नेभिगेसन मेनु

पाठ्यपुस्तक वितरण : कर्णाली पहिलो प्राथमिकतामा
सम्पादक:南亚网络电视
समय:2023-04-22 16:01

1

काठमाडौँ, वैशाख ९ गते ।  हिमाली तथा पहाडी क्षेत्रलाई प्राथमिकता दिइएकाले ती क्षेत्रमा पाठ्यपुस्तक पुग्ने क्रम जारी छ । कर्णालीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाइसकेका छन् । विगतमा पाठ्यपुस्तक अभाव हुँदा सबैभन्दा बढी गुनासो हिमाली क्षेत्रमा हुने गथ्र्याे । यस पटक भर्ना भएकै दिनमा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुगेका छन् ।

प्राथमिकतामा नपर्ने तथा ढुवानीलगायतका सहजताका कारण हिमाली र पहाडी क्षेत्रका विद्यार्थीले निकैपछि मात्र पाठ्यपुस्तक पाउने गरेका थिए । तराईका जिल्लामा पाठ्यपुस्तक पु-याउन सजिलो हुने भएकाले जनक शिक्षा सामग्री केन्द्रले सुरुदेखि नै हिमाली र पहाडी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरेको छ । मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ । 

केन्द्रले पुस्तक बिक्रेतालाई कमिसनबापत नौ प्रतिशत र ढुवानीका लागि पुस्तकको मूल्यको अधिकतम ६८ प्रतिशतसम्म रकम दिने गरेको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले ढुवानी गर्न सजिलो हुने भएका कारण तराईलाई दोस्रो प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाली जिल्लामा हरेक वर्ष पाठ्यपुस्तक पुगेन भन्ने गुनासो हामीले सुन्दै आएका छौँ । यस पटक जसरी पनि समयमै पु¥याउनुपर्छ भनेर पहिलो प्राथमिकतामा राखेका हौँ । परिणामस्वरूप विद्यार्थीले सहजै पुस्तक पाउन सक्ने भएका छन् ।” 

केन्द्रले कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको छ । जसअनुसार हालसम्म ५९ जिल्लाका लागि सोमबारसम्म ७४ लाख ७२ हजार ३८९ थान पाठ्यपुस्तक वितरण भइसकेको छ । केन्द्रले एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मेवारी पाएको छ । 

केन्द्रका प्रबन्ध सञ्चालक झाले समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरको चासो र सहजीकरण मुख्य कारण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै कागज खरिद, कामदारको उचित प्रबन्ध गर्न सकेका कारण समयमै काम हुन सकेको हो ।”

केन्द्रले गत वर्ष कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक छापेको थियो । साथै त्यतिबेला कागज खरिद प्रक्रिया पनि लम्बिएका कारण पाठ्यपुस्तक छपाइमा समस्या हुने गरेको थियो । जसको असर विद्यार्थीको पढाइमा पुग्थ्यो । तर यस पटक कागज खरिदमा सरकारले सहजीकरण गरिदिएको र जनक शिक्षालाई पाठ्यपुस्तक छपाइको जिम्मा पनि कक्षा ६ देखि १० सम्मका लागि मात्रै दिएकाले सहज भएको केन्द्रले जनाएको छ । 

“आउने दिनमा पनि यस्तै अवस्था रह्यो भने अहिले निजी मुद्रण संस्थालाई छाप्न दिएको पुस्तक पनि हामी नै छाप्छौँ । जसबाट केन्द्रको आम्दानी पनि वृद्धि हुनेछ,” उहाँले भन्नुभयो । उहाँले यस पटक पुस्तक छाप्ने कागज खरिदका लागि केन्द्रले विभिन्न बैङ्कबाट ८५ करोड रुपियाँ ऋण लिएको र उक्त ऋणमध्ये ४० करोडभन्दा बढी पाठ्यपुस्तक छापेर आएको आम्दानीबाट तिरिसकेको जानकारी दिनुभयो । 

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी मुद्रण संस्थाले पनि सम्पूर्ण पुस्तक छापेर वितरण गरिसकिएको जनाएको छ । यी पाठ्यपुस्तक छपाइका लागि १३ वटा मुद्रण संस्था छानिएका छन् । यी संस्थाको छनोट पाठ्यक्रम विकास केन्द्रले गरेको हो । केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले निजी संस्थालाई एक करोड १८ लाख थान पुस्तक छाप्ने जिम्मेवारी दिइएको छ । 

भर्नासँगै नयाँ पाठ्यपुस्तक  

बैतडी समाचारदाताका अनुसार नयाँ शैक्षिक सत्रको भर्ना अभियानसँगै बैतडीका ८६ हजार विद्यार्थीका लागि पुस्तक आइपुगेका छन् ।  बैतडीका ५६२ वटा विद्यालयमा कक्षा १ देखि १० कक्षासम्म ८६ हजार विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइले जानकारी दिएको छ ।  

वैशाख १ गतेदेखि १५ गतेसम्म विद्यालयमा आफैँ आएर भर्ना हुने विद्यार्थीलाई हातमा पुस्तक दिने गरेर भर्ना अभियान सञ्चालन भइरहेको छ । एकाइका सूचना अधिकारी पुष्करराज शर्माले वैशाख १५ गतेपछि घरदैलो अभियान सञ्चालन हुने बताउनुभयो । 

पुरचौडी नगरपालिकास्थित गलिनाथ माविका प्रधानाध्यापक दिनेश नागारीले बैतडीका १० वटै स्थानीय तहमा वैशाखको पहिलो हप्तामै पुस्तक आइपुगेपछि भर्ना अभियानसँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक दिन सजिलो भएको बताउनुभयो । उहाँले पुरचौडीमा पहिलो पटक भर्ना भएकै दिन सबै पाठ्यपुस्तक आइपुगेको बताउनुभयो । समयमै पाठ्यपुस्तक आइपुगेपछि भर्ना हुन आउने विद्यार्थी उत्साहित भएका छन् । 

डिलेश्वरी मावि, पुरचौडी हाटमा प्रधानाध्यापक वीरेन्द्रबहादुर धानुकले विगतमा शैक्षिक सत्र सकिने बेलासम्म पनि पाठ्यपुस्तक नआउने समस्या रहेको बताउँदै थप्नुभयो, “अब त भर्नासँगै पाठ्यपुस्तक हातमा दिएका छौँ । यो अवस्था सिर्जना हुनु निकै खुसीको कुरा हो ।”  

एकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले दुर्गम गाउँमा वैशाख पहिलो हप्तामा नयाँ पाठ्यपुस्तक आइपुग्दा जिल्लाभरि विद्यार्थी भर्ना अभियानमा उत्साह थपिएको बताउनुभयो । “यो वर्षको विद्यार्थी भर्ना अभियानको नारा ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ रहेको छ । भर्ना अभियानको नाराजस्तै समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको छ,” उहाँले भन्नुभयो । 

वितरक जनकराज भट्टले दशरथचन्द नगरपालिकामा बुधबार पुस्तक आइपुगेको बताउनुभयो । विद्यालयबाट माग भएअनुसारका नयाँ पाठ्यपुस्तक धमाधम वितरण भइरहेको उल्लेख गर्दै उहाँले यो वर्ष समयमा पाठ्यपुस्तक प्राप्त भएको बताउनुभयो । 

माथिल्लो हुम्लामा पुग्न थाले

हुम्ला समाचारदाताका अनुसार दक्षिणी हुम्लाका चारवटा गाउँपालिकामा पाठ्यपुस्तक पुगिसकेको बेला उत्तरी हुम्लाका तीनवटा गाउँपालिकाका लागि पनि पुस्तक आउने क्रम सुरु भएको छ । हवाई मार्गबाट ढुवानी गर्न समस्या देखिएपछि नेपालगञ्जबाट सलीसल्ला हुँदै स्याल्तडीसम्म गाडीमा ढुवानी गरिएका पाठ्यपुस्तक त्यसयता खच्चडमा ढुवानी भएर सदरमुकाम सिमकोट आउने क्रम सुरु भएको हो ।

रोकाया पुस्तक पसलका सञ्चालन ज्ञानबहादुर रोकाया यस वर्षका लागि नाम्खा सिमकोट र खार्पुनाथ गाउँपालिकाका ५८ वटा विद्यालयका लागि कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक सदरमुकाम सिमकोट आउने क्रम सुरु भएको बताउनुभयो । 

उहाँले नेपालगञ्जबाट ८० क्विन्टल पाठ्यपुस्तक हुम्लाको सर्केगार्ड गाउँपालिका–६ को स्याल्तडीमा आइपुगेको र त्यताबाट खच्चडमा ढुवानी गरेर सिमकोट आउने क्रम सुरु भएको बताउनुभयो । हालसम्म ३५ वटा खच्चडमा ढुवानी भएर पुस्तक आइसकेका छन् । पानी परेका कारण पाठ्यपुस्तक ढुवानीमा समस्या भएको छ । 

उहाँले खार्पुनाथ गाउँपालिकाका लागि पाठ्यपुस्तक बाटो पर्ने भएका कारण गाउँपालिका केन्द्र याङ्चुमै छोड्ने, सिमकोट र नाम्खा गाउँपालिकाका लागि सिमकोटबाट वितरण गरिने बताउनुभयो । उहाँले अब तीन चार दिनमा सबै पाठ्यपुस्तक गाउँपालिका र सदरमुकाम सिमकोट आइपुग्ने तथा त्यसपछि विद्यालयलाई बिक्री सुरु गरिने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर