नेभिगेसन मेनु

चलचित्रमा नालापानीको कथा
सम्पादक:南亚网络电视
समय:2022-11-12 12:27

blog

पछिल्लो समय नेपाली सिनेमाको क्षेत्रमा एउटा यस्तो सिनेमाले प्रवेश पाएको छ, जुन सिनेमा नेपाली वीरताको यथार्थ घटनामा आधारित छ। सन् १८१४ मा नेपाल र अङ्ग्रेजबीच नालापानी किल्लामा भएको युद्ध र त्यस युद्धमा नेपालीले देखाएको वीरता र साहसको गाथालाई विषयवस्तु बनाएर तयार भएको सिनेमा हो– नालापानी। 

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा नेपाल र अङ्ग्रेजबीच घमासान युद्ध भयो। यस युद्धमा नेपाली फौजको नेतृत्व कप्तान वीर बलभद्र कुँवरले गरेका थिए। बलभद्र कुँवर र उनका छ सय सेना यस युद्धमा वीरतापूर्वक लडे। राष्ट्रका लागि प्रत्येक नागरिकले आवश्यक परेका बेला जीवन समर्पण गर्नुपर्छ भन्ने राष्ट्रवादी भावना यस युद्धबाट सिक्नुपर्छ। नालापानी सिनेमाले यही विषयलाई बोकेको छ र यसैको केन्द्रीयतामा सिनेमा बनेको छ।

नालापानी युद्धमा आधुनिक हतियारले सुसज्जित अङ्ग्रेजसँग बिनारसदपानी घरेलु हातहतियारका भरमा नेपालीले वीरतापूर्वक लडे। त्यसैले यो युद्धको गाथा विश्वप्रसिद्ध छ। युद्धमा नेपाली वीर सिपाही र सर्वसाधारणले नेपाली राष्ट्रिय स्वाभिमानलाई बचाएका थिए। नेपाली योद्धालाई विभिन्न प्रलोभन देखाएर आफ्नो बनाउन खोज्ने अङ्ग्रेजका सामु भौतिक सम्पत्ति र पदको प्रलोभनलाई तिलाञ्जलि दिने वीरहरूको कथा पनि नालापानीसँग जोडिएको छ। अङ्ग्रेजको लोभ र मोहमा नफसी बरु त्यसलाई अस्वीकार गरी आफ्नो देशप्रतिको अटूट प्रेम यस युद्धमा पोखिएको थियो, जुन कुरो चलचित्रमा घनीभूत रूपमा प्रकट भएको छ। 

युद्धकै क्रममा घाइते भएर हिम्मतसाथ दुस्मनको छाउनीमा पुगेर उपचार गर्नसमेत नैतिक रूपमा बाध्य पार्ने नेपाली वीर सैनिकको गाथा पनि छ तर केही गद्दारका कारण खाना र पानीको अभावमा भोकभोकै युद्ध लड्न बाध्य सत्तरीभन्दा बढी नेपाली वीरयोद्धा “हामीले युद्ध हारेका हैनौँ, हामी आत्मसमर्पण गर्दैनौँ, बरु मार, मर्न तयार छौँ” भन्दै किल्लाबाट एकाबिहानै बाहिरिएका थिए। यो युद्धमा जनरल जिलेस्पीजस्ता अङ्ग्रेज सिपाहीको पनि मृत्यु भएको थियो। 

नेपाली वीरयोद्धा किल्लाबाट बाहिरिएपछि कर्णेल मबीलगायत अङ्ग्रेज सिपाही नालापानी किल्लामा प्रवेश गरे। किल्लाको अवस्था र घाइते सिपाहीको हृदयविदारक दृश्य देखेपछि नेपाली सेनाको उच्च मनोबल, साहस, वीरता, स्वाभिमानप्रति उच्च सम्मान प्रकट गरे। त्यति मात्र होइन, नेपाली वीरयोद्धाको सम्मानमा शिलालेख लेखेर वीर बहादुर गोर्खाली सेना र उनका कप्तान वीर बलभद्रप्रति गहिरो सम्मानसमेत प्रकट गरे। 

यो त्यही युद्ध हो, जसमा अङ्ग्रेजले आफ्ना दुश्मन सेनाका घाइते योद्धाको उपचारसमेत गरेर मानवतावादी भावना प्रदर्शन गरे। यसलाई युद्धभित्रको अर्को महìवपूर्ण पक्षका रूपमा पनि विश्लेषण गर्न सकिन्छ। सायद यो विश्वको एक मात्र यस्तो अनुपम युद्धको उदाहरण हो, जहाँ दुश्मनले दुश्मनको पराक्रमको प्रशंसा गरेको छ र उसको सम्मानमा प्रशस्ति पनि लेखेको छ। भारतको हिमाञ्चल प्रदेशको देहरादुनको नालापानी किल्लानजिकै शिलालेखका रूपमा यो कथा जीवन्त धरोहर बनेर उभिएको छ। जस्तोसुकै परिस्थितिमा पनि मातृभूमिलाई त्याग्नु हुँदैन भन्ने राष्ट्रवादी सन्देश नालापानी युद्धबाट सम्पूर्ण नेपालीले सिक्नुपर्ने पाठ हो। पद र पैसाका लागि विदेशीका दास बन्नसमेत तयार हुनेले नेपाली वीरयोद्धाको त्याग, बलिदान र देशप्रेमको निःस्वार्थ भावनासँग जोडिएको अति विशिष्ट र ऐतिहासिक यथार्थवादी सिनेमा बनेको छ– नालापानी। 

प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लेखिएको नालापानीका नायक वीर बलभद्र नामक कृतिमा आधारित भएर निर्माण भएको यो सिनेमाले तत्कालीन वीर नेपालीको युद्धअभ्यास कलालाई पनि समेट्न सफल भएको छ। आगामी दिनमा पनि ऐतिहासिक विषयमा यस्ता थप सिनेमा निर्माण हुने क्रम बढ्नुपर्छ। कथा इतिहासको तथ्यसँग जोडिएका कारण यसमा काल्पनिकताको आभाष पाइन्न। यसका सबै पात्रको अभिनय जीवन्त रहेको छ। बालक, वृद्ध, महिला, युवा सबैको अभिनय एकसे एक प्रशंसनीय छ। निर्देशकका अनुसार करिब नौ वर्ष अध्ययन र अनुसन्धान गरेर यो चलचित्र निर्माण गरिएको हो। चलचित्रमा देशभक्त खनाल, अर्जुनजङ्ग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहरी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी बालकलाकार तेजश्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलियाका साथै विदेशी कलाकार एन्ड्रोइन, डङ्कन, रेचल मोलेस, पल विकिन्सन र सामको भूमिका रहेको छ। रिमेश अधिकारी र कृष्ण आचार्यको लेखन तथा अनुसन्धान रहेको यस सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ भने निर्देशक रिमेश अधिकारी हुनुहुन्छ। 

“यो हाम्रो इतिहासको कथा हो। यसले नेपालीलाई जगाउँछ” भन्ने धारणा वरिष्ठ कलाकार सन्तोष पन्तको छ। त्यस्तै निर्माता, निर्देशक तथा कलाकार अशोक शर्मा “सीमित स्रोत र साधनमा ऐतिहासिक सिनेमा बनाउनु चानचुने कुरा होइन। देश बचाउन पुर्खाले कसरी लडेका थिए भन्ने यथार्थलाई सिनेमामार्पmत प्रदर्शन गरिएको छ” भन्नुहुन्छ। यस सिनेमालाई नेपाल चलचित्र विकास बोर्डले दुई वर्षअघि नै विशेष सिनेमा २०२० भनेर घोषणा गरेको थियो। 

नालापानीको ऐतिहासिक विषयमा निर्माण गरिएकाले यो सिनेमा इतिहास अध्येताका लागि पनि उपयोगी बन्न पुगेको छ। विद्यालय तथा क्याम्पस तहका विद्यार्थीले नेपाली इतिहास बुझ्न पनि यस सिनेमाले सघाउँछ। यस सिनेमालाई प्रत्येक विद्यालय तथा कलेजले अनुकूल समयमा विद्यार्थीलाई देखाएर राष्ट्रियता, वीरगाथा, नेपाली पहिचान र गौरवगाथाको बोध गराउनुपर्ने देखिन्छ। यसो गरेमा एकातिर वीरपुर्खाको योगदानको बोध हुन्छ भने अर्कातिर राष्ट्रियता र देशप्रेमको भावना पनि युवापुस्तामा जागृत हुन्छ। यस्ता सिनेमा आगामी दिनमा पनि निर्माण गर्न सरोकारवालाले ध्यान दिनुपर्छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर