नेभिगेसन मेनु

हिमपातका कारण एक अमेरिकीको मृत्यु, तीन नेपाली बेपत्ता
सम्पादक:南亚网络电视
समय:2022-10-11 12:07

thumb (3)

दसैंसँगै सुरु भएको लगातरको वर्षा र खराब मौसमका कारण हिमाली भेगमा हिमपात हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने तीन नेपाली बेपत्ता भएका छन् । पदयात्रा व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोलाले दिएको प्रारम्भिक जानकारीअनुसार मनाङमा पदयात्राका क्रममा एक अमेरिकी नागरिकको मृत्यु भएको छ भने तीन नेपाली गाइड बेपत्ता छन् ।

‘हामीलाई आएको जानकारीअनुसार पदयात्रामा गएका एक अमेरिकीको उपचारका क्रममा सोमबार लमजुङमा मृत्यु भएको छ भने तीन नेपाली गाइड तीन दिनदेखि हराइरहेका छन् ।’

अध्यक्ष बास्तोलका अनुसार खुम्बु सांग्रिला ट्रेक कम्पनीका एक नेपाली गाइड मनास्लु क्षेत्रको लार्केबाट हराइरहेका छन् । उनीसँग पदयात्रामा गएका विदेशीहरू भने काठमाडौं फर्किसकेका छन् । त्यस्तै फोर सिजन माउन्टेन ट्रेकका दुई गाइड बालकुमार कार्की र देव लामा म्याग्दीको फ्रेन्चपासबाट तीन दिनदेखि हराइरहेका छन् ।

उनीहरूको खोजीका लागि टानका पदाधिकारीहरू आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेका थिए । मन्त्रालयका सचिव सुरेश अधिकारीले खोजीका लागि सेनाको हेलिकप्टर पठाइदिन समन्वय गरिदिने आश्वासन दिएका थिए । तर, सोमबार सेनाको हेलिकप्टर हिमाली क्षेत्रमा उद्धारका लागि गएन ।

अध्यक्ष बास्तोलाका अनुसार माथिल्लो डोल्पामा २ सय र माथिल्लो मनाङमा १ सय गरी करिब ३ सय पर्यटक, गाइडहरू हिमपातका कारण पदमार्ग पहिल्याउन नसक्दा अझै अप्ठ्यारो अवस्थामा छन् ।

टानका महासचिव विनोद सापकोटाले खुम्बु क्षेत्रमा जाने करिब २ हजार पर्यटक रामेछापबाट लुक्ला उडान नभएका कारण अड्किएको बताए । उनका अनुसार टानले सोमबार नागरिक उड्डयन प्राधिकरणलाई काठमाडौंबाट रामेछाप उडान खुला गराइदिन पत्र लेखेको छ । हाल काठमाडौं रामेछाप उडान नभएकाले पर्यटकलाई रामेछापबाट फर्काउन सकिएको छैन ।

‘रामेछापमा पर्यटक धेरै भएकाले लजिङ/फुडिङको राम्रो व्यवस्था छैन । धेरै जना काठमाडौं फर्किन चाहिरहेका छन् । प्राधिकरणले उडान सञ्चालनका लागि निजी वायुसेवालाई परिचालन गरिदिए हुन्थ्यो,’ महासचिव सापकोटाले भने ।

रामेछाप-काठमाडौं उडान खुला गराउन मंगलबार टान अध्यक्ष बास्तोलाले प्राधिकरणका महानिर्देशकलाई भेट्ने बताए । यसैबीच सोमबार मनास्लु, डोल्पा र रामेछापबाट थोरै संख्यामा हेलिकप्टर चार्टरमा विदेशीहरुलाई उद्धार गरिएको टानले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर