एस् ए टी भी २५ फाल्गुन, काठमाडौँः कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरका रूपमा विकास गर्न लागिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने दीर्घकालीन सोचका साथ हरितनगरका रूपमा विकास गर्न लागिएको हो ।
त्यसका लागि नगरपालिकाले ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घरधनीले आफ्नो आँगनमा दुई बिरुवा वृक्षरोपण गर्नुपर्ने छ भने त्यसको रेखदेख पनि आफैँले गर्नुपर्ने छ ।
नगरपालिकाको यो नीतिले वीरेन्द्रनगरलाई हरियाली र सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिएको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अब वीरेन्द्रनगरमा नयाँ घर निर्माण गर्नेले दुई बिरुवा रोप्नैपर्ने नीति बनाएको बताउँदै वृक्षरोपण अभियान पनि चलाएको बताउनुभयो । उहाँका अनुसार विगतभन्दा वीरेन्द्रनगर सुन्दर, सफा तथा हरियाली बन्दै गएको छ ।
नगरभित्र निर्माण भएका नयाँ सडकको आसपासमा समेत वृक्षरोपण गरिएको नगरप्रमुख ढकालले बताउनुभयो । उहाँले दुई वर्षमा करिब १० हजार नयाँ बिरुवा सडक छेउछाउमा रोपिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वातावरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, विश्व जलवायु परिवर्तनको असरको चपेटामा परिरहेका बेला हरित सहर बनाउने योजना अघि बढाएका हौँ ।” सडकछेउमा अहिले फलफूलका बिरुवासमेत रोपिएका छन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेको छ । नगरपालिकाले प्लास्टिकमुक्त नगर बनाउने गरी योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्न सबै नागरिक जागरुक हुनुपर्ने उहाँको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकामा ३५० भन्दा बढी टोल विकास समिति छन् । टोल विकास समितिले पनि आफ्नो टोल हरियाली बनाउनु पर्छ भनेर सचेतना र अभियान चलाइरहेको उहाँले बताउनुभयो ।
यसै गरी प्रदेश राजधानी वीरेन्द्रनगरलाई हरियाली बनाउन डिभिजन वन कार्यालयले पनि प्रदेश राजधानी हरियाली कार्यक्रम चलाएको छ । त्यसै कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरको धुलियाबिटदेखिको चार लेन सडकमा वृक्षरोपण गरिएको छ । बिरुवा रोपेर त्यसको सुरक्षाबारसमेत लगाइएको छ । हरितनगर बनाउने उद्देश्यले वृक्षरोपण जारी राखिएको छ ।