चीनको नेतृत्वमा भारतबाहेक दक्षिण एसियाली राष्ट्र सम्मिलित नयाँ संगठन स्थापना
चीनको नेतृत्वमा दक्षिण एसियाली (सार्क) राष्ट्र सम्मिलित एक नयाँ संगठन औपचारिक रूपमा स्थापना गरिएको छ । तर उक्त संगठनमा दक्षिण एसियाका भारतबाहेकका अन्य राष्ट्रहरु रहेका छन् ।
‘चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्र’ नामक संगठनको बिहीकार चीनको चोङचिङ सहरमा औपचारिक रूपमा स्थापना गरिएको चीनको विदेश मन्त्रालयले जनाएको छ ।
संगठनमा नेपाल पनि सम्मिलित छ । उक्त स्थापना समारोहमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेशका राजदूतले सम्बोधन गरेका थिए । साथै चीनका सहायक विदेशमन्त्री वु जिआङहाओले मुख्य रूपमा सम्बाेधन गरेकाे जनाइएकाे छ ।
यस संगठनले मूलतः गरिबी नियन्त्रणमा भूमिका खेल्ने जनाइएको छ । साथै शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली देशको आर्थिक विकास, जनताको जीवनस्तरमा सुधार ल्याउने र यसका लागि ज्ञानको आदानप्रदान गर्नेलगायत उद्देश्य राखिएको बताइएको छ ।
संगठन स्थापनाबारे यसअघि नै प्रस्ताव गरिएको थियो । गएको अप्रिलमा कोरोना महामारीबारे दक्षिण एसिायली देशका विदेशमन्त्रीहरुसँगको छलफलमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सो सेन्टरको स्थापनाको प्रस्ताव गरेका थिए । भारतलाई पनि उक्त अन्तरक्रियामा आमन्त्रण गरिएको तर भारतले सहभागी हुन इन्कार गरेको जनाइएको थियो ।
News 24