नेभिगेसन मेनु

सदाबहार गायक प्रेमध्वज प्रधान, जसले ५० वर्षअघि मुम्बईमा बस्ने अफर पाएका थिए
समय:2021-05-07 05:27

नेपाली सांगितिक क्षेत्रमा मखमली स्वरका धनीका रुपमा चिनिएका प्रेमध्वज प्रधानको नेपाली सांगितिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान रहेको छ। उनले नेपाली संगीत क्षेत्रको सम्बृध्दिका लागि जीवनभर सक्रियता जनाए। ८३ वर्ष पुगिसक्दा पनि उनको सांगितिक सक्रियता लोभलाग्दो थियो। उनले हजारौं गीत रेकर्ड गरे। काठमाडौंका डबलीदेखि लिएर विदेशका मन्चहरुमा समेत नेपाली गीत गुन्जाउन सफल भए। नेपाली चलचित्रमा सदाबहार गीत गाए कयौं नेवारी गीत गाएर नेपालभाषाको उत्थानमा पनि उनले योगदान दिए।

तर उनले संगीत क्षेत्रमा पुरै जीवन समर्पित गरेपनि संगीतलाई आफ्नो मूल पेसा भने बनाएनन। उनि बिगतमा नयाँसडकमा रहेकोअमेरिकी पुस्तकालयमा काम गर्दथे।

उनको स्वभाव ज्यादै शालिन थियो। उनलाई भेटने मानिसहरु प्राय सबै उनिबाट प्रभावित नहुने कुरै थिएन। बिस्तारै बोल्ने थोरै बोल्ने उनको आदत थियो। उनि कसैलाई चिढाउने खालको स्वभावका थिएनन। यसैगरी जीवनपनि निक्कै अनुशासित थियो। ३० औं वर्षअघि देखि उनि बिहान बागबजारस्थित घरबाट मर्निङ वाक गर्दै काठमाडौंका टोल टोलमा हिडने गर्दथे। त्यत्रो नामी गायक भएर पनि पटक्कै घमण्ड थिएन। कसैले बोलाए मुसुक्क हाँसेर प्रतिकृया जनाउने उनको स्वभाव थियो। काठमाडौंमा जीवन बिताएको नेबार जाति तथा नेबारी भाषाको सबैभन्दा लोकप्रिय गीत राजामति कुमति जिके ओसा पिरती हाय बाबा राजामति चा का गायक प्रेमध्वजलाई बुढापाखाहरु तारेमाम भनि शिष्टाचार जनाउँथे।

प्रेमध्वज प्रधान बच्चैदेखि लजालु स्वभावका भएपनि आमाको प्रेरणाले संगीत क्षेत्रमा प्रवेश गरेका थिए। उनकी आमा प्राणदेवि वर्षैभरि बिहान सबेरै काठमाडौंको शोभा भगवतीमा भजन गर्न जाने गर्दथिन। उनकी आमाले भजन गाएको मैले पनि केटाकेटीमा देखेको थिएं। दुबि आएको भएपनि तेजिलो व्यक्तित्व भएकि उनकी आमाले आफै हार्मोनियम बजाएर लगातार भजन गाउने गर्दथिन। आमाको प्रेरणाले संगीतप्रति आकर्षित भएका प्रेमध्वज टोलका कार्यक्रम हुदैं रेडियो नेपालसम्म पुगे। २० को दशकमा गीत गाउने स्टुडियो भएको एकमात्र स्थान रेडियो नेपालमा उनले विभिन्न गीत गाए जुन धेरै लोकप्रिय भएको थियो। घुम्तीमा नआउ है आँखा तिमी जुधाउन बाँधिए माया फेरि गार्हो हुन्छ फुककाउन, तारा मात्र होईन तिमीलाई जुन दाईजो दिईदिउँला माग तिमी तिमीलाई मेरो जिन्दगीनै दिई दिउँला, यो नानीको सिरैमा ईन्द्रकमल फूल फूल्यो मगमग चल्यो बासना, पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन बन्द गर गीतहरु तिम्रो याद आउने चिजहरु जस्ता उनका अनगिन्ती गीत लोकप्रिय भएका थिए। २० को दशकमै स्टेजमा गितार बजाएर प्रेमध्वजले गीत गाउने गर्दा मोहित नहुने कमै हुन्थे।

२०२२ सालमा नेपालमा बनेको पहिलो व्यवसायिक चलचित्र माईतीघरमा उनले गाउने मौका पाएका थिए। ‘नमान लाज यस्तरि कि झुम्छ जिन्दगी मेरो’ बोलको गीत उनले भारतका प्रशिध्द गायिका उषा मङ्गेशकरसंग गाउने मौका पाएका थिए। उनको गायनकला देखेर भारतीय संगीतकार जयदेव प्रभावित भएका थिए। उनलाई बंम्बईमै बस्न प्रस्ताव समेत आएको थियो। तर उनि स्वदेश फर्केका थिए। उनले अन्य नेपाली चलचित्रमा गाएको गीत आज पनि उत्तिक्कै कालजयी बनिरहेको छ। जीवनरेखा चलचित्रमा उनले गाएको हाँसने रहरहरु आँसुमा डुबे का साथै तारादेविसंग युगल गाएको पला पला चुनेर ढुकढुकीलाई उनेर गीत आजपनि रेडियोका फर्मायसी कार्यक्रममा बज्ने गर्दछन।

उनले जीवनको पछिल्लो चरणमा केही अल्बम पनि सार्वजनिक गरेका थिए। उनि सधैं बिहान गितार बजाएर घण्टौं अभ्यास गर्ने गर्दथे।

उनलाई केही वर्षअघि मुटुको ब्यथा भएको थियो भने टाउकोमा पनि समस्या देखिपनि उपचार पछि सामान्य भएका थिए।

उनले नेपाली संगीत क्षेत्रलाई धेरै गुन लगाएका छन त्यसको बयान गरेर साध्य छैन। एउटा कुरा उल्लेख नगरे उनिप्रति अन्याय हुन जान्छ। स्वर सम्राट नारायण गोपाललाई रेडियो नेपालमा स्वर परीक्षा दिन ल्याउने प्रेमध्वज अर्का गायक माणिकरत्न थिए। प्रेम माणिकको संगीतमा गीत गाएर रेडियो नेपालमा प्रवेश गरेका नारायण गोपाल नेपालमा शालिक बन्ने पहिलो गायक बन्न पुगे।

मैले वरिष्ठ गायक प्रेमध्वजलाई गत २०७६ माघ १९ गतेका दिन लाजिम्पाटस्थित नेपाली चुल्हो रेष्टुरेण्टमा भेटेको थिंए। बयोबृध्द गायक जगतमर्दन थापाको क्यासेट बिमोचनका अवसरमा उनलाई पनि सम्मानित गरिएको थियो पत्रकारका रुपमा उनिसंग मेरो पुरानै परिचय थियो। तर त्यतिखेर मेरा स्वर्गबासी काका गायक बटुककृष्ण ज्वालाका अभिन्न मित्र जगतमर्दनले मलाई प्रेमध्वज संग ज्वालाको भतिजा भनि परिचय गराएका थिए। तर दुखको कुरो ८३ वर्षिय गायक जगतमर्दन थापाको निधन भएको केही महिना भित्रै उनका समकक्षी गायक प्रेमध्वज प्रधानको निधन भएको लेख्नु पर्दा ज्यादै दुखित भएको छु।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर