नेभिगेसन मेनु

‘कोरोनाले नराम्रैसँग पछार्‍यो’
समय:2021-06-13 09:13

 

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले सबैको माया, शुभेक्षा र आर्शिवादबाट कोरोनालाई परास्त गर्न सकेको बताएका छन्। मंगलबार कोरोना संक्रमण मुक्त भएपछि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै श्रेष्ठले डाक्टर, नर्सको अहोरात्रको खटाइ र सबै दर्शक स्रोताको माया, शुभेक्षा र आर्शिवादले कोरोना जित्न सफल भएको बताएका हुन्। 

‘मलाई माया, शुभेक्षा र आर्शिवाद वर्षाउँदै, मेरो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नुहुने सम्पूर्ण मेरा प्यारा दर्शक–स्रोता, नर्स, डाक्टर अनि पृथ्वीभरिका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु’ मदनकृष्णले भनेका छन्, ‘यहाँहरूको आशिर्वाद लाग्यो मलाई। यहाँहरूबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी विषलाई मज्जाले पचाइयो।’

दोस्रो पटक १४ दिन लामो अस्पतालमा उपचारपछि एक साता अघि उनी घर फर्किएका थिए। उनले कोरोना निकै बलियो रहेको भन्दै त्यसलाई सामान्य रुपमा नलिन पनि भनेका छन्। ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्‍यो। पछार्‍यो मात्र हैन अझ लछार्‍यो र हस्पिटलमा लगेर बेस्कन बजार्‍यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो। बेला बेलामा तर्सायो पनि। बलियो रहेछ बजिया’, उनले हाँस्य शैलीमा भने, ‘तर, सबैको माया, शुभेक्षा, प्रार्थना र आर्शिवादले गर्दा मलाई त्यसले जित्न भने सकेन।’ 

पहिलो पटक आठ दिन अस्पतालमा उपचारपछि घर फर्किएका उनी त्यसको केही दिनमै अक्सिजनको मात्रा कम भएपछि पुनः अस्पताल भर्ना भएका थिए। चिकित्सकले आफ्नो शरीरमा एन्टिबडी बनिसकेको र कसैको शरीरमा पनि कोरोना नसर्ने बताएको उल्लेख गर्दै शरीरमा अलिअलि शिथिलता बाँकी नै रहेको बताए।

‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोस्टेट, प्रेसर, मुटुको समस्या छ, कन्स्टिपेसनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद। यहाँहरूजस्तो मलाई औधी माया गर्नुहुने लाखौं लाख शुभेक्षकहरू मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा’, उनले स्टाटसमा लेखेका छन्। 

अहिले देशको सबैभन्दा ठूलो समस्या कोरोना रहेकाले सरकारले पहिलो प्राथमिकता दिएर जतिसक्दो चाँडो जनतालाई खोप लगाउनु पर्नेमा उनले जोड दिएका छन्। जनता नै नरहे कसलाई शासन गर्ने भन्दै उनले यस विषयमा गम्भीर हुन सरकारलाई आग्रह पनि गरेका छन्। ‘अहिलेको अवस्थामा सरकारले कोरोनालाई पहिलो प्राथमिकतामा राख्दै सबैतिरबाट जति सकिन्छ छिटो भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्न सम्झाउन चाहन्छु’ मदनकृष्णले भनेका छन्, ‘जनता नै भएन भने कसलाई शासन गर्ने ? होइन त ?’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर