
काठमाडौँ, पुस १ गते । गोरखापत्र दैनिकको सहप्रकाशन अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’ ६१ औँ वर्षमा प्रवेश गरेको छ ।
२०२२ पुस १ गते बिहीबारदेखि प्रकाशन आरम्भ भएको ‘दी राइजिङ नेपाल’ पहिलो ब्रोडसिट अङ्ग्रेजी राष्ट्रिय दैनिकका रूपमा निरन्तर प्रकाशित हुँदै आएको छ । ‘दी राइजिङ नेपाल’ वार्षिकोत्सवका अवसरमा गोरखापत्र संस्थानले विविध कार्यक्रम आयोजना गरिरहेको छ । दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतमले प्रकाशन सामग्रीलाई विश्वसनीय, समयसापेक्ष र प्रतिस्पर्धी बनाउने गरी विषयवस्तुको चयन र साजसज्जालाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ।
उहाँले दी राइजिङ नेपाललाई अझै परिस्कृत बनाउन मेहनत गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दी राइजिङ नेपालमा प्रकाशित हुने विषयवस्तु राजनीतिक, सामाजिक, आर्थिक सांस्कृतिक एवं जनजीविकाका सवालमा बढी केन्द्रित हुन्छन् । साथै नीतिगत सामग्रीलाई प्राथमिकता दिँदै नागरिकलाई सुसूचित गर्न प्रयत्नशील छौँ ।”
दी राइजिङ नेपालमा राजनीतिसँगै व्यापार, विचार, अन्तर्राष्ट्रिय, कला, संस्कृति र खेलकुदसँगै ‘फ्राइडे’ परिशिष्टाङ्क प्रकाशित हुन्छ । दी राइजिङ नेपाल प्रकाशनको उद्देश्य अङ्ग्रेजी पाठकसँगै अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपाली संस्कृति प्रवर्धन गर्नु थियो ।
पञ्चायतकालमा प्रकाशन आरम्भ भएको दी राइजिङ नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रिय एकता, विकास, विदेशी मामिला, संस्कृति र वातावरणका सन्दर्भलाई समेट्दै आएको छ । साथै कूटनीतिक समुदाय र विकास साझेदार पनि दी राइजिङ नेपालबाट लाभान्वित छन् ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले इन्टरनेटको प्रयोग बढ्नुअघि दी राइजिङ नेपालले प्रकाशन गर्ने सामग्री पाठकका लागि रुचिकर हुने स्मरण गर्नुभयो । उहाँले पत्रकारिता र अङ्ग्रेजी साहित्यका विद्यार्थीका लागि दी राइजिङ नेपाल अनिवार्य पठनसामग्री रहेको बताउँदै प्रविधि र कृत्रिम बौद्धिकताको युगमा सान्दर्भिकता प्रमाणित गर्नुपर्ने चुनौती रहेको प्रस्ट पार्नुभयो ।
नेपालको पहिलो अङ्ग्रेजी दैनिक पत्रिका
वि.सं. २०२२ साल पुस १ गते बिहिबार (१६ डिसेम्बर १९६५) बाट प्रकाशन शुरु भएको ‘दी राइजिङ नेपाल’ गोरखापत्र संस्थानद्वारा प्रकाशन गरिने अङ्ग्रेजी भाषाको राष्ट्रिय दैनिक अखबार हो ।
ब्रोडसिट आकारमा प्रकाशन हुने यो नेपालको पहिलो अङ्ग्रेजी भाषाको दैनिक अखबार हो । याे समाचारपत्र आज पुस १ गते मङ्गलबार (१६ डिसेम्बर २०२५) बाट ६१ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा आज यो अखबारले आफ्नो ६१ औं वार्षिकोत्सव काठमाडौंमा मनाउँदैछ ।
आफ्नो विगत इतिहासको समीक्षा गर्दै आगामी दिनमा आफ्ना पाठकलाई तथ्यगत र उपयोगी सूचना सम्प्रेषण गर्दै राष्ट्रको हित र समृद्धिमा कसरी समयसापेक्ष योगदान गर्ने भन्नेबारे छलफल र प्रण गर्ने यो उपयुक्त अवसर हो ।
दि राइजिङ नेपाल प्रकाशनको सुरुवात नेपाल, नेपाली समाज र सरकारको नीति एवम् क्रियाकलापबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउने उद्देश्यले भएको देखिन्छ । आज पनि यस समाचारपत्रको उद्देश्य राष्ट्र र जनताको हितलाई केन्द्रमा राखी देशभित्र र देश बाहिर रहेका अङ्ग्रेजी भाषी पाठकहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाका बारेमा सुसूचित गराउने रहेको जानकारी सो दैनिकका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले दिनुभयो ।
प्रकाशनको आरम्भदेखि हालसम्म बन्द नभई अनवरतरुपमा प्रकाशन हुँदै आएको नेपालबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक अखबार ‘दि राइजिङ नेपाल’ एक मात्र हो । विसं. २०७२ विनाशकारी भूकम्प र कोभिड–१९ महामारीको ‘लक डाउन’ को सङ्क्रमणमा पनि यो अखबार निरन्तर प्रकाशनमा रह्यो ।
वि.स. १९५८ बैशाख २४ गते प्रकाशन आरम्भ भएको ‘गोरखापत्र’ को अंग्रेजी सह–प्रकाशन ‘दि राइजिङ नेपाल’ हो । गोरखापत्र प्रकाशन भएको ६४ वर्षपछि गोरखापत्र संस्थानले ‘दि राइजिङ नेपाल’ को प्रकाशन शुरु गरेको थियो ।
नेपालमा अङ्ग्रेजी भाषामा प्रकाशन हुने समाचारपत्रको इतिहासमा ‘दी राइजिङ नेपाल ’ शुरुवात हुनुअघि ‘दि कमनर’ तथा ‘दि मदरल्याण्ड’ अखबार प्रकाशित भएका थिए तर यिनीहरु साना (ट्यावलोइड) आकारका थिए र तिनीहरु अहिले बन्द भइसकेका छन ।
नेपालको पहिलो ब्रोडसिट अङ्ग्रेजी दैनिकको स्थान ‘दि राइजिङ नेपाल’ लाई प्राप्त छ र आज प्रकाशनको ६ दशकतर्फ लम्कँदै गर्दा निरन्तररुपमा प्रकाशन हुने राष्ट्रिय दैनिकको गौरवशाली इतिहास यसले बोकेको छ ।






