
जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसरमा जनकपुरधाममा पर्यटकहरुको भीड बढेको छ । अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरधाममा आन्तरिक तथा भारतीय पर्यटकहरुको घुइँचो लागेको हो । जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गरेर नयाँ वर्षको शुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरधाममा पर्यटकहरु आएका छन् ।
बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिरलगायतका मठ मन्दिरहरुमा पर्यटकहरुको भीड छ । भारतीय गाडीहरुको चाप बढेको छ । महोत्तरीको जलेश्वर भिठामोड र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरु अत्यधिक रुपमा जनकपुरधाम आएका छन् ।
पछिल्लो वर्ष नेपालले राजनीतिक रुपमा ठूलै संकटको सामना गर्नुपरेको र आउने दिन नेपालकालागि सुखमय होस् भन्ने कामना दर्शनार्थीहरुले गरेका छन् । नयाँ वर्षमा अहिले अत्याधिक रुपमा पर्यटकहरु आएका कारणले व्यापार र व्यवसायसमेत राम्रै चलेको छ । –न्युज एजेन्सी नेपाल





