
रसुवा/काठमाडौँ, पुस १४ गते । करिब छ महिना ठप्प भएको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले सीमापार ढुवानीमा संलग्न नेपाली ट्रकका सवारीचालक बिहान ७ बजेदेखि केरुङतर्फ आवागमन गर्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल–चीन सीमामा ल्हेन्देखोलामा निर्माणाधीन बेलिब्रिजको प्राविधिक जाँच सफल भएसँगै पुस १७ गतेदेखि नाका खोल्ने निर्णय भएको छ ।”
रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले रसुवा नाकास्थित मैत्री पुलको ठाउँमा नयाँ बेलिब्रिज निर्माण भइसकेको र आइतबारदेखि सो पुल भएर मानिसको आवतजावत सुरु भइसकेको जानकारी दिनुभयो ।
यही पुस १७ गते (बिहीबार) देखि मालवाहक सवारीसाधन तथा व्यापारीलाई समेत नाकाबाट आवागमनको अनुमति दिइने छ । चिनियाँ पक्षले जारी गरेको सूचनामा आइतबारदेखि सीमापार ढुवानीमा संलग्न यात्रुलाई प्रवेश दिन सुरु गरिने उल्लेख छ । साथै सबै विदेशी व्यापारिक प्रतिष्ठानले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाल चालक तथा कर्मचारीले प्रवेशअघि नै आवश्यक तयारी, सवारीसाधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ ।
यसैबिच गत असार २४ गते केरुङतर्फ सामग्री पु¥याएका मालवाहक कन्टेनर डिब्बा व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरुङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताउनुभयो । बिहीबारदेखि भन्सार कार्यालयले भित्रिने तथा बाहिरिने सवारीसाधनको निरीक्षण गरेपछि मात्र आवागमनको अनुमति दिने व्यवस्था गरिएको छ । यस अवधिमा एकतर्फी पालैपालो प्रणाली कडाइका साथ लागु गरिने चिनियाँ पक्षको भनाइ छ ।
साथै जी–२१६ सीमाक्षेत्रमा सडक कालोपत्रेको काम जारी रहेकाले जनवरी १ देखि जनवरी ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग गरिने छ । सो अवधिमा चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बनेसम्म आवागमन खुला रहने छ भने बाँकी समयमा दुवैतर्फबाट सवारी आवगमन नियन्त्रण गरिने छ । जनवरी ८ पछि भने चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सामान्य भन्सार समयभन्दा एक घण्टा बढी सवारीसाधन प्रवेशका लागि खुला रहने छ । साथै दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म अस्थायी रूपमा आवागमन सञ्चालन गरिने छ ।विसं २०७६ जेठमा सञ्चालनमा अर्को मितेरी पुल गत असारको बाढीले बगाएपछि नेपाल–चीनबिचको सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो । यसअघि २०७७ सालको बाढीले पनि पुलमा क्षति पु¥याएको थियो, जसलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको थियो ।
चीनतर्फ बग्ने ल्हेन्द्रे खोलामा वर्षायाममा पटक पटक आउने बाढीले पुल तथा सडक संरचनमा निरन्तर क्षति पु¥याउँदै आएको छ । चिनियाँ लगानीमा निर्माण भएको उक्त पुल २०७२ सालको भूकम्पछि जीर्ण बनेको थियो । त्यसपछि तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन लोड एन्ड ब्रिजले पुलको पुनर्निर्माण गरेको थियो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख ई. कृष्णनाथ ओझाले असारमा आएको बाढीपहिरोले क्षति भएको सडक संरचना अझै निर्माण हुन नसकेको बताउँदै तत्कालका लागि एक लेनमा मात्र सवारीसाधन सञ्चालनमा आउन सक्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १६ किलोमिटर खण्डमा बढी क्षति पुगेको छ । यस खण्डमा अहिले ‘फुलफेज’ मा सवारीसाधन गुडाउन पाइँदैन । दुवैतर्फबाट सवारीसाधन आएको अवस्थामा एउटालाई ओत लगाएर गाडी अगाडि बढाउन सक्ने हुन सक्छ ।” गल्छीदेखि रसुवागढीसम्म सडकको कुल लम्बाइ ८२ किलोमिटर छ ।






