
काठमाडौँ, साउन १० गते । गत आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो आवभर नेपाल भित्रिएका १२ लाख नौ हजार ३५७ पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट तीन लाख ११ हजार ५३१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । उक्त सङ्ख्या कुल पर्यटक आगमनको २५.७६ प्रतिशत हुन आउँछ ।
गत आवमा संयुक्त राज्य अमेरिकाबाट एक लाख ११ हजार ३२५ र चीनबाट एक लाख नौ हजार ८९२ पर्यटक नेपाल आएका छन् । त्यसै गरी बङ्गलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलङ्काबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यान्मारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ र मलेसियाबाट २५ हजार ६४० पर्यटकले अघिल्लो आवभित्र नेपाल भ्रमण गरेका छन् ।
बोर्डका अनुसार अघिल्लो आवमा सबैभन्दा बढी कात्तिकमा एक लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका थिए । त्यसपछि चैतमा एक लाख १९ हजार ३९०, फागुनमा एक लाख १४ हजार १५२ र असोजमा एक लाख ११ हजार ७८० पर्यटक आगमन भएको थियो ।
बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरका अनुसार अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सुधार हुँदै गएको छ । “आव २०८२/८३ को पर्यटक आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको स्पष्ट सङ्केत गरेको छ,” उहाँले भन्नुभयो, “प्रमुख स्रोत बजारसँगै नयाँ सम्भावनाका बजारमा पनि प्रवर्धनलाई अझ प्रभावकारी बनाएर नेपाललाई वर्षभरिकै आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो प्रयास छ ।”
चीनसहित अमेरिका, अस्ट्रेलिया र बङ्गलादेश जस्ता नयाँ तथा उच्च सम्भावना भएका स्रोत बजारबाट थप पर्यटक भित्र्याउन अन्तर्राष्ट्रियस्तरमा नियमित सेल्स मिसन सञ्चालन आवश्यक रहेको बताउँदै उहाँले चालु आव २०८३/८४ को बजेटमार्फत निजी क्षेत्रसँगको सहकार्यमा यस्ता कार्यक्रम तत्काल विस्तार गर्ने दिशामा बोर्ड अघि बढिरहेको जानकारी दिनुभयो ।












