नेभिगेसन मेनु

चैते धानखेती घट्दै
सम्पादक:南亚网络电视
समय:2023-04-05 13:22

dhan-11658217055

गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।

चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा पनि गिरावट आएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार आव २०७८/७९ मा ३२ हजार सात सय ७३ मेट्रिक टन धान फलेकामा चालु आवमा उत्पादन घटेर २७ हजार चार सय ३७ मेट्रिक टन पुगेको छ । वर्ष दिनको अन्तरमा १६ दशमलव २८ प्रतिशतले चैते धानको उत्पादन घटेको हो ।

धानको उत्पादकत्वमा भने अघिल्लो आवको तुलनामा आठ दशमलव ४६ प्रतिशतले वृद्धि भएको पाइएको छ । आव २०७८/७९ मा प्रतिहेक्टरमा चार दशमलव ३१ मेट्रिक टन उत्पादन भएकामा चालु आवमा चैते धानको उत्पादकत्व प्रतिहेक्टर चार दशमलव ६७ छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा जम्मा १० हेक्टर क्षेत्रफलमा मात्र चैते धानखेती हुने गरेको बताउनुभयो । पछिल्लो समय चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उहाँको भनाइ छ । प्रदेशका अरु जिल्लामा पनि चैते धानखेतीमा ह्रास आइरहेको छ ।

“चैते धान भित्र्याउने बेला वर्षात्को याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ, पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन् ।”

चैते धानमा ‘सिएच’ ४५, चैते–२, चैते–६ लगायतका जातको खेती हुँदै आएको उहाँको भनाइ छ । बाह्रैमास सिँचाइ सुविधा भएको ठाउँमा मात्र किसानले चैते धान लगाउने गरेका छन् । तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ । किसानले चैतमा रोपेपछि असारमा धान भित्र्याउँछन् । चैते धानको उत्पादन बर्खेको भन्दा दोब्बर हुने भए पनि बर्सेनि खेती हुने क्षेत्रफल भने घट्दै गएको छ । सिँचाइ असुविधा, गुणस्तीय बीउ, मलको अभाव, किसानले धानको उचित मूल्य नपाउनु, हावापानीको समस्या, घरघडेरीका नाममा उब्जाउ जग्गा नासिनु आदि कारणले चैते धानखेती घट्दै गएको हो ।

निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले चैते मात्र नभएर समग्र धानखेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको उल्लेख गर्नुभयो । ‘प्लटिङ’, तीव्र बजारीकरण, ठुल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चँदै गएको उहाँको भनाइ छ ।

जग्गा बाँझिने क्रम पनि बढ्दै गएको निर्देशनालयका प्र्रमुख रेग्मीले बताउनुभयो । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने उहाँको भनाइ छ । बेलैमा मल, बीउ नपाउँदा पनि धानखेतीमा असर पर्ने गरेको किसान बताउँछन् । धानमा फूल खेल्ने समयमा वर्षात् हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ । रोग, कीरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सधैँ चुनौती व्यहोर्दै आएका छन् ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा समग्र धान ९बर्खे र चैते० उत्पादनमा गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले कमी आएको छ । गत वर्ष चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान फलेकामा चालु आवको उत्पादन जम्मा तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन छ । 

अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष क्षेत्रफल घटेर जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको छ । गण्डकी प्रदेशमा बागलुङको गलकोट, बलेवा, ग्वालीचौर, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार, वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी, मध्यविन्दु, पर्वतको फलेवासलगायत बढी धान उत्पादन हुने क्षेत्र हुन् । रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर