवलोकन गर्न पुनहिलमा हरेक बिहान पर्यटकको भीड लाग्ने गरेको उहाँले बताउनुभयो। 

पुनहिल समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा पर्छ। घोडेपानीदेखि पुनहिलसम्म पुग्न यहाँका स्थानीयले चन्दा सहयोग जुटाएर पदमार्ग निर्माण गरेका छन्। असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिको अध्यक्ष मीना पुनले बताउनुभयो। पर्यटकका लागि यो उपयुक्त समय हो उहाँले भन्नुभयो, “कोरोनाका कारण थला परेको पर्यटन व्यवसायमा केही सुधार देखिएको छ। पर्यटक आउन थालेपछि हामीहरू उत्साहित भएका छौँ। मौसममा सुधार आएसँगै एक महिना यता पर्यटकको आगमन बढ्न थालेको छ।”

चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको स्थानीय होटल व्यवसायी टेक पुनले बताउनुभयो। 

पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेन्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ। पर्यटकका लागि घोडेपानीमा साना ठूला गरेर २६ वटा सुविधासम्पन्न होटल छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर