असार ३० गते । त्रिशूली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजी कार्यका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले बेपत्ताहरुको खोजी तथा उद्धारका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डिएसपिको कमाण्डमा ११ गोताखोरसहित ७९ जना, नं. १७ गणबाट डिएसपिको कमाण्डमा ११ जना (चनौली ईलाका) र इन्सपेक्टरको कमाण्डमा २५ जना (सिमलताल ईलाका) बेपत्ताको खोजी कार्य गर्नेछन् ।
यसैगरी, सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १५ जना र्याफ्टिङ बोटसहित (देवघाट–गोलाघाट) इलाका, सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जना (देवघाट ईलाका) र सप्रसनिको कमाण्डमा नौ जना (पुलचोक नारायणी नदि किनार) इलाकासहित जम्मा एक सय ४९ जना खोजी कार्यको लागि परिचालन भएको छ ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।
यसैगरी, गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ ।