नेभिगेसन मेनु

लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन
सम्पादक:南亚网络电视
समय:2024-03-20 12:35

barshaman-pun

चैत ७ गते । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । मङ्गलबार साँझ सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उहाँले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिनुभएको हो ।

लगानी सम्मेलन निर्देशक समितिका संयोजक समेत रहनुभएका अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवम् पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवम् स्वास्थ्य तथा शिक्षा लगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।

लगानी सम्मेलनमा अधिकतम बीटुबी (व्यावसायिक साझेदारी) का परियोजनामा लगानी जुटाउन बैठकमा उपस्थित निजी क्षेत्रका प्रतिनिधिहरूलाई आह्वान गर्नुभयो । निजी क्षेत्रका तीनओटा छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स लगानी सम्मेलनको सहआयोजक रहेका छन् ।

अर्थमन्त्री पुनले विभिन्न देशमा रहेका नेपाली कार्यालयको माध्यमबाट पनि लगानी सम्मेलनलाई सफल बनाउन पहल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अवैतनिक दुतहरुसँग पनि भर्चुअल बैठक बसेर लगानी सम्मेलनको प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले लगानी सम्मेलनका लागि गैर आवासीय नेपालीहरुले बढी चासो देखाइरहेकाले उनीहरुलाई पनि बैठकमा सहभागी गराइ उनीहरुको सुझाव लिन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘यो हाम्रो विभिन्न मिसनहरु छ, त्यहाँ भर्चुअल मिटिङ राख्नुपर्छ । प्रधानमन्त्रीले नै गर्न खोज्नुभएको थियो । पछिल्लो स्थिति र सरकारका प्राथमिकताका बारेमा भर्चुुअल मिटिङको कुरा थियो । त्यससँगै जोडेर यसलाई हामीले पनि जोड्न सके झनै राम्रो हुन्थ्यो । यसमा हामी परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गर्छौं । त्यो आवश्यक पनि छ । मिसनहरु प्लस हामी अवैतनिक दुतहरुसँग पनि भर्चुअल बैठक बसेर र एनआरएनहरुले धेरै रुचि देखाइरहेको । निजी क्षेत्रले विश्वास र प्रीतवद्धता लियो भने बाहिरको लगानी आउने हो । हामीले नीतिगत रुपमा भिजन दिने र सहजीकरण गर्ने हो । एनआएनएलाई पनि बोलाएर छलफल गर्दा राम्रो हुन्छ, हामीलाई त लगानी कर्ता धेरै भन्दा धेरै नै चाहिएको छ ।’’

बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवम् लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समिति तथा कार्यान्वयन समितिको निर्देशन बमोजिम सचिवालय तथा परियोजना छनौट सम्बन्धी प्राविधिक समिति र कानुन सुधार समितिका तर्फबाट भएका कार्यहरूको सम्बन्धमा विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो । बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्ष र उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर