नेभिगेसन मेनु

मुस्ताङ जाने पर्यटक बढे
सम्पादक:南亚网络电视
समय:2022-11-14 11:37

blog

कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो । 

जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन ह्वात्तै बढेको बताउनुभयो । “विगतका वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन शून्य भयो । यसपालि असोज पहिलो सातादेखि नै पर्यटक आउन थालेको छन्,” उहाँले भन्नुभयो । ५० जनाको क्षमता रहेको होटलमा एक महिनादेखि भरी हुने गरेको शेरचनले जानकारी दिनुभयो । 

विशेषगरी मुक्तिनाथ मन्दिर दर्शन गर्न आन्तरिकसँगै भारतीय पर्यटकले होटल भरिने गरेको र मासिक १० देखि १५ लाख रुपियाँको कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ, जोमसोम आसपासका क्षेत्रमा विदेशी पर्यटकको चहलपहल छ ।” 

मुक्तिनाथकै होटल नरलिङका सञ्चालक तेन्जिङ गुरुङले यतिबेला सबैभन्दा धेरै भारतीय पर्यटक मन्दिर दर्शन गर्न आउने गरेको बताउनुुभयो । मुक्तिनाथमा दर्शन गरेर फर्किने हुँदा आफ्नो होटलमा थोरै पर्यटक मात्र बास बस्ने र खाना खाएर जाने गरेको उहाँले जानकारी दिनुभयो । 

यस्तै मुस्ताङको छुसाङस्थित एलिस होटलका सञ्चालक विदुर गुरुङले माथिल्लो मुस्ताङ कोरला नाकासम्म पुगेर मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने गरेको बताउनुभयो । 

दिनमा एक सयदेखि दुई सय जना सीमानाकासम्म पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । माथिल्लो मुस्ताङमा धेरै चिसो हुने हुँदा कतिपय पर्यटक मुक्तिनाथ दर्शन गरेर फर्कने गरेको उहाँले जानकारी दिनुभयो । 

यस्तै लोमान्थाङस्थित मिस्किट होम्स् एन्ड कफी सपका सञ्चालक करचुन गुरुङले सिजन भएकाले पर्यटकको सङ्ख्या बढेको जानकारी दिनुभयो । दैनिक ५० देखि ६० जनालाई खाना खुवाउने गरेको उहाँले जानकारी दिनुभयो । धेरैजसो पर्यटक मुक्तिनाथ दर्शन गरेर जाने हुँदा कम मात्र माथिल्लो मुस्ताङ घुम्न आउने गरेको उहाँले जानकारी दिनुभयो । 

आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट समूह बनाएर आन्तरिक पर्यटक भ्रमणमा जाने गरेका छन् । भक्तपुरबाट मुस्ताङ घुम्न आएका हेमराज ढकालले ठाउँठाउँमा कच्ची सडक भएकाले सडक व्यवस्थित गर्नुपर्ने बताउनुभयो । सडक मर्मत, सुधार भए पर्यटक सुरक्षित यात्रा गर्न सक्ने र सङ्ख्या बढ्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय, मुस्ताङका इन्स्पेक्टर गोपीकृष्ण सुवेदीले गत वर्षको तुलनामा अहिले आन्तरिक र बाह्य पर्यटक बढेको जानकारी दिनुभयो । घुम्न साना ठूला गरेर दैनिक तीन सय सवारीसाधन आउने गरेको उहाँले जानकारी दिनुभयो । समूह–समूह बनाएर मोटरसाइकलमा पनि धेरै घुम्न आउने गरेको उहाँले जानकारी दिनुभयो ।

छ वर्षअघिदेखि पोखरा–मुस्ताङ रुटमा पर्यटकको सवारी चलाउँदै आएका लोकराज खत्रीले एक महिनादेखि नियमित रूपमा पर्यटक बोकेर माथिल्लो मुस्ताङसम्म पुग्ने गरेको बताउनुभयो । पोखराबाट मुस्ताङ र फेरि पोखरा आइपुग्ने भएकाले आम्दानी पनि राम्रै भएको उहाँले जानकारी दिनुभयो । चीनको तिब्बतसँगको सीमा कोरला नाकासम्म नै सडक पुगेको छ । मुस्ताङ जान यातायातको सहज पहुँचका कारण धेरै पर्यटक जाने गरेका छन् । मुस्ताङमा चलचित्र छायाङ्कन गर्नसमेत जाने गर्छन् ।  

पर्यटकको चहलपहल बढेसँगै लामो समयदेखि बन्द रहेका होटल व्यवसाय पुरानै लयमा फर्कन लागेको व्यवसायी निर्मला शेरचनले बताउनुभयो । मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीको बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटलमा चहलपहल बढ्न थालेको बेनीका होटल सञ्चालक अमर कार्कीले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर