नेभिगेसन मेनु

भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने
सम्पादक:南亚网络电视
समय:2024-04-15 13:46

WeChat Screenshot_20240415113107

कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो ।

पूजाआजा गरेमा मनले चिताएको पुग्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् ।

मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालयले सक्रियता देखाएको छ ।

विगतमा सामान्य कुण्ड मात्रै रहेको यहाँ मन्दिर, ट्रष्ट भवनलगायतका पूर्वाधार निर्माण गरिएका स्थानीयवासी एवं पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार वडा कार्यालयले यस आर्थिक वर्षमा आठ लाख ५० हजारको लागतमा पुजारी आवाससहितको ट्रष्ट भवन निर्माण गरिसकेको छ ।

अघिल्लो आवमा मन्दिर परिसरमा १० लाख  लागतमा शौचालय निर्माण गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए । पूर्वाधार विकासकै क्रममा मन्दिर र त्यहाँस्थित जलकुण्ड (पोखरी)लाई व्यवस्थित गर्न वडा कार्यालयले आठ लाख उपलब्ध गराई निर्माण सम्पन्न भएको भुलभुला मन्दिर संरक्षण समितिका सदस्य शङ्कर अधिकारीले बताए ।

प्राचीनकालदेखि नै भुलभुला देवीको महिमा र गरिमा आफूहरूले सुन्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष अधिकारीले यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढाएको बताए ।

प्राचीन किंवदन्तीअनुसार भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा मान्दै पूजाआजा गर्ने गरिएको यहाँका बूढापाका बताउँछन् ।

प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिनमा र चैते दसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एक पटक स्थानीयले सामूहिक पञ्चबलि दिने गरेका छन् ।

मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभए पनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामूहिक पञ्चबलि दिने गरेका छन् ।

मन्दिर परिसरको जलकुण्डमा बाह्रै महिना पानी आइरहने स्थानीय समाजसेवी ८७ वर्षीय सम्मरलाल श्रेष्ठले बताए । जलकुण्डमा तलबाट निरन्तर पानी भुलभुल गरेर आउने भएकोले नै प्राचीनकालदेखि नै भुलभुला देवीका रुपमा लिने गरिएको उनको तर्क छ ।

स्थानीयवासीका अनुसार जलकुण्ड नजिकै पहिले खनियाँको रुख थियो । रुखको नजिकै सानो ढुङ्गे मन्दिर थियो । १८–१९ वर्षअघि उक्त रुख ओइल्याउँदै मरेको र सँगै ढुङ्गाको मन्दिर पनि दब्नुलाई धार्मिक महत्वसँग जोडेर हेर्ने गरिएको स्थानीयको भनाइ छ ।

प्रत्येक वर्षको वैशाख सङ्क्रान्तिमा प्राचीनकालदेखि मन्दिर परिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म झैझगडाका कारण रोकिए पनि स्थानीय युवाले ११ वर्षयता त्यसलाई व्यवस्थित गर्दै आएका छन् ।

मन्दिरको संरक्षण र विकासलाई स्थानीय सामुदायिक बनसँगै नमूना युवा क्लब, भुलभुला युवा क्लबलगायतका सङ्घ संस्थाले सक्रियता देखाएका छन् । मन्दिरसँगै नजिकै रहेको डुडेको रहलाई पनि पर्यटकीयरुपमा विकास गर्ने प्रयास थालिएको भुलभुला युवा क्लबका सचिव शिव अधिकारीले बताए ।

उनका अनुसार प्राकृतिक झरनाका रुपमा रहेको डुडेको रहको संरक्षण एवं पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका–३३ को कार्यालयबाट चार लाख ५० हजार प्राप्त भई केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर