
काठमाडौँ, चैत १ गते । अमेरिकाले इरानको जीवनरेखाका रूपमा रहेको खार्ग टापु कब्जा गर्ने तयारी गरेको छ । इरानले पर्सियाको खाडीस्थित हर्मुज जलमार्गमा इन्धन आवागमनमा अवरोध खडा गरेपछि अमेरिकाले खार्ग टापु कब्जा गर्ने निष्कर्षमा पुगेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको हो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकाले इरानको तेल नेटवर्कसँग सम्बन्धित महत्वपूर्ण खार्ग टापुस्थित सैनिक लक्ष्यमा बमबारी गरेको छ । यो टापु इरानको मुख्य तेल निर्यात टर्मिनल भएको स्थान हो । अमेरिकी सेनाले टापुमा रहेका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट गरेको र आवश्यक परे तेल पूर्वाधारलाई पनि निसाना बनाउन सकिने चेतावनी ट्रम्पले दिनुभएको छ ।
थप सेना र युद्धपोत पठाइँदै
युद्धमा अमेरिकी बललाई थप सुदृढ गर्न युद्धपोत, ३१ औँ मरिन एक्सपेडिसनरी युनिट र उभयचर हमला जहाज ट्रिपोली पठाइएको छ । यी मरिन युनिटले उभयचर आक्रमणमा मात्र होइन, दूतावास सुरक्षा, नागरिक उद्धार र विपत् राहत कार्यमा पनि विशेषज्ञता राख्छन् । यो तैनाथीले अनिवार्य रूपमा कुनै भू–आक्रमणको सङ्केत नगर्ने अमेरिकी अधिकारीले बताएका छन् । पहिल्यै अमेरिकी नौसेनाले अरब सागरमा एरोक्राफ्ट क्यारियर अब्राहम लिङ्कन र आठ विध्वंसक जहाजसहित १२ जहाज परिचालनमा राखेको थियो । ट्रिपोली जहाज सामेल भएपछि यो बल क्षेत्रको दोस्रो सबैभन्दा ठुलो जहाज हुने छ ।
पन्ध्र हजार लक्ष्यमा हमला
अमेरिकाले युद्धको सुरुदेखि १५ हजारभन्दा बढी इरानी लक्ष्यमा हमला गरेको छ । अमेरिकी रक्षा सचिवले प्रतिदिन एक हजारभन्दा बढी लक्ष्यमा आक्रमण भइरहेको जानकारी दिएका छन् । पेन्टागनका एक वरिष्ठ अधिकारीले शुक्रबार बताए अनुसार इरानमाथि सैन्य हमलामा ५० हजारभन्दा बढी अमेरिकी सैनिक संलग्न छन् ।
मानवीय सङ्कट गहिरिँदै
लेबनानमा मानवीय सङ्कट गहिरो हुँदै गएको छ । लेबनानमा इरान समर्थित हेजबुल्लाहको गढमा इजरायली हमला हुँदा करिब आठ सय जनाको मृत्यु भइसकेको छ । जसमा एक सयभन्दा बढी बालबालिका र १८ स्वास्थ्यकर्मी मारिएका छन् । आठ लाख ५० हजार जना विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसका लागि तत्काल सहायता उपलब्ध गराउन तथा मानवीय राहत सामग्री सुरक्षित रूपमा पार गर्न अनुमति दिन अपिल गरेका छन् ।





