
काठमाडौँ, असार २८ गते । दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा शाहदत भएका पोल्याण्डका नागरिकको सम्झनामा नयाँ स्मारक निर्माण गर्ने घोषणा गरेको छ । दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा ज्यान गुमाउने नागरिक लागि नयाँ स्मारक निर्माण गर्ने घोषणा पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले शनिबार गर्नुभएको हो ।
“वार्सामा सम्झनाको पर्खाल खडा गरिने छ, जसमा सधैं बलिरहने ज्वाला र फेला परेका तथा पहिचान गरिएका हरेक पीडितको नाम लेखिने छ,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । वार्सा र किएभ दोस्रो विश्वयुद्धका क्रममा दुवै पक्षका नागरिक हत्याकाण्डबारे दशकौँदेखि विवादमा छन्, जसले उनीहरूको सम्बन्धमा तगारो देखिँदै आएको छ ।
पोल्यान्डले रुसको आक्रमणविरुद्ध लडिरहेको आफ्नो छिमेकी युक्रेनलाई समर्थन गरिरहेका समय यो विवादले अझ बढी महत्व पाएको छ । टस्कको यो घोषणा सन् १९४३ को ‘ब्लडी सन्डे’ को पूर्व सन्ध्यामा आएको हो, जतिबेला युक्रेनी इन्सर्जेन्ट आर्मी (युपिए) र युक्रेनी राष्ट्रवादी सङ्गठन (ओयुएन)का इकाइले युक्रेनको उत्तर-पश्चिम क्षेत्रको भोल्हिनियामा हजारौँ पोल्याण्डबासीलाई मारेका थिए ।
पोल्यान्डका अनुसार सन् १९४३ देखि १९४५ सम्म ७० हजार देखि एक लाख नागरिक मारिएका थिए भने प्रतिकारमा करिब १२ हजार युक्रेनीको पनि ज्यान गएको अनुमान गरिएको थियो । युपिए र ओयुएनलाई युक्रेनमा रेड आर्मी र सोभियत सङ्घविरुद्ध स्वतन्त्रताको लागि लडेका समूहको रूपमा हेरिन्छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मे महिनामा युपिएको नाममा एउटा सैन्य इकाई नामकरण गर्ने घोषणा गरेपछि पोल्यान्डमा ठूलो आक्रोश उत्पन्न भएको थियो । प्रतिकार स्वरूप, पोल्यान्डका राष्ट्रपति कारोल नावरोकीले जेलेन्स्कीलाई देशको सर्वोच्च सम्मानको सूची ‘अर्डर अफ द ह्वाइट इगल’ बाट हटाउनुभएको थियो ।
-घाउ निको पार्ने पहल-
युरोपेली परिषद्का पूर्व अध्यक्ष तथा रुसविरुद्ध युक्रेनका दृढ समर्थक डोनाल्ड टस्कले भन्नुभयो, “स्मृति र सत्यले हामीलाई घृणा र तिरस्कारबिना राम्रो भविष्य निर्माण गर्न मद्दत गर्नुपर्छ ।” “शान्ति र पारस्परिक सम्मानको युरोप, दोस्रो विश्वयुद्धपछि मिलाप गरेको युरोप, सत्य र कुरालाई सही नामले बोलाउने माध्यमबाट सम्भव भएको हो”, टस्कले भन्नुभयो, “यो समुदायमा सामेल हुन चाहने जो कोहीले पनि यो सत्यको लागि तयार हुनुपर्छ ।”
उत्तर-पश्चिम युक्रेनको ओलिका शहरमा, पोल्यान्डका रक्षामन्त्री व्लाडिसलाभ कोसिनियाक-कामिस्जले युद्धमा मारिएका नागरिकको सम्झनामा आयोजित समारोहलाई सम्बोधन गर्दै वार्सा र किएभले ‘अतीतको भूमिका स्वीकार गरेर राम्रो भविष्य निर्माण गर्न’ सँगै अगाडि बढ्नुपर्ने बताउनुभयो । “मित्रता भनेको एक अर्कालाई सत्य बताउनु हो र यो कठिन यथार्थ हो,” उहाँले भन्नुभयो, “म पुराना घाउ खोल्न होइन, निको पार्न’ यहाँ आएको हुँ ।”
किएभसँगको मुख्य रेल लिङ्क रहेको पोल्यान्डको दक्षिण-पूर्वी सीमावर्ती शहर चेल्ममा पनि भोल्हिनियामा मारिएकाका लागि प्रस्तावित सङ्ग्रहालय स्थलमा समारोह आयोजना भएका छन् । शहरका मेयर याकोब बनान्स्जेकले भन्नुभयो, “यी सम्झना आजको युक्रेन वा यसका नागरिकविरुद्ध लक्षित छैनन् र विभाजन वा शत्रुता फैलाउन होइनन् । यी त केवल ऐतिहासिक घटनाका पीडितको सम्झनाको अभिव्यक्ति मात्र हुन् ।”रासस/एएफपी
















