नेभिगेसन मेनु

नौ महिनापछि कित्ताकाट फुकुवा
सम्पादक:南亚网络电视
समय:2023-03-01 14:19

Untitled-1 (1)

रुकुमपश्चिम, फागुन १७ गते । रुकुमपश्चिमका चार स्थानीय तहमा करिब नौ महिनापछि जग्गाको कित्ताकाट खुला गरिएको छ। 

जेठ अन्तिम साताबाट बन्द गरिएको जग्गाको कित्ताकाट फागुन १५ गते सोमबारदेखि खुला भएको हो। जिल्लाको मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र त्रिवेणी गाउँपालिका क्षेत्रमा हुने जग्गाको कित्ताकाट खुला गरिएको मालपोत कार्यालय रुकुमपश्चिमले जनाएको छ।

मालपोत कार्यालयका निमित्त प्रमुख ओमबहादुर खत्रीका अनुसार चार स्थानीय तहले स्थानीय भूउपयोग कार्यविधि तयार गरेकाले कित्ताकाट फुकुवा गरिएको हो। अब जिल्लाका सानीभेरी र बाँफीकोट गाउँपालिकाले उक्त कार्यविधि तयार गर्न बाँकी रहेको जनाइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गत जेठ अन्तिम साता प्राप्त निर्देशनअनुसार कित्ताकाट बन्द गरिएको थियो। स्थानीय भूउपयोग कार्यविधि तयार नगरेसम्म कित्ताकाट बन्द गर्ने मन्त्रालयको परिपत्र आएकाले नौ महिना उक्त सेवा बन्द गर्नु परेको निमित्त प्रमुख खत्रीले बताउनुभयो। कार्यविधि बनाउन बाँकी रहेका दुई गाउँपालिकाले चाँडै नै कार्य सम्पन्न गर्ने सूचना प्राप्त भएको मालपोत कार्यालयले जनाएको छ। 

भूउपयोग नियमावली, २०७९ को दफा १२ अनुसार जिल्लामा कृषि र आवासीय क्षेत्रको कित्ताकाट गरिने जनाइएको छ। यसअनुसार कृषि क्षेत्रका लागि कम्तीमा एक हजार वर्गमिटर र आवासीय क्षेत्रको जग्गाका लागि कम्तीमा १३० वर्गमिटर जग्गा हुनुपर्नेछ। तोकिएको क्षेत्रफलभन्दा कम जग्गाको कित्ताकाट नहुने नियमावलीले व्यवस्था गरेको छ। 

स्थानीय भूउपयोग कार्यविधि तयार गर्नुअघि स्थानीय तहले स्थानीय भूउपयोग परिषद् गठन, क्षेत्र वर्गीकरणलगायत काम सम्पन्न गर्नुपर्छ। जिल्लाका चार स्थानीय तहले फागुन १५ भित्र कार्यविधि तयार गरेर कार्यपालिका बैठकबाट अनुमोदनसमेत गरेका छन्। उक्त निर्णय मालपोत कार्यालयमा प्राप्त भएपछि कित्ताकाट खुला भएको हो। 

कित्ताकाट फुकुवा भएकै दिनदेखि मालपोतमा सेवाग्राहीको भीड बढ्न थालेको छ। कार्यालयका निमित्त प्रमुख खत्रीले जनशक्ति थोरै भएकाले सेवाग्राहीको चाप थेग्न गाह्रो भएको बताउनुभयो। उहाँले दरबन्दी कम र बेलाबेलामा हुने प्राविधिक समस्याका कारण सेवाग्राही आएकै दिनमा सेवा दिन सकिँदैन कि भन्ने चिन्ता रहेको बताउनुभयो। 

कार्यालयमा एक जना अधिकृत, तीन नायब सुब्बा, दुई खरिदार, एक टाइपिस्ट र चार जना कार्यालय सहयोगीको दरबन्दी छ। अधिकृत दरबन्दी खाली हुँदा नायब सुब्बाले निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका छन्। लामो समयसम्म कित्ताकाट रोकिँदा जग्गा किनबेचमा कमी आएको थियो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर