एस् ए टी भी २७ फाल्गुन, काठमाडौँः भारतको गुजरात राज्यको अहमदावादमा गएको महिना सयौँ छत सेतो रंगले रंग्याइएको छ। गर्मीबाट बचाउन यस्तो अभियान चलाइएको हो। यस अभियानमा यतिबेला अहमदावादका चार सय घर सहभागी भएको रोयटर्सले जनाएको छ।
जर्मनीको हाइडलबर्ग विश्वविद्यालयमा काम गरिरहेकी महामारी विशेषज्ञ अदिति बंकर भन्छिन्, ‘संसारभर पृथ्वी तातिदै गएको अवस्थामा घरभित्रै बसाल्न घर शितल हुनु जरुरी छ। घरभित्र जति बढी गर्मी भयो, मान्छे बाहिर निस्कने सम्भावना हुन्छ। त्यसलाई रोक्न शितल घर अभियान चलाउनु जरुरी छ।’
गर्मी याममा अहमदावादजस्ता शहरमा तापक्रम बढेर ४६ डिग्री सेल्सियस पुग्ने गर्छ। गुजुमुज्ज बस्तीमा त झन् घरभित्र बस्नु निकै गाह्रो हुन्छ। त्यहाँ त हावा पनि छिर्दैन। अधिकांश एक कोठे घर छ। त्यस्तोमा सेतो रङले छत रंग्यायो भने घर चिसो हुने स्थानीय विजयभाइ भीलको भनाइ छ।
सन् २०२२ मा इन्भायरोमेन्ट रिसर्च लेटर्स जर्नलमा छापिएको अध्ययनअनुसार औद्योगिक क्रान्ति पहिले हुने गर्मीको तुलनामा अहिले तीन गुणाले बढेको छ। छतमा टाइटेनियम डाइअक्साइडजस्ता परावर्तक सेतो रंगले रंग्याउँदा सूर्यका विककिरणहरूलाई वायुमण्डलमा फर्काउँछ। अत्यन्त गरीवहरूको घर चिस्याउने कुनै उपाय नभएको अवस्थामा यसले थोरै भए पनि राहत दिने बंकरको भनाइ छ।
अहमदावादमा यो परीक्षण एक वर्षसम्म चल्ने बताइएको छ। जसअनुसार, यस्तो रंग लगाइएको घरमा बस्ने सर्वसाधारणले एक वर्षभित्र के कस्तो महसूस गर्छन्, उनीहरूको स्वास्थ्य र घरभित्रको वातावरणको अवस्था के कस्तो हुन्छ भनी तथ्यांक भेला पार्नेछन्। जो यो परीक्षणमा छैनन्, तिनका तथ्यांक पनि भेला पारी एउटा निष्कर्षमा पुग्ने बताइएको छ । यस्तै अध्ययन मेक्सिको, बुर्किना फासो र अन्य देशमा पनि गरिँदैछ।
बुर्किना फासोको परीक्षणको शुरुवाती नतिजाअनुसार, सेतो रंगले रंग्याउँदा टीनको छतयुक्त घरको तापमान १.७ डिग्रीसम्म कम भएको थियो भने माटोको घरको तापक्रम १.२ डिग्री सेल्सियससम्म कम भएको पाइएको थियो।